बुटवल । बुटवल–तानसेन सडकको सिद्धबाबामा साउन २७ गते ढुंगासहितको पहिरोले २ वटा गाडी च्याप्दा १ जनाको मृत्यु भयो भने ४ जना घाइते भए ।
ठूलासाना गरी दैनिक २ हजारको हाराहारीमा गाडी चल्ने यो बाटोमा सात वर्षको अवधिमा भएका ३८ दुर्घटनामा ३१ जनाको मृत्यु भयो भने १२ जना घाइते भए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार यो सडक खण्डको करीब ५ किलोमिटर दुरीमा वर्षेनी ३ देखि ४ जनाले ज्यान गुमाउँछन् ।
आर्थिक वर्ष २०७०/०७१ मा ११ जना, २०७१/०७२ मा ५ जना, २०७२/०७३ मा ४ जना, ०७३/०७४ मा २ जना, २०७४/०७५ मा ४ जना, २०७५/०७६ मा ३ जनाको मृत्यु भएको तथ्यांक प्रहरीसँग छ ।
यस्तो डरलाग्दो तथ्यांक देखिने यो बाटो हिड्नुपरे यात्रुले पहराबाट ढुंगा खसेर च्याप्ने हो कि, ढुंगासहितको पहिरोले बगाउने हो भन्ने चिन्ता हुन्छ ।
अर्घाखाँची र गुल्मीको पूर्वीभेग, पाल्पा, स्याङ्जा, कास्की, वाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङलगायतका जिल्लामा जानेका लागि यो सडक डरको पोको हो ।
बन्ला त सुरुङमार्ग
२०१८ सालदेखि खन्न शुरु गरेर २०२८ सालदेखि गाडी चल्न थालेका हुन् बुटवल–पाल्पा सडकमा । सिद्धार्थ राजमार्गको यो खण्डको रुपन्देहीको बुटवल चिडियाखोलादेखि पाल्पाको झुम्सासम्मको करीब ५ किलोमिटर सडक खण्ड मृत्युमार्गका रुपमा बदनाम छ ।
यो सडकमा सुरुङमार्ग बन्छ भनेर नेताहरु, सरकारी अधिकारीहरु चर्चा गर्छन् । सुरुङमार्गको बारेमा पनि आश्वासन सुनाउँछन् ।
यो कुहिरे भीरबाट खस्ने पहिरो रोक्न र सडक सुधार गर्न भन्दै एक वर्षमा ५० लाखभन्दा धेरै खर्च हुन्छ । रुपन्देही र पाल्पाका जनप्रतिनिधिहरु सडकको जोखिम हटाउनेबारे कैयौंपटक सार्वजनिक रुपमा बोल्छन् । सरकारले पनि सुरुङमार्ग बनाउने भन्दै अध्ययन गरेको ग¥यै छ । सुरुङमार्गको अध्ययनका लागि ५० लाख बजेट छुट्टाएर त्यसको अध्ययन पनि भएको छ ।
डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख केदार नेपाल रकनेट प्रविधिभन्दा सुरुङमार्ग बढी उपयोगी र स्थायी विकल्प हुने भएकाले सुरुङमार्गकै लागि सरकारी योजना अघि बढ्न लागेको बताउँछन् ।
सडकको सबैभन्दा बढी जोखिम रहेको ३ किलोमिटर क्षेत्रमा करीब १ सय वटा सानाठूला पहिरो खस्छन् । भूगर्भविद् रञ्जन दाहाल पहाडको संरचना कमजोर भएका कारण पटक पटक पहिरो खस्ने गरेको बताउँछन् ।
चुरे पहाडको संरचना कमजोर भएकाले पहिरो खसिरहने उनको भनाई छ । कमजोर संरचना भएकाले पटक पटक खसिरहने पहिरो रोक्न जियोटेक सोलुसन्स इन्टरनेशनल प्रालिले रकनेट प्रविधिमार्फत पहिरो रोक्न परीक्षण गरेको थियो । जापान सरकारको सहयोगमा वीपी राजमार्गमा प्रयोग भएको प्रविधि यहाँ पनि उपयोगी हुने ठहरका साथ पहाडमा जाली लगाएर ढुंगालाई अड्याउने प्रयास भएको थियो ।
भूर्गविद् दाहाल भन्छन्–भोटेकोशी हाइड्रोपावरको पहाडमा पनि यो प्रविधि सफल भएको छ, यहाँ पनि यो प्रविधि उपयोगी हुन्छ ।’ ६० लाख खर्च गरेर गरिएको परीक्षण सफल भएपनि सरकारले यसमा चासो दिएन ।
रकनेट प्रविधिको परीक्षणपछि संघ सरकारले सुरुङमार्गको अध्ययन गरायो । स्वीटजरल्याण्ड सरकारको सहयोगमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भएको छ । परामर्शदाता कम्पनी इटेगोले तयार पारेको डीपीआरका आधारमा सुरुङ बनाउने संघ सरकारको योजना छ ।
डीपीआरअनुसार सुरुङ बनाउन करीब ९ अर्ब रुपैयाँ लाग्छ । सिद्धबाबादेखि दोभानसम्म करीब सवा १ किलोमिटर दुरीको सुरुङ बन्नेछ ।
यो क्षेत्रमा बढी दुर्घटना भएपछि प्रदेश र स्थानीय सरकारले वैकल्पिक मार्ग बनाउन थालेका छन् । रुपन्देहीको चरङ्गेमुडाबास– चौकी भञ्ज्याङ–ज्यामिरे–झुम्सा सडक सिद्धबाबाको विकल्पको रुपमा अगाडि बढेको छ ।
पाल्पाको तिनाउ गाउँपालिकाले आसपासका अरु नगरपालिका र गाउँपालिकासँग मिलेर गत वर्ष करीब ९० लाख खर्चेर वैकल्पिक सडकको ट्याक खोलेको छ । १६ किलोमिटर लामो यो सडकको पाल्पाको झुम्सादेखि चौकी भञ्ज्याङसम्म गाडी चल्छन् । रुपन्देहीको चौकी भञ्ज्याङदेखि मुडाबाससम्मको सडक विस्तार हुनसकेको छैन । यो सडकका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट छुट्याएको छ ।
यो वैकल्पिक भनिएको सडक पनि त्यति सुरक्षित छैन । त्यसैले सिद्धबाबा क्षेत्रको सुरक्षित यात्राका लागि बन्ला त सुरुङ ? यो आम यात्रुको प्रश्न हो ।