भैरहवा । लगातार परेको वर्षका कारण लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ भरथापुर डुवानमा परेको छ । तिनाउ र दानव नदीको संगम स्थल दुईमोहान देखि ३ किलोमिटर तल रहेको उक्त गाँउमा मंगलबार राती बाढी पसेको हो ।
घरहरुमा पानी पस्न लागेपछि सशस्त्र प्रहरी बल दुईमोहानको टोलीले डुबान क्षेत्रमा परेकोलाई उद्वार गरेको छ । अहिले पनि उक्त क्षेत्रमा पानीको बहाव र सतह बढ्दो अवस्थामा रहेकोले ईलाका प्रहरी कार्यालय लुम्बिनीको टोली पनि उद्वारमा खटेको छ । टोलीले २ दिने सुत्केरी महिलासहित ७ जनालाई उद्दार गरी सुरक्षित स्थानमा पुर्याएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं २ भरथापुरको कुमार मल्लाह, भुलई धुनियाँ, बिपत धुनिया, चिनक धुनिया, अजित धुनियाँ, बिहरी मल्लाह, बगेद मल्लाह, लक्ष्मण मल्लाह, जगतपाल मल्लाहको घरमा पानी पसेको वडाध्यक्ष रमेश प्रसाद निसादले जनाएका छन् ।
डुबानमा परेकाहरुमध्ये केही जना छिमेकीको घरमा र केही उक्त टोलमा रहेको सामुदायिक बीउ भण्डारलगायतका स्थानमा सुरक्षित आश्रय लिएका छन् ।