कपिलवस्तु-अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कपिलवस्तु जिल्ला अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ।
अस्पतालका विभिन्न वार्डमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारका लागि आउने बिरामी र सर्वसाधारणमा संक्रमण नफैलियोस् भनेर आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको अस्पतालका सुपरिन्टेन्डेन्ट डा किशोर बन्जाडेले बताए।
साउन २५ गते अस्पतालका फाँट प्रमुख, चिकित्सकहरु र सरोकारवालाको आन्तरिक बैठकको निर्णय अनुसार सेवाग्राहीलाई संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वाब संकलन गरी रिर्पोट नआएसम्मका लागि आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको हो।
कपिलवस्तु अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मी अहिले सम्म संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ। अस्पतालमा कार्यरत एक कर्मचारी २ महिना अघि संक्रमित भएकी थिइन्। उनी संक्रमणमुक्त भएर काममा पनि फर्किसकेकी छन्।
स्वाब संकलन गर्दै आएका अस्पतालमा कार्यरत ल्याब असिस्टेण्ट पनि संक्रमित भएका छन्। उनी अहिले आइसोलेसनमा रहेका छन्।
आइतबार कोरोना संक्रमण पुष्टि भएका अस्पतालको एक नर्सिङ कर्मचारी, एक ल्याब फाँटमा कार्यरत कर्मचारी, ऐक्स–रे र ओपीडीमा काम गर्ने कर्मचारी रहेका छन्।