काठमाडौं - फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका छन्।
नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा रहेका स्वास्थ्यका विषयहरुः
नेपाली कांग्रेसको ध्येय : समुन्नत नेपाल, सम्मानित नेपाली' भन्ने नाराका साथ सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा ओखती र ओत दिने नेपाल शिर्षकमा स्वास्थ्यका विषयहरु समेटिएका छन्।
उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुने प्रतिज्ञापत्रमा उल्लेख छ।
गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुने भन्दै परिवारमा कसैलाई रोग लागिहाले कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने भन्ने डरबाट मुक्त हुने कांग्रेसको संकल्प छ।
ओखती र ओत दिने नेपाल : हाम्रो परिकल्पनाको नेपालमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ। परिवारमा कसैलाई रोग लागिहाले कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने भन्ने डरबाट नागरिकहरु मुक्त हुनेछन्।
स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होइन, उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ। विकसित देशको स्तरको उन्नत स्वास्थ्य बीमा प्रणाली मार्फत राज्यले यो जिम्मेवारी पुरा गर्नेछ।
नेपाली कांग्रेसले स्वास्थ्य बीमा प्रणाली मार्फत स्वास्थ्य क्षेत्रका जिम्मेवारी पुरा गर्ने संकल्प गरेको छ। नेपाली कांग्रेसको ध्येय: समुन्नत नेपाल, सम्मानित नेपाली भन्ने नाराका साथ सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा ओखती र ओत दिने नेपाल शिर्षकमा स्वास्थ्यका विषयहरु समेटिएका छन्।
उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुने प्रतिज्ञापत्रमा उल्लेख छ। गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुने भन्दै परिवारमा कसैलाई रोग लागिहाले कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने भन्ने डरबाट मुक्त हुने कांग्रेसको संकल्प छ।
नेकपाको घोषणापत्रमा स्वास्थ्य
नेकपाको घोषणापत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ। पुराना घोषणापत्रमा जस्तै स्वास्थ्यमा क्षेत्रका गरिएका प्रतिवद्धतामा खासै नवीनता छैन। यद्यपि स्वास्थ्य क्षेत्रको बजेट २०८८ सालसम्म ८ प्रतिशत पुर्याइने, स्वास्थ्य बीमाका विषय तथा अस्पताल सेवाको विस्तार जस्ता पुरानो विषयहरु समावेश भएको पाईन्छ।
जनस्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क, स्वास्थ्य बीमा अनिवार्य तथा प्रगतिशील, समुदायमा स्वास्थ्य सेवा विस्तार, सरकारी स्वास्थ्य संस्थामा विस्तारित सेवा, विशेष प्राथमिकता समूह, स्वास्थ्यकर्मीको सेवा तथा सुरक्षा, रोकथाम प्रधान स्वास्थ्य, मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम, पूर्ण डिजिटल स्वास्थ्य प्रणाली, प्रदेशस्तरीय विशिष्टीकृत अस्पताल, औषधि आपूर्ति तथा सुशासन, घुम्ती विशेषज्ञ सेवा लगायतका स्वास्थ्यका विषयलाई समेटेको छ।
राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका विषय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी संकल्प पत्र मार्फत स्वास्थ्य क्षेत्रमा व्यापक सुधार र रूपान्तरण गर्ने महत्वाकांक्षी योजनाहरू अघि सारेको छ।
घरदैलोमै स्वास्थ्य सेवा र बीमामा कडाइ, औषधिमा आत्मनिर्भरता र मूल्य नियन्त्रण, सातै प्रदेशमा वीर अस्पताल स्तरका अस्पताल, दीर्घरोगीलाई सहायता र वडा स्वास्थ्य प्रोफाइल, आधारभूत स्वास्थ्य उपचार सेवा सबै नागरिकलाई निःशुल्क तथा अनिवार्य, ज्येष्ठ तथा असक्त नागरिकको घर दैलोमा आधारभूत स्वास्थ्य सेवा,औषधीको मूल्य निर्धारण संयन्त्रलाई प्रभावकारी, निजी औषधि उद्योगलाई आवश्यक सहुलियत प्रदान, स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि, आयुर्वेद, प्राकृतिक योग तथा अन्य चिकित्सा पद्धतिको विकास, सबै प्रकारको औषधिको गुणस्तर नियन्त्रण कडाई, वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण लगायतका एजेन्डालाई समावेश गरिएको छ।
उज्यालो नेपाल पार्टीको घोषणापत्रमा स्वास्थ्य
उज्यालो नेपाल पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै देशभरीका नागरिकलाई तोकिएको स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार उपलब्ध गराउने ‘निःशुल्क स्वास्थ्य सेवा अभियान’ घोषणा गरेको छ। पार्टीका अनुसार आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यसहित स्वास्थ्य सेवालाई मौलिक अधिकारको रूपमा कार्यान्वयन गरिने जनाएको छ। घोषणापत्रमा स्वास्थ्यका तीन विषय उल्लेख गरेको छ। जसमा निःशुल्क स्वास्थ्य सेवा अभियान मनोसामाजिक परामर्श सेवा प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा लगायतका विषयहरूलाई समावेश गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्रमा स्वास्थ्य
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको ‘नागरिक करार’ मार्फत जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षा प्रणाली लागू गर्ने घोषणा गरेको छ। करारको प्रमुख बुँदामध्ये ‘शत प्रतिशत बीमा’ लाई जोड दिइएको छ। र, गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिवद्धता रहेको पार्टीले जनाएको छ।
करार अनुसार प्रत्येक नागरिकलाई जन्मदेखि मृत्युसम्म आवश्यकता अनुसार सेवा दिने एकीकृत सामाजिक सुरक्षा प्रणाली स्थापना गरिनेछ। यस अन्तर्गतः सबै नागरिकका लागि शत प्रतिशत स्वास्थ्य बीमा, गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवा र सार्वजनिक स्वास्थ्य संरचनाको सुदृढीकरण छन्।
जसपाको चुनावी घोषणापत्रमा स्वास्थ्य
पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले स्वास्थ्य क्षेत्रको विद्यमान संरचनागत समस्या समाधान गर्दै आगामी दिनमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सङ्कल्प गरेको छ। आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै जसपाले स्वास्थ्यलाई उच्च प्राथमिकताको सार्वजनिक सेवाका रूपमा परिभाषित गरेको छ।
सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा,हरेक प्रदेशमा कम्तीमा एउटा अत्याधुनिक बहुविशिष्टीकृत सेवाप्रदायक अस्पताल, स्वास्थ्य बीमा कार्यक्रमलाई सहज र आम नागरिकको पहुँच, सबैका लागि उत्कृष्ट र सुविधाजनक अस्पताल सेवा सुनिश्चित लगायतका विषय समावेश छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को घोषणापत्रमा स्वास्थ्य
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले घोषणापत्रमा स्वास्थ्यका विषयमा तीन बुँदे प्रतिबद्धता व्यक्त गरेको छ। प्रलोपाले स्वास्थ्य बीमा प्रभावकारी बनाउने र ग्रामीण स्वास्थ्य संरचना विस्तार गर्ने उल्लेख गरेको छ। त्यस्तै मातृ, शिशु, ज्येष्ठ नागरिक, अपाङ्गता र यौनिक तथा लैगिंक अल्पसंख्यक नागरिकलाई प्राथमिकता दिने उल्लेख छ।