लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनीलाई सम्पदामैत्री पूर्वाधार निर्माण, स्थानीयलाई आयआर्जनसँग जोड्दै अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्नुपर्ने सुझावसहित लुम्बिनीमा आयोजित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
शुक्रबारदेखि लुम्बिनीमा भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रमा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीयको दिगो विकास’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन १२ बुँदे सुझाव तथा सिफारिससहित सम्पन्न भएको लुम्बिनी विकास कोषका निमित्त सदस्य-सचिव ज्ञानीन राईले बताए।
बृहत्तर लुम्बिनी क्षेत्रको विकास र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। सम्मेलनले बृहत्तर लुम्बिनी क्षेत्रमा विश्व बैंकको सहयोगमा सञ्चालन हुने ग्ल्याड परियोजनाअन्तर्गत सबै क्षेत्र र सरोकारवालालाई समेटेर सामुदायिक नक्सांकन गर्ने र सरोकारवाला संलग्नता योजना तयार गर्ने सिफारिस गरेको छ।
बृहत्तर लुम्बिनी क्षेत्रका तिलौराकोट, रामग्राम र देवदहलगायत स्थानमा पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक महत्वमैत्री विकास कार्यक्रम सञ्चालन गरी आध्यात्मिक स्थलका रूपमा विकास गर्नुपर्ने सम्मेलनको सुझाव छ।
पवित्रस्थलमा भिक्षु, तीर्थयात्री, साधक, स्थानीय समुदाय र पर्यटकका लागि प्रार्थना, ध्यान, धार्मिक गतिविधि र विश्रामस्थलका सुविधा उपलब्ध गराउनुपर्ने पनि सम्मेलनले जनाएको छ। खानेपानी, शौचालय, जुत्ता व्यवस्थापन, सुरक्षा, स्वास्थ्य र रेस्टुरेन्टलगायत सुविधा उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ।
लुम्बिनीको संरक्षण र विकासका लागि सबै पक्ष मिलेर अघि बढ्न सके बुद्ध शिक्षा सार्थक हुने भन्दै सम्मेलनले ती क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वबारे जानकारी दिने सूचना बोर्ड, स्थानीय गाइड तथा अडियो–भिजुअल सामग्रीमार्फत प्रस्तुत गर्ने कामलाई प्रभावकारी बनाउन सिफारिस गरेको छ।
पवित्र बगैंचा, मायादेवी मन्दिर तथा पुरातात्त्विक भग्नावशेषका ऐतिहासिक, धार्मिक र आध्यात्मिक मूल्य–मान्यताको सम्मान हुने गरी तिनको मर्मत, सम्भार र संरक्षण गर्नुपर्ने सम्मेलनको सुझाव छ। पूर्वाधार वा विकास निर्माणका कार्य अघि बढाउँदा सम्पदा प्रभाव मूल्यांकन, संरक्षण योजना, हाइड्रोलोजिकल अध्ययन, ढल निकासका उपाय र वातावरणीय न्यूनीकरण योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।
प्रतिनिधिसभा सदस्य तौफिक खानले लुम्बिनी विकास कोष, स्थानीय नागरिक, विहार र स्थानीय तहसँग समन्वय गरेर काम गरी मुलुककै उत्कृष्ट गन्तव्यस्थल बनाउनुपर्ने बताए। स्थानीयको सक्रिय सहभागितामा बृहत्तर लुम्बिनी विकासका काम अघि बढाएर सम्पदामैत्री नमुना काम गर्नुपर्ने युनेस्को नेपालका प्रतिनिधि याको दु तोईले बताए।
सम्मेलनमा भारत, श्रीलंका, इन्डोनेसिया, म्यान्मार, बेलायत, जापान, अस्ट्रेलिया र थाइल्यान्डलगायत मुलुकका बौद्ध विद्वान्, अनुसन्धानकर्ता, पुरातत्त्वविद्, सम्पदाविद् तथा भिक्षु–भिक्षुणीसहित १ सय ५० जनाभन्दा बढी सहभागी थिए। अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन संस्कृति तथा पर्यटनमन्त्री खडकराज पौडेलले गरेका थिए।