बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा जिल्लामा एक सय ४९ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो ।
योसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या तीन सय ५६ पुगेको छ । पछिल्ला ११ दिनयता सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ ।
तथ्याङ्क अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्यामा पछिल्लो पटक १२ जना थपिएका छन् । यो संख्या पछिल्लो २४ घण्टाको नभई यसअघि छुट्न गएका मृतकको संख्या रहेको स्वास्थ्य कार्यालयले बताएको छ । योसँगै जिल्लामा कोरनाबाट मृत्यु हुनेको संख्या पाँच सय दुई पुगेको छ ।
पछिल्लो पटक थपिएकामध्ये बुटवलका ११, सिद्धार्थ नगरका १०, तिलोत्तमाका १२, सैनामैनाका ६, कञ्चनका २ र देवदहका १ जना रहेका छन् ।
हालसम्म जिल्लामा कुल कोरोना संक्रमितको संख्या २८ हजार पाँच सय ९२ पुगेको छ । तिमध्ये ९७ प्रतिशत निको भइसकेका छन् भने दुई प्रतिशतले ज्यान गुमाएका छन् । बाँकी एक प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।