बुटवल -प्रदेश ५ प्रदेशसभाको हिउँदे अधिवेशन आईतबारदेखि सुरु हुँदैछ । जेठ २ गतेदेखि सुरु भएको बजेट अधिवेशन (चौथौ बैठक) असोज २ गते सकिएको थियो ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले आईतबार (माघ ५) दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका छन् ।
सरकारले बिजनेश दिन नसकेका कारण चार महिनासम्म संसद बैठक चलेन । हिउँदे अधिवेशनमा बिजनेशको अभाव हुन नदिने सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । सरकारले ६ वटा विधेयक संसद पठाउने गरि तयारी गरेको सरकारका मन्त्री चौधरीले बताए ।
उनका अनुसार हिउँदे अधिवेशनमा सुशासन, वातावारण, स्थानीय तह सम्बन्धि, विश्वविद्यालय, लोक सेवा, चलचित्र सम्बन्धि विधेयक पेश हुने छ।
संघीय सरकारका कारण कानुन निर्माण हुन नसकेकाले अब भने बाझिएको हदमा संसोधन गर्ने गरेर भएपनि कानुन निर्माणलाई तीव्रता दिएर सदनलाई निरन्तर चल्ने गरि बिजनेश तयार पार्ने उनले बताए ।
प्रदेशसभाको चौथौ अधिवेशनसम्म ४९ वटा विधेयक पारित भएका छन् । आईतबार आह्वान गरिएको संसद बैठकमा हिउँदे अधिवेशनको शुभकामनाको कार्यक्रम हुने प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
तोकिएला स्थायी राजधानी र नाम ?
हिउँदे अधिवेशनमा प्रदेशको नाम र स्थायी राजधानीको विषयले प्रवेश पाउनेछ । राजधानी र नामाकरण सिफारिश गर्न बनेको विशेष समितिले प्रतिवेदन बुझाईसकेको छ । नामका बारेमा करिब सहमति भएपनि राजधानीका बारेमा भने दलहरूबीचमै आैपचारिक रूपमा छलफल नै भएको छैन ।
चुनाबताका दलहरूले राजधानीबारे गरेका प्रतिबद्धताका कारण दलहरू अफ्ठेरोमा परेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले भने प्रदेशको राजधानी शहर बनिसकेको ठाउँमा नभई नयाँ ठाउँमा बनाउनुपर्ने तर्क गर्दै आएका छन् । उनले भने-"सबैको सहमतिमा भर्जिनल्याण्डमा राजधानी बनाउनुपर्छ ।"
तर, उनकै मन्त्रीमण्डलमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले वागमती प्रदेशको निर्णयलाई नजिर मानेर निर्णय हुने बताउँदै आएका छन् ।
प्रदेश ५ मा नेकपाका ६१, नेपाली काँग्रेसका १९, समाजवादी पार्टीका ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १/१ जना सांसद गरी ८७ जना सांसद् छन् ।