हिन्दूहरुको दोस्रो ठूलो चाड हो तिहार । तिहार यो चाड कार्तिक कृष्णपक्षको त्रयोदशीबाट कार्तिक शुक्लपक्षको द्वितीया सम्म पाँच दिनमनाउने गरिन्छ । यो पर्व लाई यमपञ्चक पनि भनिन्छ । यमराजको पूजाआज गरिने भएको कारणले यमपञ्चक भनिएको हो, यमराज वैदिक सनातन धर्म अनुसार मृत्युका मालिक मानिन्छन् । तिहारको बेला पशु पक्षीकलाई समेत पूज्ने गरिन्छ । अहिले समयमा मनिस मानिसको शत्रु बन्दै गइरहेको बेलामा तिहार जस्तो पशुपंक्षीको पनि पूजा गर्ने पर्वले संसारमा आपसी प्रेमले बाँच्नु पर्छ भन्ने सन्देश पनि लिन सकिन्छ । तिहारलाई उज्यालो चाड भनिन्छ । यो पर्वमा जताततै झिलीमिली दीपमालीका गर्ने प्रचलन रहेको छ । दीप बाल्नाले अन्धकारको नाश हुन्छ, बत्तीलाई आत्माको ज्योति भनिएको पाइन्छ । तिहारका पाँचदिन अलग अलग पशु पंक्षी तथा भाईको पूजाआजा गरी मानिन्छ ।
भाइ तिहार
भाइतिहार यमपञ्चकको पाँचौं दिन कार्तिक शुक्ल द्वितीया तिथिका दिन विशेष उत्साहका साथ मनाइन्छ । भाइ टीकाको दिन दिदीबहिनीले दाजुभाइलाई तथा दाजुभाइले दिदीबहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजा गर्ने, सप्तरङ्गी टीका लगाई पहेलो, नीलो, सुन्तला, हरियो, सेतो, रातो तथा कालो लगाई दिने र दाजुभाइको लामो आयूको कामना समेत गर्ने प्रचलन रहेको छ । मेवा मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने, दाजुभाइले दिदीबहिनीलाई भेटी, उपहार, वस्त्र, आदि दिने प्रचलन रहेको छ ।
यसरी शुरु भयो भाईटीका
परापूर्वकालमा सूर्यकी पुत्री यमराजकी बहिनी यमुनाले भाइटीकाको दिन दिन आफ्नो दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक प्रसङ्ग छ । सधैजसो काममा व्यस्त रहने यमराज यमपञ्चकका पाँच दिन यमुनाको घरमा बास गर्छन् भन्ने पौराणिक मान्यता छ । परापूर्व कालमा यमुनाले निमन्त्रणा गरी दाजु यमराजलाई बोलाएकी थिइन् । त्यो समय यमपञ्चक परेको थियो भनिन्छ । यमपञ्चकभर यमराज आफ्नो काम छोडेर बहिनी यमुनाको घरमा बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी टीका लगाई दिइन् त्यही समय देखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, आदिको प्रयोगले आफ्ना दिदीबहिनी र दाजुभाइको सुख समृद्धि, आरोग्य तथा दीर्घायूको प्राप्ति हुने मानिन्छ । यमुनले यमराजसँग भाइटीकाको दिन जस्ले भाइ पूजा गर्छन्, उनीहरु दीर्घायू हउन् भन्ने बर मागेकी थिइन् । अहिले पनि भारतको उत्तर प्रदेशको मथुरा जिल्ला श्रीकृष्णको जन्मस्थली यमुनाको किनार विश्राम घाटमा टीकाको दिन दिदीबहिनी दाजुभाइको भब्यमेला नै लाग्ने गरेको छ । यमुनामा स्नानगरेर एक आपसमा भाइटीका मनाउने गर्दछन् । यमराजको पूजाले आयूको वृद्धि हुने, ओखर फोर्नाले सत्रुनाश हुने, तेल लगाउनाले अकालमा मृत्यु नहुने, मखमली माला लागाई दिनाले जसरी मखमली ओइलाउँदैन, मुर्झाउदैन त्यतै प्रकारले जीवन पनि मखमली फुलझै बनोस कहिलै दुःख चिन्ताले मुर्झाउन नपरोस, र दूबोको प्रयोगको अर्थ दूबो जसरी फैलिएर जान्छ त्यतै कुल, मान, यश, कृति समाजमा फैलदै जाओस भन्ने अभिप्रय लुकेको छ ।