बुटवल- रुपन्देहीमा १६ वटै स्थानिय तहका विद्यालय बन्द हुने भएको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्लाका सबै स्थानिय तहका प्रमुखबीच भएको छलफलले बैशाख मसान्तसम्म जिल्ला भरका विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
त्यसै गरि विद्यालयमा सञ्चालित परिक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय भएको जिल्लाप्रसासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
यसअघि रुपन्देहीमा बुटवल र भैरहवाका विद्यालय मात्र बन्द गर्ने निर्णय गरिएको थियो। नेपाल सरकारको निर्णय अनुसार दुई शहरमा मात्र विद्यालय बन्द भएका थिए। जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रसासनले आज थप निर्णय गरेको हो।
त्यसै गरी रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने छ। बैशाख १४ गते मंगलबारदेखी जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने थापाले बताए। जिल्ला भित्र सञ्चालन हुने सबै हाटबजार सञ्चालनमा पनि रोक लगाउने आइतबारको बैठकले निर्णय गरेको छ।
बैठकमा सबै स्थानीय तहहरुले कोरोना संक्रमितको ओसारपसारका लागि कम्तीमा एक वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्थापन गर्ने, आ आफ्नो पालिकामा रहेको कम्युनिटी आइशोलेशन र होम आइशोलेशनका क्षमता विकास गरी पूर्वतयारी अवस्थामा राख्ने निर्णय भएको छ।
नयाँ भेरिन्टको कोरोना भाइरस पहिलेको भन्दा अझ बढि खतरनाक रहेकोले यसकाे संक्रमण दर पनि उच्च रहेको हुदा बच्ने सुरक्षाका उपाय तथा स्वास्थ्य मापदण्डको पालना गर्नका लागि जनचेतनामुलक कार्यक्रम स्थानीयस्तरमा पु¥याई व्यापक प्रचार प्रसार गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए ।