काठमाडौं-नेपाली कांग्रेसले २१ फागुनको चुनावी घोषणापत्रलाई प्रतिज्ञापत्रको नाम दिएर बिहीबार सार्वजनिक गरेको दस्तावेजमा कुनै क्षेत्रलाई बाँकी रोखेको छैन । उसको प्रतिज्ञापत्रमा सबै क्षेत्रलाई समेटेर आर्थिक समृद्धि हासिल गर्न सबैलाई साझेदार बनाउने बताएको छ ।
प्रतिज्ञापत्रको कांग्रेसले किस्ताकिस्तामा सार्वजनिक गरेको छ । बुधबार जनकपुरमा सभा गरेर सार्वजनिक गरेको प्रतिज्ञापत्र बिहीबार काठमाडौंको सभागृहमा खोलियो । प्रतिज्ञापत्र र कांग्रेसका नीति र गर्ने कामबारेमा सभापति गगन थापासँग प्रत्यक्ष र तथा डिजिटल रूपमा प्रश्न सोध्ने र जवाफ पाइने व्यवस्था कांग्रेसले गरेको थियो ।
प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति थापाले कांग्रेसले ल्याएका योजनाबारेमा प्रस्ट पारेका थिए ।
भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता नहेर्ने
सभापति थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताए । ‘कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन । जोसुकै जोस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन,’ उनले भने ।
थापाले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए ।
समयमा सेवा
थापाले अब कार्यालयकेन्द्रित होइन कि नागरिककेन्द्रित सेवा बनाउनुपर्ने बताए । उनले कुन काम कति समयमा सकिन्छ, त्यो समयभित्र नै गर्नुपर्ने बताए ।
‘सार्वजनिक सेवामा कुनै पनि कुरा एक दिनमा बनाइनेछ भन्यो भने त्यो एकै दिनमा बनाइनुपर्छ । एक घण्टामा सेवा पाइनेछ भन्दा त्यो एकै घण्टामा सेवा पाउनुपर्छ,’ उनले भने, ‘यसका निम्ति प्रविधिको प्रयोग कसरी गर्ने ? अहिले भइरहेका कुन–कुन कानुनमा संशोधन गर्ने र भौतिक पूर्वाधार कसरी निर्माण गर्ने र घरमै नागरिकलाई सेवा कसरी दिन सक्ने ।’
फ्रि हेल्थ केयर
कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउने गरी योजना तयार पारिएको सभापति थापाले बताए । ‘हामीले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारिएको छ । अब यसलाई कसरी रन गर्ने भन्नेबारे हामीले सोचेका छौँ,’ उनले भने, ‘कुनै पनि नेपालीले जस्तोसुकै रोग लाग्दा पनि फ्रि हेल्थ केयरको व्यवस्था मिलाउँछौँ । यसका लागि स्रोत एकीकृत प्रणाली चाहिन्छ । जनशक्ति अहिले नै तयार पार्नुपर्छ ।’
थापाले अस्पताल भनेको ठूलाठूला भवन मात्रै नभएको भन्दै भएकोलाई व्यवस्थित बनाउन ध्यान दिनुपर्ने बताए ।
शिक्षामा २० प्रतिशत लगानी
देशको शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकका मागहरू सम्बोधन गरेर मात्रै गर्न सकिने थापाले बताए ।
‘२० प्रतिशत लगानी नगरी शिक्षाको विकास सम्भव नै छैन । शिक्षा ऐन जारी गर्नुपर्नेछ । शिक्षकको सेक्टरलाई ठीक बनाएर पढाउने शैली ठीक बनाउन सकिन्छ,’ उनले भने, ‘हामी गणितमा कमजोर भएका छौँ । यसका लागि महाअभियान सञ्चालन गर्नुपर्छ । भोलिको रोजगारी तयार पार्न अहिले नै लगानी गर्नुपर्छ ।’
एकपटकको नेपाली सधैँ नेपाली
थापाले एकपटकको नेपाली सधैँको नेपाली हुने बताए । ‘एकपटकको नेपाली सधैँको नेपाली । कहाँ के संशोधन गर्ने हो गर्छौं । कानुनहरू संशोधन गरेनौँ भने एनआरएनएले पाउने सेवा पाउँदैन,’ उनले भने, ‘पैतृक सम्पत्तिको कारोबार, विदेशमा रहेर पनि मताधिकार पाउने, ब्रिटिस गोरखाको विषयमा हामी सँगै लड्ने, दोहोरो करको विषयमा सम्बन्धित देशसँग कुरा गर्ने ।’
१० लाखम्मा आम्दानी कर नलगाइने
कांग्रेसले १० लाखसम्मको आम्दानीमा कर नलगाउने कुरा घोषणापत्रमा उल्लेख गरेको छ । सभापति थापाले नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउने नभई नीतिगत सुधार पनि आवश्यक रहेको बताए ।
