बुटवल । रुपन्देहीमा मंगलबारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ । जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको सोमबार बसेको बैठकले नीजि सवारी साधन चल्न पाउने गरि निषेधाज्ञा असार १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
आज बसेको जिल्ला प्रशासन कार्यालयको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो । रुपन्देहीमा घट्दो कोरोना संक्रमण दरलाई हेर्दै थप जोखिमको आंकलन गरी निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
तर सवारी साधन चल्दा जोर-विजोर प्रणाली अनुसार चल्नु पर्ने जिल्ला प्रसासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले बताए। ‘जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पर्ने छ।' उनले भने 'यो नीजि सवारी साधनको लागि मात्र हो । सार्वजनिक सवारी साधन अझै खुला भएको छैन ।'
यस्तै डीसीसीएमसीको बैठकले भोलीबाट सबै सरकारी कार्यालय खोल्ने निर्णय पनि गरेको छ । यस अघि अत्यावश्यक कार्यालयहरु मात्र खुलेका थिए ।
कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारि गरिएको थियो । असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा खुकुलो गरिएको थियो । भोलीबाट निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय भएकाे हाे ।
आजको निर्णय अनुसार जिल्लामा सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन रोक लगाइएको छ । कुनै पनि भेला भिडभाड, महोत्सव, जात्रा सञ्चालन गर्न,सभा जुलुस लगायतका मानिसको भिडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न पाइने छैन ।
त्यस्तै सबै प्रकारका सभा, पार्टी प्यालेस, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, व्युटिपार्लर र स्विमिङपुल स्पा, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पाइने छैन भने आन्तरिक नित्य पुजाबाहेकका सबै धार्मिक साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटलाई पनि रोक लगाएको छ । त्यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षाहरु संचालन गर्न पनि निषेध गरेको छ ।
यस्तो छ विज्ञप्ती: