बुटवल -बुटवल उपमहानगरपालिकाका थप ४ वटा विद्यालयले चालु शैक्षिक सत्रबाट ११ कक्षा सञ्चालन गर्न पाउने भएका छन् । उपमहानगरको पछिल्लो कार्यपालिका बैठकले अहिले १० कक्षा सम्म पढाइ भएका ४ विद्यालयलाई कक्षा थपको अनुमति दिएको हो ।
यो वर्षबाट बुटवलका ज्ञानोदय मावि, सन्तोषी माता गुरुकुल विद्याश्रम, इडन इङलिस बोर्डिङ स्कुल र ज्ञानपुञ्ज सेकेण्ड्री बोडिङ स्कुलमा ११ कक्षा पढाइ हुने उपमहानगरका शिक्षा शाखाका अधिकृत टिकाराम पन्थीले जानकारी दिए।
ज्ञानोदयमा शिक्षा र व्यवस्थापन समुह अन्तर्गतका विषय पढाइ हुने छ । सन्तोषी माता गुरुकुलमा व्याकरण, ज्योतिष लगायतका संस्कृत अन्तर्गतका विषय पठन पाठन हुने छ । त्यस्तै इडनमा र ज्ञानपुञ्जमा पनि व्यवस्थापन तथा शिक्षा अन्तर्गतका विषयहरु पढाइ हुने छ।
अब बुटवलमा १० कक्षा सम्म पढाइ हुने ५ वटा विद्यालयले मात्र ११ कक्षाको अनुमति पाउन बाँकी रहेको पन्थीले बताए ।
यस्तै विगतदेखी नै ११ र १२ कक्षा पढाइ भइरहेका नविन औद्योगिक कद्दरबहादुर रिता माविमा शिक्षा र कानून समूहका विषयहरु थप गरिएको छ । एचिभर्स एकेडेमीमा विज्ञान अन्तर्गतको भौतिक शास्त्र, रसायन शास्त्र र जिब शास्त्र विषय थप भएको छ ।
अन्नपूर्ण एकेडेमीमा मास कम्युनिकेशन र सव ओभरसियर तथा बुटवल ग्लोरी इङलिस स्कुलमा ट्राभल एण्ड टुरिजम विषय यस वर्षदेखि थप गरिएको उपमहानगरले जनाएको छ ।