भैरहवा । लगातारको बर्षाले गाउँमा आएको बाढीलाई निकास दिन मर्चवारमा दुई स्थानमा सडक भत्काइएको छ । बाढी गाउँभित्र पस्न थालेपछि मर्चवारको मकरी र बैरिहवामा सडक भत्काइएको हो ।
सडक भत्काइएपछि सिंगो मर्चवार क्षेत्रमा सडक–सम्पर्क टुटेको छ ।
मायादेवी गाउँपालिका वडा नम्बर ६को शिवपुर मकरीमा सडक भत्काइएको हो । आइतबार देखि लगातार परेको वर्षाका कारण गाउँमा बाढी पस्ने जोखिम भएपछि स्थानीयको सहयोगमा ईलाका प्रहरी कार्यालय मझगाँवा र सशस्त्र प्रहरीको समूहले मंगलबार राती सडक भत्काएका हुन् । सडक तत्काल डोजरले भत्काएपिछ गाँउमा पस्न लागेको बाढी रोकिएको छ ।
मर्चवार जाने मुख्य सडक भत्काएपछि भैरहवा र मर्चवारसँगको सडक–सम्पर्क टुटेको स्थानीय ओम प्रकाश यादव गुल्जारीले जानकारी दिए । ‘मकरीदेखि खजुरिया गाउँ जाने बाटो काटीएको हो । अहिले पानी रोकिएकोले अवस्था सामान्य छ,’ यादवले भने ।
यस्तै मायादेवीको बैरिहवामा पनि सडक भत्काइएको छ । पानीको वहाव बढेसँग सडक सतहमा पानीको निकासका लागि सडक भत्काइएको हो । गाँउ नै जोखिम रहेकोले घर तथा जिउधनको रक्षाका लागि स्थानीय कै पहलमा सडक भत्काइएको हो ।