काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु हुदै छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्नसकिने भनेको छ ।
महाधिवेशनअन्तर्गत ७ असोजमा गाउँ–नगरपालिका अधिवेशन, १० असोजमा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा १६–१९ असोजमा केन्द्रीय महाधिवेशनको कार्यतालिका रहेको छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले १६ असोजदेखि सुरु हुने केन्द्रीय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि १९ असोजमा मतदान गर्ने कार्यतालिका रहेको जानकारी दिए ।
कांग्रेसको १५औं महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको आकार विगतका दुई महाधिवेशनको तुलनामा निकै ठूलो हुने देखिएको छ । विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुने भएको छ ।