बुटवल । समाजमा जातिय छुवाछुत तथा विभेद र वालविवाह न्यूनीकरण गर्न लुम्बिनी प्रदेश प्रहरीले तीन महिने अभियान सञ्चालन गरेको छ ।
जातका आधारमा हुने विभेद र बालविवाहमा शुन्य सहनशिलता कायम गर्न अाियन सञ्चालन गर्न लागिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अभियानअन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया, छलफल, पर्चार पम्पलेट वितरण, कानुनी प्रावधान बारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिनेछ ।
अभियानको मुख्य उद्देश्य समाजमा हुने जातीय छुवाछुत तथा वालविवाह जस्ता अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्याई जातिय विभेद तथा बालविवाह मुक्त समाजको सिर्जना गर्नु रहेको कार्यालयका प्रवक्ता राजकुमार बैदवारले बताए ।
अभियान हिजो आइतबारदेखि सुरु भएको हो । चैत २६ गतेसम्म लुम्बिनी प्रदेशस्तरका १२ वटै जिल्ला र ५३ वटा प्रहरी कार्यालयमा अभियान सञ्चालन हुनेछ ।
अभियानको अवधिभर कम्तिमा जम्मा तीन सय ९० वटा कार्यक्रमहरु संचालन हुने प्रवक्ता बैदवारले जानकारी दिए ।