बुटवल-प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट खर्चको समीक्षा गरेको छ। प्रदेश सरकारले गत आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गरेको थियो । सरकारको पूँजीगततर्फ ७९.२९ र चालूतर्फ ६०.५४ प्रतिशत गरी कूल ७०.१ प्रतिशत बजेट खर्च भएको हो।
सरकारले कोरोना महामारीकाबीच पनि ७० प्रतिशतभन्दा बढी बजेट खर्च हुनु सन्तोषजनक अवस्था भनेको छ। प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले कोरोना भाइरस (कोभिड–१९ को विषम परिस्थितिमा पनि ७० प्रतिशतभन्दा बढी बजेट खर्च हुनु प्रदेश सरकारको उपलब्धि रहेको दाबी गरे।
सरकारले ३ अर्ब ४८ करोड ९१ लाख १२ हजार आन्तरिक राजश्वतर्फ राजश्व समेत संकलन गरेको छ। त्यस्तै संघीय सरकारबाट राजश्व बाँडफाँड, अनुदानको रकम र प्रदेश सरकारको आन्तरिक राजश्व गरी प्रदेश सरकारले यस आर्थिक वर्षमा कूल ३४ अर्ब २ करोड २८ लाख ५८ हजार आर्य गरी रु २५ अर्ब ५२ करोड ९२ लाख २९ हजार खर्च समेत गरेको गौतमले बताए।
असार मसान्त सम्म प्रदेश सरकारको सञ्चित कोषमा ८ अर्ब ४९ करोड ५३ लाख ९२ हजार बचत देखिएको छ।
मन्त्रालयगत बजेट खर्च हेर्दा सबैभन्दा बढी भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले ८३.१८ प्रतिशत बजेट खर्च गरेको छ।
प्रदेश सरकारको सबैभन्दा धेरै बजेट पनि भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलाई विनियोजन भएको छ। त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयकोले ६९.८६, सामाजिक विकास मन्त्रालयको ७६.८६ खर्च गरेका छन् ।
महामारीका समयमा पनि प्रदेश सरकारले विभिन्न विकास आयोजनाहरु अगाडि बढाएको छ । कोरोना महामारीमा निर्माण गरेका आइसोलेसन अस्पतालको अवधारणा ल्याई अस्पतालका नियमित सेवा समेत सुचारु गरेको छ।
स्वास्थ्य पूर्वाधारको लुम्बिनी प्रादेशिक अस्पता विकास, रुकुम पूवर्मा अस्पताल निर्माणको तयारी, दाङको लमहीमा ट्रमा सेन्टर निर्माणको तयारी सरकारले गरिरहेको छ।
आव २०७६÷०७७ मा प्रदेशको झण्डै २ प्रतिशत जनसंख्या (९२२८२) मा एक घर एक धारा खानेपानी सुविधा विस्तार गरिएको योजना आयोगका सदस्य विष्णु गौतमले बताए।