भैरहवा-नेपाल भारत नाकामध्येको एक रुपन्देहीको बेलहिया नाकाबाट एक वर्षमा ४ लाख ७३ हजार ५ सय ३८ पटक गाडी आउने जाने गरेका छन्।
भैरहवा भन्सार कार्यालयको गत आर्थिक वर्ष २०८१–२०८२ को तथ्यांकअनुसार बेलहिया नाकाबाट एक वर्षमा भारतीय नागरिक सवार भएका ४ लाख ७३ हजार ५३८ सानाठूला गाडी नेपाल आएका छन्।
भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार शुल्क तिर्न नपर्ने सवारीहरु कार, जिप, मोटरसाइकल र बस गरी एक वर्षमा ३ लाख ५१ हजार ७४८ वटा गाडी नेपाल आएका छन्। सीमाक्षेत्रका बजारमा छोटो दुरीका लागि आउने यस्ता गाडी दैनिक ९ सयको हाराहारीमा छन्।
त्यसमध्ये मोटरसाइकल २ लाख २४ हजार ४८८, कार, जिप र भ्यान १ लाख २७ हजार २६० वटा रहेको रेग्मीले बताए।
अस्थायी पैठारी (शुल्क तिरेर)का लागि १ लाख २१ हजार ७९० वटा गाडी नेपाल आएका छन्। यीमध्ये बस तथा मिनी बस १२ हजार ५६३, कार, जीप र भ्यान ७२ हजार ४४३ र मोटरसाइकल ३६ हजार ८११ वटा रहेका छन्। भन्सार शुल्क तिरेरै दैनिक ३ सय भन्दा बढी गाडीमा भारतीयहरु बेलहिया नाका हुँदै नेपाल आएका छन्।
भैरहवा भन्सारबाट अनुमति लिएर नेपाल प्रवेश गर्न बस तथा मिनी बस, कार, जीप र भ्यानले दैनिक ६ सय र मोटरसाइकलको दैनिक २ सय रुपैयाँ तिनुपर्छ।