पश्चिम भारतकी रमाबाई रणवीरले दौडका लागि कुनै तालिम लिएकी थिइनन्, उनीसँग दौडने जुत्तासमेत थिएन।
पहिलो पटक दौडमा भाग लिएकी उनी खाली खुट्टै दौडेर पहिलो भइन्।
आफ्ना श्रीमान् गुमाएकी ४७ वर्षीय रमाबाई सामुदायिक स्तरमा अगस्टमा आयोजना गरिएको ३ किलोमिटरको दौडमा भाग लिनुको एउटै लक्ष्य थियो– पुरस्कार जितेर आफ्ना दुई जना छोरीको पढाइ खर्च जुटाउनु।
अरूभन्दा चाँडो दौड पूरा गर्दा उनी निकै खुसी भइन्। यससँगै उनले ३,००० भारतीय रुपैयाँ अर्थात् ४,८०० नेपाली रुपैयाँ बराबर पुरस्कार जितेकी थिइन्। जसले उनलाई छोरीहरूका लागि किताब र पठन सामग्री किन्न थोरै भए पनि सहयोग पुग्थ्यो।
उनले पुरस्कारमा पाएको पैसा धेरै थिएन। यो रकमले भारतमा उच्च शिक्षाको खर्चको एक छेउ पनि धान्दैन। उनकी एक छोरीले सरकारी जागिरका लागि तयारी कक्षा लिइरहेकी छन्। यो पुरस्कार त्यो कक्षाको पूरै शुल्क तिर्न पनि पुग्दैन थियो।
तर ती दुई छोरीकी आमा खाली खुट्टा दौडिएको भिडिओ सामाजिक सञ्जाल र पत्रपत्रिकामा फैलिएसँगै त्यसले धेरैको ध्यान खिच्यो। यसले भारतको शिक्षा प्रणालीमाथि थप बहस चर्कायो।
"यो गौरवको कुरा हो वा हाम्रो समाजका लागि लज्जाको विषय?," सामाजिक सञ्जालका एक प्रयोगकर्ताको प्रश्न छ।
जीवनमा धावक बन्ने कल्पनासमेत नगरेकी ती महिला एउटा ठूलो विषयको प्रतीक बनिन्। शिक्षा पाएर आफ्ना सन्तानको जीवन राम्रो हुने आशामा केही भारतीय परिवारले कुन हदसम्मको सङ्घर्ष गर्छन् भन्ने प्रतीकका रूपमा उनलाई हेरिन थालियो।
दौडने निर्णय गर्नु रमाबाईका निकै सजिलो थियो।
"मेरी ठुली छोरी बिहानै आएर भनिन्, 'आमा, म दौड प्रतियोगितामा भाग लिन चाहन्छु'," बीड जिल्लास्थित आफ्नो घरबाट बीबीसी न्यूज मराठीसँग कुरा गर्दै उनले भनिन्।
"मैले उनलाई कहाँ दौडन लागेको भनेर सोध्दा उनले नजिकै हो भनिन्। पुरस्कारको पैसा जित्न सके पढाइमा सहयोग पुग्ने उनको कुरा थियो।
नान्देडमा बस्ने उनकी कान्छी छोरी आरतीलाई किताब किन्न पैसा जुटाउन कठिन भइरहेको थियो।
"मैले उनको किताब किन्न पैसा पठाउन नसकेपछि उनी आठ दिनसम्म मसँग फोनमा बोलिनन्। त्यसपछि मैले दौडनैपर्छ र दौड जित्नैपर्छ भन्ने निर्णय गरेँ," रमाबाईले भनिन्।
आमा छोरी नै दौडमा
दौडन सुरु गरेपछि उनका चप्पल फुस्किन थाले। उनले चप्पल फुकालिन्, सारी बलियो बाँधिन् र खाली खुट्टै दौडिइन्। महिलातर्फ ३० वर्षदेखि ६० वर्ष उमेर समूहमा अरूलाई पछि पार्दै उनी पहिलो भइन्।
उनकी जेठी छोरी पूजा पनि आफ्नो उमेर समूहमा दोस्रो भइन् र उनले पनि पुरस्कार जितिन्। तर पूजा आफ्नी आमाको प्रशंसा गर्दै उनी साहसी भएको बताउँछिन्।
