काठमाडौ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले कामको थालनी गर्ने बताएका छन् । बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा लुम्बिनी विश्व शान्तिनगरको कार्यान्वयसम्बन्धी छलफलमा मन्त्री भट्टराईले लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको बताए ।
‘हामीले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई प्राथमिकतामा राख्यौँ । जसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले राख्यो । निर्माणको अन्तिम चरणमा पुगिसकेका छौँ । एयरपोर्ट पछि हट्दैन । त्यो अगाडि बढिसक्यो । त्यसको सञ्चालन छिट्टै गर्दैछौँ’, भट्टराईले भने ।
मन्त्री भट्टराईले मायादेवी क्षेत्रको विकासले मात्रै लुम्बिनीको बृहत्तर विकास हुननसक्ने बताउँदै विमानस्थलसँगै मायादेवी मन्दिर, देवदह, सैनामैना, तिलौराकोट लगायतका क्षेत्रहरुलाई एक अर्कासँग जोड्नुपर्ने बताए ।
लुम्बिनी क्षेत्रमा रहेका सबै ठाउँहरुकाे आ-आफ्नो महत्व रहेको बताउँदै उनले घुम्न आउने विदेशी पर्यटक वा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई ८, १० दिन त्यहाँ बिताउन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
लुुम्बिनीको बृहत्तर विकाससँगै प्राकृतिक, सांस्कृतिक कुराहरु पनि जोड्नुपर्ने भट्टराईको भनाइ छ । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेयय) ले बृहत्तर लुम्बिनीको लगभग ८० प्रतिशत काम सम्पन्न भइसकेको बताए ।
बाँकी २० प्रतिशत कामका लागि अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त भइसकेको र २ महिना भित्रमा ग्लोबल टेण्डर आह्वान गरिने पनि उनले जानकारी दिनुभयो । बाँकी काम सम्पन्न गर्नका लागि ६ अर्ब बराबरको बजेट आवश्यक पर्ने बताउँदै उनले बजेट अभाव नभए चाँडै नै काम सम्पन्न हुने विश्वास दिलाए ।