बुटवल। नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को स्थायी राजधानीका लागि बुटवलको विकल्प नभएको बताएका छन् । भौतिक पूर्वाधार, सुरक्षा, यातायात, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक गतिविधि र भौगोलिकताको हिसाबले पनि प्रदेशको राजधानी रुपन्देहीमा नै उचित हुने उनले बताए ।
रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव उद्घाटन कार्यक्रममा नेता खाँणले रुपन्देहीमै स्थायी राजधानी बनाउने गरी पहल गर्न प्रदेश सरकारलाई आग्रह गरे ।
नेता खाँणले सरकारले संविधानको प्रतिकुलमा काम गरेको आरोप लगाउँदै सरकारले जनतालाई मालिक बनाउने बेला आफै मालिक बन्न खोजेको बताए । जनतालाई सुरक्षा दिने र अधिकार दिने प्रमुख दायित्व सरकारको भएको उल्लेख गर्दै आफ्नो प्रमुख दायित्वलाई सरकारले आत्मसाथ गर्न नसकेको दावी गरे ।
प्रदेश सांसद रमा अर्यालले उद्योगी व्यवसायीलाई स्वतन्त्र रुपमा उद्योग सञ्चालनका लागि सरकारले वातावरण सिर्जना गर्न नसकेको बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कार्यसमितिका सदस्य सुरेन्द्र श्रेष्ठले सरकारका नीति नियम गलत भएकाले उद्योग व्यवसाय फस्टाउन नसकेको दावी गर्दै सरुकारले गर्ने काम नीजि क्षेत्रले गरेको बताए ।
१५ करोडको आर्थिक कारोवार हुने र ३ सय बढी स्टल रहने मेलामा ५ लाख दर्शकले अवलोकन गार्ने आयोजकहरुको अपेक्षा छ ।