भैरहवा- रुपन्देहीमा जारी निषेधाज्ञा अवज्ञा गरी पसल सञ्चालन गरेको भन्दै प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालयले साझ ६ बजे सम्म पसल सञ्चालन गर्न आदेश जारी गरेपनि आदेशलाई उल्लंघन गरेर पसल सञ्चालन गरिरहेका भैरहवाका १४ जना पसलका संचालक तथा कर्मचारीलाई नियन्त्रणमा लिएको हो।
कोरोना संक्रमणको कारण बैशाख १६ गतेदेखी रुपन्देहीमा निषेधाज्ञा लगाइएको थियो। पछिल्लो समय निषेधाज्ञा खुकुलो गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउन निश्चित समयसम्म तोकिएका पसल सञ्चालन गर्ने व्यवस्था छ। तर जारी निषेधाज्ञामा तोकिएको समय भन्दा बाहेक पनि केहीले पसल बन्द नगरी सेवा प्रदान गरिरहेका छन्।
पटक पटक चेतावानी दिदा समेत निषेधाज्ञाको कार्यान्वयन नगरेको पाइएकोले कारवाही गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्य नारायण थापाले जानकारी दिए।
६ बजे पसल बन्द गर्नुपर्ने भएपनि अबेर सम्म पसल खोलेको पाइएकोले पहिलो पटक गल्लामण्डी, एयरर्पोट, मेनरोड, नारायण पथ विद्रोही चोक लगायतका स्थानबाट नियन्त्रणमा उनीहरुलाई लिएको थियो । नियन्त्रणमा लिएकाहरुलाई केही समय होल्ड गरी छाडिएको डिएसपी थापाले जानकारी दिए ।
निषेधाज्ञामा आदेश विपरितका क्रियाकलापहरु सञ्चालन गर्ने गराउनेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ मा जरिवाना र कैद सम्मको व्यवस्था छ ।