बुटवल - प्रदेश ५ प्रदेश सभाको हिउँदे अधिवेशन शुरु भएको छ । आईतबारबाट शुरु भएको प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा राजधानी र नामाकरणको विषयमा चर्चा भएका छन् ।
प्रदेश सभामा बोल्ने प्रदेशसभा सदस्यहरुले जनताले कानुन बनाएको कुरा भन्दा पनि नाम र राजधानी पहिलो सोध्ने गरेकोले नाम र राजधानीको विषय यो अधिवेशनले टुंगाउनुपर्नेमा जोड दिए । बैठकमा प्रदेश सभा सदस्यहरुले संसद बैठक नियमित तथा निरन्तरताको लागि समेत सुझाव दिएका थिए ।
प्रदेश सभामा बोल्दै नेकपा संसदीय दलका नेता भूमिश्वर ढकालले प्रदेशको राजधानी यो अधिबेसनको मुख्य एजेण्डा हुनुपर्ने बताए । उनले समितिको प्रतिवेदन माथि छलफल गरेर राजधानी र नाम टुंगो लगाउनु पर्ने बताए ।
प्रदेश सभामा बोल्दै प्रदेश सभा सदस्य दिपेश थारुले यहि अधिवेसनले नाम र राजधानीको बिषयमा टुंगो लगाएर अधिबेसन सफल पार्न आग्रह गरे । उनले बेमौसमि वर्षका कारणले किसानहरु मार्कमा परेको बताए । उनले धेरै क्षति भएका किसानहरुलाई केही सहुलियत प्रदेश सरकारबाट गराउनु पर्ने बताए ।
नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीले जनभावनाको कदर गर्दै यहि अधिबेसनबाट नाम र राजधानी टुंगो लगाउनु पर्ने बताईन् । उनले जनताको माझमा जाँदा जनताको पहिलो माग नै राजधानी र नामाकरण रहेको बताईन् । उनले जनताको बिश्वास जित्न पनि हिउँदे अधिबेसनले नाम र राजधानी तोक्नुपर्ने बताईन् ।
प्रदेश सभा सदस्य फररुद्विन खानले प्रदेश सभाको एउटै आवाज प्रदेशको नाम र राजधानी रहेकोले यो काम यहि अधिबेसनबाट टुंग्याउनुपर्ने बताए ।
बैठकमा प्रदेश सभा सदस्य सन्तोष पाण्डेले अब नाम र राजधानीको मामलामा ढिलाई गन्र्र नहुने बताए । उनले सबैकुरामा अगाडि बनिरहँदा नाम र राधानी नतोक्दा पछाडी परिएको तर्क गरे ।
प्रदेश सभा सदस्य तारा जीसीले प्रदेश ५ को नाम र राजधानी छिटो टुंगो लाग्नुपर्ने बताईन् ।
बैठकमा बोल्दै प्रदेसभा सदस्यहरुले नवनिर्वाचित प्रदेश सभा सदस्य विमला वलीलाई स्वागत तथा जेष्ठ सदस्य बलदेव शर्माको स्वास्थ्यलाभको कामना समेत गरेका थिए ।
बैठकको शुभारम्भमै सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखबाट आएको प्रदेश सभाको अधिवेशन आह्वानको पत्र र प्रदेश ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयकको प्रमाणिकरण पत्र पढेर सुनाएका थिए । अब अर्को बैठक माघ १२ गते १ बजे बस्नेछ ।