जनकपुरधाम : मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ । बुधबार मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित नेपाली कांग्रेसको मधेश प्रदेश कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो ।
संसदीय दलको बैठकबाट जनमत पार्टीको नेतृत्वमा नेपाली कांग्रेसको सहभागितामा बनेको मधेश सरकारको नेतृत्वदायी भूमिका निर्वाह गरेका दलले नै वर्तमान सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता बोलाइसकेपछि सरकारमा सहभागीको औचित्यता सकिएकोले समर्थन फिर्ता लिएको सांसद बीरेन्द्र सिंहले जानकारी दिए ।
संसदीय दलको बैठकबाट आजको मितिबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता हुनेगरी सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए ।
उनले भने, 'प्रदेशसभा बैठकमा १ जना मुख्यमन्त्री सरकारको पक्षमा र १२ जना विपक्षमा बस्दा व्यक्ति हावी भएको देखियो । हामीले त व्यक्तिलाई नभइ संस्थालाई समर्थन दिएका थियौं त्यसैले व्यक्तिलाई छोडेर संस्थासँग रहने विचार गरेर अघि बढेका हौं । हामी आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गरिरहेका छौं।'