सन् २०१२ मा श्रीमान्को मृत्यु भएयता रमाबाईको एक्लो कमाइले उनको परिवार चल्दै आएको छ।
"मैले जे काम पाएँ, त्यही गरेँ। अरूका खेतमा भटमास र चना टिपेँ। बेसार पनि बटुलेँ, पिसेँ र बेचेँ," उनी सुनाउँछिन्।
उनले १३ वर्षकै उमेरमा विद्यालयको पढाइ छाडेकी थिइन्। आफ्ना छोरीहरूले आफूले कहिल्यै नपाएका अवसर पाउनु पर्ने उनी बताउँछिन्।
"मेरी छोरीहरूलाई राम्रो शिक्षा दिन म बाँचुन्जेल सक्दो गर्छु," उनले भनिन्।
उनको मात्रै नभई लाखौँ भारतीय परिवारको चाहना यस्तै छ। एक जना सन्तानलाई शिक्षा दिलाएर दिगो पेसा नपाउँदासम्म वर्षौँको तयारी र कडा प्रतिस्पर्धा आवश्यक पर्न सक्छ। धेरै परिवारका लागि त्यसमा ठूलो खर्च पनि लाग्छ।
रमाबाईकी एउटी छोरी प्रहरी भर्तीको तयारी गरिरहेकी छन् र अर्की निजामती सेवाको। सुरक्षित र प्रतिष्ठित ठानिने यी दुवै सरकारी जागिरमा उत्तीर्ण हुन उच्च प्रतिस्पर्धा गर्नुपर्छ।
लाखौँ भारतीय युवा यस्ता परीक्षाको तयारीमा वर्षौँ बिताउँछन्। उनीहरूको प्रायः खर्च तयारी कक्षा र अध्ययन सामग्रीमा हुन्छ। तर बारम्बार प्रश्नपत्र बाहिरिएको र अन्य किसिमका अनियमितता सम्बन्धी आरोपले यो परीक्षा प्रणालीप्रतिको विश्वास कमजोर हुँदै गएको छ।
यस्ता विवादले शिक्षा, रोजगारी र सुरक्षित भविष्यको अन्योलका कारण भारतीय युवामा व्यापक निराशा बढाएको छ। यही निराशाले भारतको शिक्षा प्रणालीमा परिवर्तनको माग गर्दै विद्यार्थी नेतृत्वका प्रदर्शन र युवा आन्दोलनलाई पनि बल दिएको छ।
'मैलेजस्तो दु:ख छोरीहरूले भोग्न नपरोस्'
रमाबाईको जस्तो परिवारले शिक्षाका लागि हरेक दिन अनेक त्याग गरिरहेको हुन्छ।
श्रीमान्को मृत्युपछि उनी जे काम पाइन्छ त्यही गरेर छोरीहरू पढाइरहेकी छन्। अहिले उनी कान्छी छोरी प्रहरीमा भर्तीको तयारी कक्षा लिइरहेको ठाउँमा खाना पकाउने काम गर्छिन्।

रमाबाईको दौडले आम मानिसहरूसँगै भारतीय अधिकारीहरूको ध्यान पनि तान्यो। हालै भारतका प्रधानन्यायाधीश सूर्य कान्तले उनलाई ५०,००० रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउन स्थानीय अधिकारीहरूलाई निर्देशन दिए।
विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष सुखदेव थोराट यो परिवारको कथाले व्यापक संरचनागत चुनौती उजागर गरेको बताउँछन्।
रमाबाईका लागि भने यो बहस प्राथमिकताको विषय होइन। आफ्ना छोरीहरूको भविष्य राम्रो बनाउने कुरा नै उनका लागि सबैभन्दा महत्त्वपूर्ण छ।
"म चाहन्छु, उनीहरूले मैले भोगेजस्तो कठिनाइ भोग्न नपरोस्," उनी भन्छन्।
"उनीहरूले हिलोमा सङ्घर्ष गर्नु नपरोस्, उनीहरू म जस्तो चर्को घाम र झरीमा हिँड्न नपरोस्। मैले जस्तो दु:ख मेरा छोरीहरूले भोग्न नपरोस्।"
बीबीसी नेपाली सेवाबाट साभार