बुटवल। तिनाउ नदीले बुटवलको टप मझुवा क्षेत्रका ६ वटा घर बगाएको छ। नदीकिनारमा रहेका घर बाढीले बगाएको हो।
चार दिन देखि लगातार परेको वर्षापछि शनिवार राति बढेको बाढीले बुटवल उपमहानगरपालिका वडा नं.११ टप मझुवा क्षेत्रका ६ वटा घर बगाएको प्रहरीले जनाएको छ।
शनिबार दिनभर खतराको तह ननाघेको तिनाउ नदीले साँझदेखि परेको भीषण वर्षापछि खतराको तह नाघेर नदीबाट बस्तीलाई सुरक्षित बनाउन लगाइएको पक्की तटबन्ध बगाएर नदीको छेउमै रहेका ६ वटा घर बगाएको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार बाढीले खतराको तह नाघेपछि राति १२ बजेतिर टप मजुवा, प्रगतीनगर, हात्तिसुढ, युद्धनगर लगायतका बस्तीका १ हजार भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रहरी नायब उपरीक्षक श्रीवास्तवले अहिलेसम्म मानवीय क्षति भने नभएको र नदी किनारमा बसोबास गरिरहेका विभिन्न बस्तीका १ हजार भन्दा बढिलाई सुरक्षित स्थानमा राखिएको बताए।
‘नदी किनारका १ हजार भन्दा बढी बासिन्दालाई कान्ति मावि, नवीन, औद्योगिक मावि, उजारसिंह मावि र दुर्गा मन्दिरमा लगेर राखिएको छ, बुटवलमा रातभर भीषण वर्षा भए पनि अहिले केही कम भएकोले बाढीको सतह पनि केही घटेको छ,' श्रीवास्तवले भने।
बाढी बढेपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको रोहवरमा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो। नगरप्रमुख पाण्डे बाढीबाट जोखिम रहेका बस्तीमा पुगेर स्थानीयलाई सुरक्षित स्थानमा लैजान खटिएका थिए।
बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीले शनिबार राति ८ बजेदेखि नै सतर्कताको तह नाघेर खतराको तहमा पुगेको थियो। बुटवलसँगै पाल्पामा पनि रातभर भीषण पानी परेपछि तिनाउको जल सतहले सतर्कताको तह नाघेको थियो।
पाल्पाको दोभान स्थित तिनाउ नदीमा राखिएको जल मापन यन्त्रका अनुसार राती तिनाउको मापन ६.५८ मिटर पुगेको थियो।
यन्त्र जाँचकी दोभान माविका शिक्षक सन्तोष शेरचनका अनुसार दोभानमा तिनाउको तह ६ मिटर पुगेपछि सतर्कताको तह नाघेको मानिन्छ। त्यस्तै ७ मिटर पुगेपछि खतराको तह नाघेको मानिन्छ। राती खतराको तह पार गर्न ४२ सेन्टिमिटर मात्र बाँकी थियो।