पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ।
सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाई गदै जिल्ला अदालतले तत्काल फिर्ता नहुने आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश नितिश राईको एकल इजलासले तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। त्यसकै आधारमा जिल्ला सरकारी वकिलको कार्यालयलाई परिपत्र गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा फिर्ताका लागि जिल्ला अदालतमा निवेदन दिएको हो। यसमाथि सुनुवाइ गर्दै यस सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट निर्णय भएपछि मात्रै निर्णय हुने जिल्ला अदालतले आदेश गरेको हो।
लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णय विरुद्ध युवराज सफलले गत माघ २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसमाथि सुनुवाइका क्रममा महान्यायाधिवक्ता भण्डारीले मुद्दा दर्तापछि थप प्रमाण भेटिएकाले फिर्ता लिने निर्णय गरिएको जिकिर गरेकी थिइन्।
उनको जिकिरपछि सर्वोच्चले थप प्रमाण पेश गर्न आदेश दिएको थियो। महान्यायाधिवक्ताको कार्यालयले थप प्रमाण पेश गरेपछि सर्वोच्चमा सुनुवाइ हुनेछ।
यसअघि जिल्ला अदालत, रुपन्देहीले पनि यस्तै निर्णय गरेको थियो। सर्वोच्चबाट मुद्दाको छिनोफानो भएपछि मात्रै मुद्दा फिर्ता लिन दिएको निवेदनमाथि निर्णय हुने आदेश गरेको यियो।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने विरुद्ध जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। त्यस्तै, उनी विरुद्ध चितवन र काठमाडौँ जिल्ला अदालतमा पनि मुद्दा विचाराधीन छन्।