अहिले ३९ प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने उनले बताए । ‘व्यक्तिगत आयकरको सीमा सबैभन्दा बढी हुने देशमा पर्छ नेपाल । अब २५ प्रतिशतमा झार्छौं,’ उनले भने ।
संस्थागत सीमा २० प्रतिशतमा झार्ने उनले बताए । अन्य करका दरसमेत सरलीकृत गर्दै सबैलाई मूल्य अभिवृद्धि करमा समाहित गर्ने योजना रहेको थापाले बताए ।
नेपालमा निजीक्षेत्र भन्नाले केही अनुहार मात्र हेरेर व्यवहार गर्ने प्रवृत्ति रहेको भन्दै यसलाई चिर्नुपर्ने उनले बताए । चिया पसलदेखि हातहातमा क्यामरा–मोबाइल लिएका युट्युबरहरूसमेत निजीक्षेत्रको एक हिस्सा रहेको उनको भनाइ छ ।
अब नेपालमा लगानीको वातावरण छ भन्ने बनाउन आफूले काम गर्ने उनले बताए । थापाले जनताको भान्छालाई कसरी सस्तो बनाउने भन्ने विषयमा पनि काम गर्ने बताए ।
ब्लक चेनदेखि क्रिप्टोकरेन्सीबारे खुला
थापाले ब्लक चेनदेखि क्रिप्टोकरेन्सी खुला गर्नेबारे खुला सोचका साथ जाने प्रतिबद्धता जनाए । ‘ब्लक चेनदेखि क्रिप्टोसम्मका सन्दर्भलाई नेपालले अब खुला सोचका साथ जानुपर्छ भन्ने सोचमा पनि स्पष्ट छौँ,’ थापाले भने ।
नेपालको पुँजीबजारलाई कसरी व्यापक बनाउने र बढीभन्दा बढी जनताले कसरी लाभ लिन सक्छन् भन्नेबारे पनि आफूले सोचेको उनले बताए ।
संघमा १६ र प्रदेशमा ६ वटा मन्त्रालय
कांग्रेसले संघीय सरकारमा १६ वटा र प्रदेश सरकारमा ६ वटा मन्त्रालयको सीमा राखेको छ । ‘अब प्रधानमन्त्री दुईपटक र मुख्यमन्त्री पनि दुईपटकभन्दा धेरै बन्न नपाउने व्यवस्था गरिनेछ,’ उनले भने, ‘संघ सरकारमा १६ वटा मन्त्रालय, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोकिनेछ ।अब कसैले पनि गठबन्धन मिलाउनुपर्यो भनेर मन्त्रालय बढाउन पाउँदैन ।’
सबैको अभिभावक हुने
थापाले अब बन्ने कांग्रेस नेतृत्वको सरकारले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको बराबर अभिभावकत्व दिने प्रतिबद्धता जनाए । आफूलाई डायस्पोरामा रहेका नेपालीले कांग्रेसको धारणा सोधिरहेको बताउँदै सभापति थापाले अबको कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर बस्ने नेपालीहरूका लागि पनि बराबरको अभिभावक हुने बताए ।
‘हाम्रो राज्य प्रवासमा रहेर पौरख खर्चिरहेका नेपालीहरूको पनि अभिभावक हुनेछ । संसारभरि छरिएर रहेका नेपालीको भावना, ज्ञान, सिप र पुँजी मातृभूमिको पुनर्जागरणमा जोडिनेछ,’ उनले भने ।
दल होइन, अब्बल
सभापति थापाले कुनै पनि नियुक्तिमा दल होइन, अब्बल भन्ने नारा आत्मसात् गर्ने बताए । उनले अबको कांग्रेसले कुनै पनि नियुक्तिमा भाग नलिने बताए ।
‘कुनै पनि नियुक्तिमा दल होइन, अब्बल । कांग्रेस संवैधानिक आयोगमा, विश्व विद्यालयमा भाग लिन गयो भन्ने कुरा सुन्नुपर्ने छैन । संस्थागत सुधार नगरी केही कुरा सम्भव छैन,’ उनले भने ।
५ वर्षमा १५ लाख रोजगारी
थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताए । कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हकअन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी संकल्पपत्र तयार गरेको उनको भनाइ छ ।
‘५ हजार युवाहरूका लागि कार्यक्रम बनाउनेछौँ, चाहे त्यो संसदमा होस् या सरकारमा । यसबारेमा कार्यक्रम नै बनाएका छौँ,’ उनले भने ।
उनले युवाहरूलाई डिजिटल स्वतन्त्रता र सिर्जनाको सम्मान गर्ने योजना कांग्रेससँग रहेको बताए । ‘अहिलेका युवाहरूसँग थुप्रै कला, साहित्य र सिर्जनाहरू छन् । उहाँहरूले सिर्जना गर्नुभएको छ । तर, त्यसलाई बेच्न बजारमा पाइराख्नुभएको छैन । यसबाट स्वतन्त्रता खोज्नुभएको छ । यसका बारेमा हामी प्रस्ट छौँ,’ थापाले भने ।