कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरमा जारी कर्फ्यु जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार बिहानदेखि हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बिहान ६ बजेदेखि कृष्णनगरमा लगाइएको कर्फ्यु हटाइएको जानकारी दिए ।
कर्फ्यु हटाएपनि प्रशासनले बजार क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । चोकचोकमा प्रहरी परिचालन गरिएको छ ।
दुई समुदायबीच भएको विवाद बिहीबार राती सहमति भएपछि राती नै लक्ष्मी मूर्ति बिसर्जन गरिएको थियो ।
बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद सिर्जना भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका सुरजकुमार पाण्डेको ज्यान गएको थियो । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यु लगाएको थियो ।