मकवानपुर - ‘चिसो कोठालाई तताउन रातभर हिटर बालेकाे’ कारणले मकवानपुरकाे दामनकाे हाेटलमा मंगलबार ८ जना भारतीय पर्यटकको ज्यान गएकाे छ।
भारतको केरलाबाट नेपाल घुम्न आएका १५ भारतीय पर्यटकमध्ये ८ जनाको मकवानपुरको पर्यटकीय क्षेत्र दामनमा रहेकाे एभरेष्ट पानारोमा रिसोर्टमा ज्यान गएको हो ।
भारतीय पर्यटकको टोली पोखरा हुँदै सोमबार बा ३ क ३६८८ नम्बरको बसमा दामन पुगेका थिए । उनीहरुले रिसोर्टमा ४ वटा कोठा लिएका र ८ जना रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा सुतेका ८ जना भारतीय नागरिक मंगलबार बिहान साढे ९ बजे बेहोस अवस्थामा भेटिएका थिए ।
मकवानपुर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रातभर हिटर बालेर सुतेका कारण ८ भारतीय बेहोस भएको खुल्न आएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।
बेहोस अवस्थामा रहेका भारतीय नागरिकलाई हेलिकप्टरबाट काठमाण्डौको ह्याम्स अस्पताल लगिएको थियो । अस्पतालका डाक्टरले मंगलबार १२ बजे मृत घोषणा गरेका हुन् । ज्यान गुमाउनेमा ४ जना बालबालिका छन् ।
मृत्युु हुनेमा भारत केरला राज्यका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीय सरिया, पाँच वर्षीय अभि, सात वर्षीया अर्चना, पाँच वर्षीय वैशनव र नौ वर्षीय वन्द्र रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरु दुई वटा कोठामा बसेको भए पनि बेहोस अवस्थामा भने एउटै काेठामा भेटिएको प्रहरीले जनाएको छ ।