बुटवल । यहि फागनु २१ गते हुने प्रतिनीधि सभा निर्वाचनको मिति नजिकिँदै छ । दल र उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
ऐतिहासिक महत्व बोकेको बुटवल बजार समेत समेटिएको रुपन्देहीको क्षेत्र नं. २, औद्योगिक तथा आर्थिक विकास र मुलुक संघीय संरचनामा गएपछि सुरुमा राजधानी समेत भएको हिसाले निर्वाचनमा कसले जित्ला भन्ने आम नागरिकमा जिज्ञाशा छ । जिज्ञासा हुनु स्वभाविकै हो ।
यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी सहित २० जना दलका र १९ जना स्वतन्त्र गरि ३९ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।
बुटवल उपमहानगरपालिकाको १ देखि १३ सम्मका वडा, तिलोत्तमा नगरपालिकाको १ देखि ६ सम्मका वडा र सैनामैना नगरपालिकाको १ देखि ४ सम्मका वडा गरि २३ वटा वडा समेटिएको यो निर्वाचन क्षेत्रमा १ लाख ३५ हजार ५० जना मतदाता छन् ।
यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसबाट उद्योगी व्यवसायिक पृष्ठभूमिका पार्टीका महासमिति सदस्य चुन्नप्रसाद पौडेल चुनावी मैदानमा ओर्लिएका छन् । त्यसैगरी नेकपा एमालेबाट पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेल उम्मेद्वार बनेका छन् ।
नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट शुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट विश्वदिप पाण्डेसहित विभिन्न दल र स्वतन्त्र समेत गरि ३९ जना उम्मेद्वार चुनावी मैदानमा होमिएका छन् ।
यो निर्वाचन क्षेत्रमा मुख्यतया नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी चर्चामा छन् । आसन्न निर्वाचनमा रुपन्देही २ मा मुख्यतया नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी बिच नै प्रतिस्र्पा हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
यो निर्वाचनमा काँग्रेसले एमाले र रास्वपा, एमालेले रास्वपा र काँग्रेस तथा रास्वपाले पनि काँग्रेस र एमालेलाई प्रमुख प्रतिस्पर्धीका रुपमा हेरेका छन् ।
रुपन्देही–२ यस अंगाडि पटक पटक एमाले उपाध्यक्ष पौडेलले जित्दै आएको निर्वाचन क्षेत्र हो । चर्चामा रहेका काँग्रेस, रास्वपा र नेपाली कम्युनिष्ट पार्टी सहित धेरै उम्मेद्वार नयाँ छन् । २०७९ मा भएको निर्वाचनमा एमालेका पौडेलले झिनो मतले मात्रै विजय हासिल गरेका थिए ।
उक्त निर्वाचनमा अन्यदलहरुसंग गठबन्धन गरेको नेपाली काँग्रेसको उम्मेद्वार थिएन । रास्वपाको क्रेज ह्वात्तै बढेको थियो । मतदाताले रास्वपाका उम्मेद्वार गणेश पौडेललाई चिन्दै नचिनी भोट दिएका थिए । अहिले परिस्थिती अझै बदलिएको छ ।
नेपाली काँग्रेसबाट उम्मेद्वार बनेर पहिलो पटक निर्वाचनमा होमिएका चुन्नप्रसाद पौडेल बलियो दाबेदारका रूपमा उभिएका छन् ।
यसपटक लामो समयपछि नेपाली काँग्रेसले आफ्नै उम्मेद्वार र आफ्नै चुनाव चिन्हमा निर्वाचन लड्न पाउँदा पार्टी कार्यकर्ता र समर्थकहरू उत्साहित देखिन्छन् । काँग्रेसी मत एकीकृत हुँदा चुन्नलाई थप बल पुगेको छ । समाजसेवी तथा वरिष्ठ उद्योगपतिको पहिचान बनाएका पौडेलले स्वास्थ्य, पर्यटन तथा विभिन्न उद्योग क्षेत्रमा लगानी गरेका छन् ।
उनका उद्योगबाट पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्, उनका उद्योगसँग जोडिएर करिब पाँच हजार स्थानीय व्यापारिक गतिविधिमा संलग्न छन् । रोजगारी र व्यवसायमा जोडिएका व्यक्तिहरूको मत समेत चुन्नलाई जाने निश्चित रहेको विश्लेषण गरिन्छ ।
