बुटवल-नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य बालकृष्ण खाँडले बुटवलको कालिकापथमा बुधबार बिहान डोजर चलाएर घर भत्काइएकोमा आपत्ति प्रकट गरेका छन्। बुटवल उपमहानगरपालिकाले सडक विस्तारका लागि भन्दै बुटवल ९ कालिका पथमा रहेको खिमबहादुर हमालसहितका घरमा डोजर लगाएर सडक क्षेत्रको भाग भत्काएको थियो।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष रहेका हमालको घर भत्काइएपछि नेता खाँडले आज विज्ञप्ति जारी गरी आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन्।
उक्त घरसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र मुद्दाको किनारा नलागी स्थानीय प्रशासनबाट घर भत्काउने कार्य गर्नु निन्दनीय भएको विज्ञप्तिमा बताइएको छ।
'सम्मानित न्यायालयको समेत अपमान हुने र व्यक्तिको नैशर्गिक अधिकारप्रति कुठाराघात हुने गरी यस किसिमको गैर कानूनी कार्यप्रति गम्भीर आपत्ति व्यक्त गर्दै घोर भत्सर्ना गर्दछु-विज्ञप्तिमा खाँडले भनेका छन्-सम्मानित न्यायालयको निर्णयको सम्मान गर्नु दुवै पक्षको कर्तव्य हो। तर स्थानीय प्रशासनले अलिकति पनि धैर्य नगरी कानून विपरितका यस्ता कार्य गर्नु निन्दनीय छ।'