बुटवल–प्रदेश ५ मा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। प्रदेश ५ स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश ५ का ५ जिल्लामा ३६ जना संक्रमित फेला परेका हुन्।
यिनीहरुमध्ये अधिकांश समुदायस्तरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका हुन्। केही समुदायस्तरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङमा फेला परेका हुन्।
प्रदेश ५ का कपिलवस्तु र बाँकेका १३, प्युठानका ५, रुपन्देहीका ३ र दाङका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जन स्वास्थ्य प्रशाशक डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिए।
बुधबार ३६ जना थपिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९५ पुगेको छ। प्रदेश ५ मा बुधबारसम्म ३ सय ४० जना संक्रमित विभिन्न कोरोना अस्पतालहरुमा उपचाररत छन्। प्रदेश ५ मा हालसम्म ४ हजार ८८ जना कोरोना भाईरसका संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
कोरोना भाइरस संक्रमणका कारण प्रदेश ५ मा १३ जनाको मृत्यु भएको छ। हाल प्रदेशभर १ हजार ३ सय ८९ जना क्वारेन्टिनमा रहेका छन्।
प्रदेश ५ मा पीसीआर परीक्षणका लागि संकलन गरिएको थ्रोट स्वाब मध्ये ९८ प्रतिशत परीक्षण भैसकेको र अझै २ प्रतिशत परीक्षण गर्न बाँकी रहेको डा. चौधरीले बताए।