बुटवल । कोभिड–१९ महामारीको दोस्रो लहरपछि रुपन्देहीमा फेरि संक्रमण उकालो लागेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार जिल्लमा १० दिनयता सक्रिय संक्रमितको संख्या विस्तारै बढिरहेको हो ।
अघिल्लो हप्ता आइबारदेखि उकालो लागिरहेको संक्रमण एकैहप्तामा एक सय १४ ले सक्रिय संक्रमितको संख्या बढेको तथ्याङ्कमा छ ।
योसँगै जिल्लमा सक्रिय संक्रमितको संख्या तीन सय २९ पुगेको छ । अघिल्लो हप्ता आइतबार दुई सय एक रहेको यो संख्या बढेर आज आइपुग्दा तीन सय २९ पुगेको हो ।
त्यस्तै पछिल्लो पटक जिल्लामा २८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक सय ६८ जनामा आरटी पीसीआर परिक्षण गर्दा जिल्लामा उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको ज्यान गएको छैन । यद्यपि, महामारीको दुवै लहरमा हालसम्म जिल्लामा चार सय ९० जना संक्रमितले ज्यान गुमाएका छन् ।
तथ्याङ्क अनुसार जिल्लमा संक्रमितमध्ये हालसम्म ९७ प्रतिशत निको भएका छन् । २ प्रतिशतको मृत्यु भएको छ भने १ प्रतिशत अझै सक्रिय संक्रमित रहेका छन् ।