काठमाडौँ- वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखिएका तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
उनीहरुमा शनिबार हेटौँडा अस्पतालमा परीक्षण गर्दा कोरोना भाइरस देखिएपछि थप परीक्षणका लागि शनिबार नै काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका दुई अधिकारीहरुले ती तीनजनामा संक्रमण देखिएको पुष्टि गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित मस्जिदमा बसिरहेका २४ जनाको समूहको बारेमा स्थानीयको खबर पश्चात उनीहरुलाई नारायणी अस्पतालमा ल्याइएको थियो।
त्यहाँ तीनजनाको स्वाब संकलन गरी परीक्षणको लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको थियो। उनीहरुलाई अहिले नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।
उनीहरु भारतीय नागरिक हुन्। नेपाल- भारत सीमा बन्द भएपछि उनीहरु वीरगञ्जमै बसेका थिए। उनीहरु तीनैजनाको परीक्षण गर्दा हेटौँडामा (को-भिड १९) कोरोना भाइरस संक्रमण शंकास्पद पाइएको थियो।
यी तीनसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या १२ पुगेको छ। यीमध्ये दुईजना टेकु अस्पतालमा छन् भने दुईजना बाग्लुङमै उपचाररत छन्।
चार जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तीनजना नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा छन्। एक जना सञ्चो भएर घर फर्किसकेका छन्।