बुटवल-बुटवलमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको परीक्षणमा ३ जना पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
उनीहरुमध्ये कपिलवस्तु, स्याङ्जा र रुपन्देही तिलोत्तमा हुन्। उनीहरुमध्ये कपिलवस्तुका एक जना बिरामी अस्पतालमा उपचारका लागि आकस्मिक कक्षमा भर्ना भएर उपचाररत थिए। हिजो आइतबार अस्पतालमा भर्ना भएका उनी सोमबार साधारण बेडमा सरिसकेका थिए।
निमोनियाको उपचार गराउन आएका २२ वर्षका ती पुरुषको उपचारमा अस्पतालको आकस्मिक कक्ष, साधारण कक्षका रात्री र दिवाकालीन स्वास्थ्यकर्मी र चिकित्सकहरु खटिएका थिए। उनको पीसीआर परीक्षणको रिपोर्ट सोमबार आएपछि उनको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी र चिकित्सकहरु क्वारेन्टिनमा बसेको डा गौतमले लुम्बिनी टाइम्सलाई बताए।
यस्तै अर्का संक्रमण पुष्टि भएका व्यक्ति तिलोत्तमाका एकजना औषधिको बिक्रेता हुन्। उनी कपिलवस्तुमा औषधि लिएर गएको समयमा मेडिकलका सञ्चालकका छोरीहरुले काठमाडौमा परीक्षण गराउँदा संक्रमण भएको थाहा पाएपछि पीसीआर परीक्षण गराउन आफै अस्पताल आएका थिए।
यस्तै अर्का स्याङ्जाका संक्रमित विदेशबाट आएका थिए। उनी पनि आफै अस्पतालमा पीसीआर परीक्षण गराउन आएका थिए। उनीहरु सबैलाई आइसोलेशनमा राखेर उपचार थालिएको डा गौतमले लुम्बिनी टाइम्सलाई बताए। उनले संक्रमण पुष्टि भएलगत्तै सबै निकायहरुमा जानकारी गराएर कन्ट्याक्ट ट्रेसिङको काम पनि अघि बढिसकेको बताए।
डा गौतमले कोरोना संक्रमण भएको पुष्टि हुनेबित्तिकै अस्पताललाई सेनिटाइज गरेर सुरक्षित बनाइसकेको जानकारी दिए। 'हामीले संक्रमण पुष्टि हुने बित्तिकै अस्पताललाई सेनिटाइज गरिसकेका छौ-उनले लुम्बिनी टाइम्ससँग भने-संक्रमण भएका र संक्रमितको सम्पर्कमा गएका व्यक्तिहरु पनि सुरक्षित हुनुहुन्छ।'
अस्पतालमा उपचारतर्फ र अन्य सेवा भने सुचारु छन्। डा गौतमले सबै सेवा सुरक्षित ढंगले नै सुचारु रहेको बताए।