काँग्रेस उम्मेद्वार चुन्नको चुनाव जित्ने यो बलियो आधार हो । पटक पटक यसै निर्वाचन क्षेत्रबाट चुनाव जितेर पटक पटक मन्त्री तथा उपप्रधानमन्त्रीसम्म बनेका एमाले उपाध्यक्ष पौडेल राजनीतिक उचाईका कारण पनि बलियो प्रतिस्पर्धी मानिन्छन् । तर पछिल्ला वर्षहरुमा खस्किँदै गएको पौडेलको जनमत पार्टी भित्रको आन्तरिक शक्ति संघर्ष लगायतका कारण दवावमा परेको स्थानीय विश्लेषकहरू बताउँछन् ।
रुपन्देहीलाई प्रदेशको राजधानी बनाएर छाड्ने प्रतिवद्धताका बिच मतदाताले जिताएर पठाएका पौडेलले एमाले नेतृत्वको सरकारमा आफू अर्थमन्त्री हुनेगरी प्रदेशको राजधानी दाङ पुर्याएको आरोप खेप्नु परेको छ । यो मुद्धाले पनि पौडेललाई कमजोर बनाएको छ ।
पटक पटक चुनाव जितेका एमाले उपाध्यक्ष पौडेलले दिएका र पुरा हुन नसक्ने तथा औचित्यहिन योजना र सपना बाड्ने गरेका कारण जनमत विपक्षमा बढ्दै गएको छ ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा करिव ५ किलोमिटर सडक जोखिमयुक्त छ । तर जोखिमयुक्त सडकको विच भागमा जम्मा १ किलोमिटर मात्रै सुरुङ बनाईनुले त्यसको औचित्य माथि प्रश्न उठ्ने गरेको छ । पौडेलले कामको जस लिने अर्को ठूलो योजना बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोग विहिन भएको छ भने त्यसको सञ्चालन खर्च वर्षमा करोडौं घाटामा छ ।
उनको महत्वकांक्षि योजना कालिगण्डकी–तिनाउ डाईभर्सनमा समेत आफ्नै पार्टीका नेताहरुको बिरोध सहनु पर्यो भने मोतिपुर औद्योगिक कोरिडोरको काम अगाडि बढाउन सकेनन् ।
अर्को महत्वपूर्ण कुरा यस क्षेत्रको बासिन्दाको रुपमा पटक पटक चुनाव जितेपनि यहाँको घर विक्रि गरेर काठमाण्डौको भैसेपार्टीमा बस्न थालेको वर्षौै भईसक्यो । चुनाव लड्नका लागि आउँदा भाडाको घर खोजेर बस्ने गरेका छन् ।
त्यस्तै बुटवलको भूमिहिन, सुकुम्बासी समसया समाधान गर्न २०६४ सालदेखि नै आश्वासन दिँदै आएका छन् । तर त्यो समस्या समाधानमा कुनै पहलकदमी नदिएकाले भूमिहिन सुकुम्बासीको आरोप छ ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमाले उपाध्यक्ष पौडेललाई कडा टक्कर दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुलभ खरेल पनि बलियो प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।
मतदातामा नयाँ दलप्रति देखिएको आकर्षणले शुलभको भन्दा पनि रास्वपाको चर्चा बढी छ । तर जेन–जी आन्दोलनका क्रममा आएका उनका अभिव्यक्तिले मतदातामा शंकोच सिर्जना गरेको छ । यस अंगाडि उनी रुपन्देहीको क्षेत्र नं. ३ मा चुनाव लड्ने चाहना राखेका थिए ।
तर पार्टी भित्रको आन्तरिक संघर्षका कारण उनलाई क्षेत्र नं. २ मा चुनाव लड्नुपर्ने बाध्याता आईपर्यो । उनी आफूले आफैलाई मत समेत दिन पाउने छैनन् । उनी क्षेत्र नं. ३ का मतदाता हुन् ।
अघिल्लो निर्वाचनमा विभिन्न दलबीचको गठबन्धनका कारण नेपाली काँग्रेसको उम्मेद्वार नहुँदा त्यसको फाइदा एमाले र रास्वपाले लिएको विश्लेषण गरिन्छ ।
यस पटक काँग्रेसको बलियो उपस्थितीले चुनावी समीकरणलाई फरक दिशामा लैजाने देखिन्छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दल र घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको जनमत यस क्षेत्रमा कमजोर देखिएको छ ।
उक्त पार्टीबाट उम्मेद्वार विश्वदीप पाण्डले अन्य दलहरुको लडाईको बिचबाट निश्किन सकिन्छ की भन्ने दाउ रहेको चिया चौतारामा विश्लेषण हुने गरेको छ । निर्वाचन कसले जित्ला भन्ने हेर्नका लागि फागुन २१ गते कुर्नै पर्ने हुन्छ ।