बुटवल । लुम्बिनी प्रदेशमा ८५ हजार एक सय ३० जनाले कोरोना विरुद्धको खोपको दुवै डोज लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतीय कम्पनीले उत्पादन गरेको ‘कोभिशिल्ड’ ८४ हजार एक सय २४ जनामा र चीनको कम्पनिले उत्पादन गरेको ‘भेरोसेल’ एक हजार ६ जनामा लगाइएको छ ।
त्यसबाहेक कोभिशिल्डको एक डोजमात्र लगाउनेको संख्या प्रदेशमा दुई लाख ७८ हजार चार सय ७६ रहेको छ । भेरोसेलको पहिलो डोज लगाउनेको संख्या भने ७४ हजार तीन सय ५८ रहेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार देशभर अहिलेसम्म २६ लाख चार हजार ८६६ जनालाई पहिलो डोज लगाइएको छ । त्यस्तै सात लाख ५७ हजार ६३५ जनालाई दोस्रो डोज लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३ प्रतिशत नेपालीले मात्रै दोस्रो डोज लगाएको मन्त्रालयको तथ्याङ्कमा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहिलेसम्म विदेशबाट ४२ लाख ४८ हजार डोज खोप आएको छ।