बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत अर्का एकजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। आज शनिबार बिहान मृत्यु भएका कपिलवस्तुका ती बिरामी तीनदिन अघि अस्पतालमा भर्ना भएका थिए।
उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए। ४२ वर्षीय ती पुरुषलाई आइसीयूमा भर्ना गरेर उपचार जारी थियो।
डा गौतमका अनुसार ती बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उनको पुन: गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ।
उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको डा गौतमले बताए। यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा मृत्यु भएको थियो।