बुटवल । गएको सातादेखि रुपन्देहीमा कोरोना संक्रमितको संख्या फेरि उकालो लाग्न थालेको छ । दोस्रो लहरमा हटस्पट बनेको रुपन्देहीमा पछिल्ला १० दिनदेखि संक्रमण केही बढेको पाइएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा दुई सय १० जनामा कोरोना परिक्षण गर्दा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जुन पछिल्लो १८ दिन यताकै सबैभन्दा उच्च हो ।
त्योसँगै जिल्लामा सक्रिय संक्रमित दुई सय ९५ पुगको छन् । गएका दुई दिनयता कोही पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार असार १० गते सबैभन्दा न्युन रहेको संक्रमितको संख्या त्यसपछिका दिनमा विस्तारै बढिरहेको छ । गएका तीन दिनमामात्रै एक सय २७ संक्रमित थपिएका छन् ।
योसँगै सक्रिय संक्रमितको संख्या पनि उकालो लागिरहेको छ । गएको आइतबार सक्रिय संक्रमितको संख्या २ सय १ रहेकोमा उक्त संख्या बढेर आज शुक्रबारसम्म आइपुग्दा दुई सय ९५ पुगेको छ ।