बुटवल–प्रदेश ५ को अस्थायी राजधानी। औद्योगिक र पर्यटकीय शहरको रुपमा परिचित शहर। बढ्दै गएको जनघनत्व। यसले बुटवलमा बढेको आवागमन र व्यस्तता जनाउँछ। दिनप्रतिदिन व्यवस्थित बन्दै गएको र विकासमा धेरै अघि बढेको भनेर प्रचार गरिन्छ बुटवलबारे।
तर, बुटवलको ट्राफिक चोकदेखि राजमार्ग चौराहासम्मको सडकले भने बुटवलका धेरै राम्रा कुरालाई पछाडि पारेको छ। बुटवल क्षेत्रको सौन्दर्यलाई ओझेलमा पारेको छ। कुरुप बनाएको छ।
ट्राफिक चोकदेखि राजमार्ग चौराहासम्मको सडक वर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ। यो क्षेत्रको परिचय नै बनिसकेको छ हिलो र धुलो। ट्राफिक चोकबाट पुष्पलालपार्क हुँदै राजमार्ग चौराहासम्म सवारी चालक तथा यात्रुलाई निकै कठीन छ।
प्रदेशको राजधानी शहरको मुटुमै लामो समयदेखि भएको सडकको खाल्डाखुल्डीले बुटवललाई गिज्याएको छ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल शहरको बीचमै सडक यो अवस्था हुनुले जनप्रतिनिधि र विकासे अड्डाहरु जवाफदेही नहुनुको संकेत गर्ने बताउँछन्।
‘मुख्यमन्त्री मन्त्रीहरु, प्रदेशका सरकारी अधिकारी र जनप्रतिनिधिहरु दिनहुँ यही बाटो हिड्छन –उनले भने–उनीहरु सबैलाई थाहा छ यो सडकको दुरावस्था, तर सबैजना मुकदर्शक बनेका छन्।’
जनतालाई विकास र समृद्धिको नारा दिने उनीहरुलाई यस्तो हिलो र धुलो हुने सडकमा हिड्न लाज लाग्नुपर्ने खनालको टिप्पणी छ। लामो समयसम्म सडक बिग्रनु र नागरिकलाई दुःख दिनुको कारण सरकारी निकाय र विभागीय कार्यालयको गैरजिम्मेवारी र लाचारीपन भएको उनले बताए।
२ वर्षभन्दा बढी समयदेखि पुष्पलालपार्क आसपासको सडक सुधार हुन सकेको छैन। राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारसँगै बिग्रेका सडक मर्मत गर्न ठेक्का लागेको थियो। तर राजमार्ग आसपासका घर धनीहरु अदालत गएपछि सडक विस्तार अलपत्र परिरहेको छ।
सडक विस्तार अलपत्र भएपनि बिग्रेको सडक मर्मत गर्न छेकिदैन। तर मर्मततर्फ पनि सरकारी निकायको चासो गएको छैन।
डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले सामान्य मर्मत भन्दा पनि राम्रोसँग मर्मत गर्ने गरी ठेक्का लागेको भएको कारणले केही ढिलाइ भएको बताए।
‘मर्मत भन्दा पनि यसलाई निर्माण गर्ने भनेरै ठेक्का भएको छ, चौराहा चोकदेखि गोलपार्क चोकसम्म बिग्रेको ठाउँमा पूरै उधारेर फाल्ने, नबिग्रेको ठाउँमा माथिबाट अर्को लेयर बिच्छाउने भन्ने कुरा हो–मरासिनीले भने–तर अदालतले रोकेका कारण काम हुन सकेको छैन।’
अहिले बिग्रेको ठाउँमा कते माटो र कतै लेयर राखेर टालिरहेको बर्खा भएकाले कालोपत्रे गरेर मर्मत गर्न नसकेको उनले बताए।
डिभिजन प्रमुख मरासिनीले निर्माण कम्पनीले कालोपत्रेको मात्र काम गर्न नमानेको बताए। ‘अदालतबाट निर्णय नआउँदासम्म सडक निर्माणमा हात हाल्दिन भनेको छ’–मरासिनीले भने।
वर्षौसम्म सडक विस्तारबारे अदालतले निर्णय गरेन भने पटकपटक कालोपत्रे गरेर मर्मत गर्नुपर्दा आफूलाई समस्या हुने निर्माण व्यवसायीको तर्क छ।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक विस्तारको लागि २०७४ चैत्रमा निर्माण कम्पनीसँग सम्झौता भएको भएपनि मुद्दा मामिलामा अल्झिदा सडक विस्तार ढिलाइ भएको छ।
पछिल्लोपटक चैत्र ५ गते डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै १५ दिनभित्र घर भत्काउन भनेको थियो।
तर लकडाउनमा घर भत्काएर अलपत्र पार्न खोजेको भन्दै बुटवलका घरधनी पुनः अदालत गएका थिए। अदालतको अन्तरिम आदशेबाट पुनः सडक विस्तारको काम रोकिएको छ। फैसला आएमा सडक विस्तार कार्य अघि बढ्ने डिभिजन प्रमुख मेघराज मरासिनीले बताए।
यो सडक बुटवल उपमहानगरको क्षेत्राधिकारमा पर्दैन। तर क्षेत्राधिकारले यो सडक मर्मत गर्न रोक्दैन। बुटवलले यो सडक बिग्रेको महिनौ हुँदा पनि वास्ता गरेन। सम्बन्धित निकायलाई अनुरोध गरेको भनेर जिम्मेवारीबाट पन्छिन खोज्छ।
सडक मर्मतका लागि बुटवल उपमहानगरपालिकाले सडक निर्माणका लागि पटक पटक ध्यानाकर्षण गराएको प्रमुख शिवराज सुवेदीले बताए। 'बुटवलको सडक यस्तो भएको राम्रो भएन भनेर हामीले ध्यानाकर्षण गराएका छौं-उनले भने-सम्भवत वर्षायाम सिद्धिएपछि निर्माण शुरु हुन्छ।'