रुपन्देही-रुपन्देहीमा नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जय कुमार मिश्रको मृत्युपछि कोरोना संक्रमण भएको पुष्टि भयो। रोहिणी गाउँपालिका ३ धकधईका बासिन्दा मिश्रको शनिबार उपचारका लागि भारतको नौतनहवा लैजादै गर्दा मृत्यु भएको थियो।
उच्च रक्तचाप र मधुमेहका रोगी रहेका उनलाई आफन्तले आरडीटी परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएपछि भारत लैजादै थिए। सोही क्रममा बाटोमै उनको मृत्यु भएको परिवारजनले बताएका छन्।
५३ वर्षीय उनको मृत्यु भएपछि बुटवलको नेशनल प्याथ ल्याबमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको थियो। आइतबार आएको रिपोर्टअनुसार उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।
उनको रिपोर्ट पोजेटिभ आएपनि उनको दाहसंस्कारमा करीब ४ सय जना सहभागी भएका थिए। उनको दाहसंस्कार हिन्दु परम्पराअनुसार रोहिणी घाटमा गरिएको थियो।
दाहसंस्कारकै क्रममा रिपोर्ट पोजेटिभ आएको जानकारी पाएपछि मलामी गएकाहरु भागाभाग गरेका थिए। शव नजलाउन आग्रह गरेपनि अटेरी गरेर जलाएको रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले बताए। 'हामीले थाहा पाएपछि प्रशासन र गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराएर संक्रमितको शव व्यवस्थापनको मापदण्डअनुसार गर्ने भनेका थियौं-उनले भने-तर कसैले पनि सुनेनन् सबैजना सहभागी भएरै दाहसंस्कार गरे।'
उनको दाहसंस्कारमा सहभागी भएकाहरुलाई होम क्वारेन्टिनमा बस्न गाउँपालिका र मृतकका आफन्तले आग्रह गरेका छन्। मृतक मिश्रका आफन्त कृष्णचन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमा मलामी गएका सबै र आफन्तहरुलाई सुरक्षित बस्न आग्रह गरेका छन्।