चितवन । असार २८ गते शुक्रवार बिहानदेखि त्रिशुलीमा हराइरहेका दुई बस र यात्रुको खोजीका लागि सोमवार बिहानबाट उच्च प्रविधिको सोनार डिभाइस प्रविधि प्रयोग गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकबाट आइतवार कुरिनटार लगिएको सो डिभाइसमार्फत खोजीकार्य शुरू गरिएको हो । नेपालमा भएकामध्ये उच्चस्तरको मानिने सोनार डिभाइस आकृतिको रुपमा देखाउने प्रविधि भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसले पानीमुनि साउन्ड वेब पठाइ त्यहाँ रहेका बस्तुहरूलाई स्क्यान गर्ने गर्छ ।
यसअघि पनि सशस्त्र प्रहरीको तालिम शिक्षालय कुरिनटारबाट सो प्रविधि प्रयोग गरिएको भएपनि त्यसको क्षमता कम भएकाले अपेक्षाकृत परिणाम प्राप्त हुन नसकेको सहप्रवक्ता थापाले बताउनुभयो ।
सोमवार प्रयोग गरिएको सोनार डिभाइस पनि उच्चतम प्रविधिको साधन हो । यसको क्षमता २०० मिटर गहिराइसम्मको जुनसुकै बस्तु पनि पत्ता लगाउने खालको छ,’ उहाँले भन्नुभयो ।
धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउन्ड वेब तलसम्म रहेका बस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रुपमा फिर्ता हुने प्रकारको रहेको बताइएको छ ।
मोटरबोटमा जडान गरी लामो दूरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण बस्तुको आकृति कम्प्युटरमा हेर्न सकिन्छ । यो प्रविधिबाट सफलता मिल्ने विश्वास लिएको सशस्त्रले जनाएको छ ।