बुटवल-बुटवल उपमहानगरले स्थानीय पाठ्यक्रम अनुरुपमा नयाँ पाठ्यपुस्तक तयार पार्दै सार्वजनिक गरेको छ ।
गत असारदेखि नै विद्यालयहरुमा पठन पाठन भइरहेको पाठ्यक्रम अन्तर्गतका पुस्तकहरु तयार पार्दै मंगलबार सार्वजनिक गरिएको छ ।
पाठ्यपुस्तक सार्वजनिक गर्दै प्रमुख शिवराज सुवेदीले शैक्षिक उद्देश्य प्राप्तीका लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउनेगरि पाठ्यपुस्तक तयार पारिएको बताए ।
केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका र स्थानीय आवश्यकताको आधारमा वर्तमान अवस्थामा प्रयोगमा ल्याइएका आधारभूत तहका सामाजिक र नेपाली विषयका पाठ्यक्रमहरुको सत्यापन गरी आवश्यकता अनुसार विषयवस्तु छनौट गरि तहगत उद्देश्य निर्धारण गर्दै पाठ्यपुस्तक तयार पारिएको प्रमुख सुवेदीले जानकारी दिए ।
स्थानीय मौलिकता, पहिचान र महत्वलाई बुझाउँदै माटो अनुरुपको उचित शिक्षाको खाँचो रहेको उल्लेख गर्दे प्रमुख सुवेदीले बुटवल र सेरोफेरोको ऐतिहासिक महत्व झल्काउनेगरि पुस्तक बनाइएको बताए ।
बुटवलको पाँच वर्षे शैक्षिक योजना अन्तरगत सबै सामुदायिक विद्यालयहरुलाई मण्टेश्वरी प्रणालीमा लैजाने, आधारभूत तहको शिक्षालाई अनिवार्य र स्थानीय विषयहरुलाई समेत पाठ्यक्रममा समेटिएको छ ।
स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षाविद्हरुको संलग्नतामा बुटवलले विशेष कार्यदल गठन गरेको थियो । सोही कार्यदलले ०७५ असारमा पाठ्यक्रम तयार पारेको थियो । यो एक सय पूर्णाङ्कको पाठ्यपुस्तक हो ।
सोही पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकलाई मंगलबार सार्वजनिक गरिएको हो ।
स्थानीय पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकहरु बुटवल उपमहानगरमा रहेका ३८ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालयहरुमा पढाई हुनेछ । यसका लागि उपमहानगरपालिकाले विद्यालयका प्राचार्यहरुलाई अभिमूखिकरण गरिसकेको छ ।
मंगलबार उपमहानगरमा सुरक्षा मापदण्डसहित आयोजना गरिएको संक्षिप्त कार्यक्रममा प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक बुद्धिसागर भट्टराई र केही लेखकहरुले संयुक्त रुपमा पाठ्य पुस्तक सार्वजनिक गरेका थिए।
बुटवल सेरोफेरो, पर्यटकीय स्थलहरु, हाम्रो संस्कृति, हाम्रो आस्था, संघसंस्थाहरु, योग र प्राकृतिक चिकित्सा तथा जडिबुटीलाई बुटवलको स्थानीय पाठ्यक्रमका मुख्य विषयवस्तु बनाइएको छ । यिनै क्षेत्रलाई समेटेर कक्षा १ देखि ५ सम्म पठनपाठन गराउनेगरि पाठ्यपुस्तक तयार पारेर सार्वजनिक गरिएको हो ।
कक्षा ६–८ का लागि पनि नयाँ पाठ्यपुस्तक तयार भइरहेको उपमहानगरका शिक्षा, स्वास्थ्य, तथा जनशंख्या प्रमुख मित्रमणी खनालले जानकारी दिए।
प्रारम्भिक बाल शिक्षादेखि कक्षा ८ सम्मलाई आधारभूत तह र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहका रुपमा लिएर सोही अनुरुपका पाठ्यक्रम र पुस्तक तयार पारिएको खनालले बताए ।
पञ्चवर्षिय शैक्षिक योजनामा कक्षा ९ देखि कक्षा १२ सम्मको शिक्षालाई प्राविधिक शिक्षाको रुपमा थप व्यवस्थित गरी अगाडि बढाउने, विद्यालय नक्सा तयार गरी अनावश्यक विद्यालयहरुलाई सेक्टर वेसमा समायोजन गर्दै लैजाने बुटवलको योजनामा रहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए।
नगरपालिकाभित्रका शैक्षिक मुद्दा तथा चुनौतिहरूलाई प्राथमिकताका आधारमा समाधान गर्नका निमित्त प्रदेश तथा यस नगरपालिका सम्बद्ध जनप्रतिनिधि, वडा शिक्षा समिति, विद्यालयहरू, प्राविधिक तथा सीपमूलक शिक्षण संस्थाहरू,
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अन्य सम्वद्ध शैक्षिक संस्थाहरूको अन्तरक्रिया, छलफल सम्पन्न गर्दै शिक्षा योजना र पाठ्यक्रम तयार पारिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन्।