बुटवल–बुटवल ११ देबीनगर हात्तीसुढमा बाक्लो सुकुम्बासी बस्ती छ । जहाँ निम्नवर्ग तथा दलितहरुको बसोबास छ । तिनाउ नदी किनारको यो ठाउँमा बुटवलको फोहोर थुपार्ने ठाउँ हो । फोहोरको पहाड जस्तो डंगुरले हात्तीसुढबासीलाई नराम्ररी असर पुर्याएको छ । गर्मी याममा सहन नसक्ने गरी दुर्गन्ध फैलने स्थानीय प्रकाश खत्रीले बताए । ‘दुर्गन्धका कारण साथीभाइ र पाहुनाहरु पनि आउन खोज्दैनन् । आएकाले कसरी बसेछौं भनेर सोध्छन् ।’ स्थानीय प्रकाश खत्रीले भने ‘अहिले पनि जेसीभी चलायो भने त नाक थुनेर बस्नुपर्दछ ।’
दुर्गन्धसँगै हात्तीसुढमा माखा (झिँगा) को समस्या उस्तै छ । गर्मी महिनामा भूइँभरि र भित्ताभरि झिँगाले ढाकिने गरेको स्थानीय शारदा सुनारले बताइन । ‘हेर्नु त माखाले भित्ता कालै गराएको ।’ भित्तातिर देखाउँदै उनले भनिन् ।
झिँगाका कारण स्थानीयलाई खाना खान समेत समस्या छ । ‘फोहोरका कारण हरिया माखा आउँछन् । एउटा हातले हम्कीने एउटा हातले खाना खाने हो ।’ हात्तीसुढकी देबकुमारी नेपालीले भनिन् ‘अहिले जाडो सुरु हुन लाग्दा केही कम भएको नत्र माखाले बस्न सकिन्न ।’ झिगासँगै लामखुट्ले अझै सताउने गरेको नेपालीले सुनाइन ।
झिँगा, लामखुट्टे र दुर्गन्धका कारण देवीनगरको तिनाउ पुलमुनीको बस्ती स्वास्थ्यको ठूलो जोखिममा रहेको छ । तिनाउको किनारमा फोहोर फाल्दै त्यसमाथी कंक्रिट र माटोले पुर्ने गरीन्छ । पुरेका ठाउँमा समेत धमाधम नयाँ घर समेत बनेका छन् । तर सतह कम्जोर भएकाले त्यसरी बनेका घरहरु निकै कम्जोर छन् । देबकुमारी नेपालीको घर त्यसरी फोहोर पुरेको ठाउँ माथि बनाइएको छ । घर अहिले ठाउँ ठाउँमा चर्केको छ ।
‘यहाँ मुनी प्लाष्टीक र केराका डाठ्लाहरु फालेर पुरेको ठाउँ रहेछ । त्यसैले उ घर जताततै चर्केछ ।’ उनले भनिन् । हात्तीसुढमा यसरी फोहोर फाल्न थालेको ३ वर्ष जति भयो । त्यस अघि केही माथी तिनाउ किनारकै पवित्रनगरमा फोहोर फाल्ने गरिन्थ्यो । पवित्रनगरमा स्थानीयको विरोध भएपछि हात्तीसुढमा फोहोर बिसर्जन गर्न थालिएको हो । बाटो पिच र नदीनियन्त्रणका लगायतका पूर्वाधार बनाइदिने सर्तमा स्थानीयले उपमहानगरलाई फोहोर फाल्न दिएका हुन् ।
तिनाउ किनारमा फालेको फोहोरले बस्ती नजिकको बस्ती त दुर्गन्धीत भएको छ । नदी प्रदुषण हुँदा जलचारहरुलाई क्षति पुग्ने पुगिरहेको छ । नदी र खोला किनारमा फोहोर फाल्नु कानून विपरित भएपनि बुटवल उपमहानगरपालिकाले फालिरहेको छ । ‘फाल्नु नपाइने हो । तर पनि फाल्न परेको छ । केही समयको लागि मात्र हो ।’ बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले भने ‘त्यहाँ खाडल थियो । खाडल पुर्नको लागि पनि त्यहाँ फोहोर विसर्जन गरेको हो । खाडल पुरेर सम्म पारेपछि पार्क बनाउने योजना छ ।’ उनले स्थानीयसँगको सहमतीमा फोहोर बिसर्जन गरिएको भन्दै पूर्वाधार निर्माण र स्वास्थ्यको जोखीम कम गर्न उपमहानगरपालिकाले प्रयास गरिरहेको जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाको स्थायी फोहोर व्यवस्थापनको लागि शिवनगर सामुदायिक वन क्षेत्रको भनभनेमा एशियाली विकास बैंक एडीबीको सहयोगमा फोहोर व्यस्थापन केन्द्र निर्माण गर्ने योजना अघि सारिएको थियो । तर चरंगेबासीको अवरोधका कारण एडीबी फिर्ता भएपछि भनभनेमा बनाउने भनिएको फोहोर प्रशोधन केन्द्र निर्माण अलपत्र परेको छ । बुटवलको फोहोर व्यवस्थापनको स्थायी टुंगो कहिले लाग्छ भन्ने अनिश्चत नै छ ।