बुटवल । आत्मबल बढाउन र तनाव व्यवस्थापन गर्न स्वःहेरचाह आवश्यक रहेकामा जोड दिइएको छ ।
सञ्चारिका समूह रुपन्देहीको आयोजना तथा समृद्धि हेयर ड्रेसीङ सलुन एण्ड एकेडेमीको सहकार्यमा आज बुटवलमा भएको सञ्चारकर्मी महिलाका लागी एक दिने स्वःहेरचाह सम्बन्धि अभिमुखीकरण कार्यक्रमका वक्ताले व्यस्त जीवनशैलीका कारण व्यक्तिमा तनाव बढ्ने भएकाले आफ्नो लागि समय व्यवस्थापन आवश्यक रहेको बताए ।
फ्रन्ट लाइनमा खटिएर व्यस्त जीवनशैलीमा काम गर्दै आएका पत्रकार महिलाहरुलाई स्व हेरचाह अझै जरुरी रहेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा समृद्धि हेयर ड्रेसिङ सलोन एन्ड एकेडेमीका सञ्चालक मोहन ठाकुरले स्वःहेरचाह अन्तर्गत कपालको हेरचाह अझै जरुरी रहेको बताउनुभयो । व्यस्त जीवनशैलीका कारण धेरैले कपालको हेरचाहमा ध्यान नदिँदा समस्या हुने गरेको उहाँको भनाइ छ । उहाँले कपाल तथा अन्य सौन्दर्यका सामान प्रयोग गर्दा गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो । कपालले मानिसलाई सुन्दर र आकर्षक देखिन मद्दत गर्ने भएकाले प्रोटिन प्रदान गर्ने सामाग्री प्रयोग गर्नुपर्ने जानकारी गराउनुभयो ।
सञ्चारिका समूह रुपन्देहीका सल्लाहकार अमृता अनमोलले फ्रन्ट लाइनमा खटिने पत्रकार महिलाहरूले एक दिनमा धेरै कार्यक्रमा पुग्नुपर्ने भएकाले समय र परिवेश सुहाउँदो फेसन गर्नुपर्ने बताउनुभयो ।
सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरा गौतम (निरु)ले आत्मबल बढाउन सौन्दर्य सम्बन्धि ज्ञान हुन आवश्यक रहेको बताउनुभयो । अन्य व्यक्तिका भोगाइलाई समाचारमा उतार्दा उतार्दै आफ्नो स्वहेरचाहमा ध्यान दिन नपाइएको उल्लेख गर्दै उहाँले अब आफ्नो लागि समय व्यवस्थापन गर्न जरुरी रहेकामा जोड दिनुभयो । संस्थाले आगामी दिनमा तनाव वयवस्थापन र सकारात्मक सोंच सम्बन्धि कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ छ ।
महासचिव अस्मिना पाण्डेले समयक्रम सँगै महिलाले आफ्नो जीवनशैली बदल्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार संस्थामा कार्यरत ३५ जना सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रम संयोजक एवं सञ्चारिका समूह रुपन्देहीका सचिव पूजा पन्थीले जानकारी दिनुभयो ।
