भैरहवा–कर्तव्यज्यान मुद्दामा केन्द्रीय कारागारमा रहेका रुपन्देहीका एकजनाको मृत्यु भएपछि विवाद सिर्जना भएको छ।
कर्तव्यज्यान मुद्दामा केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा विगत केही वर्षदेखि कैदभुक्तान गरिरहेका रुपन्देहीको भैरहवाका ६३ वर्षिय रामलखन जयसवालको गत शनिबार मृत्यु भएको हो।
दीर्घरोगी रहेका जयसवालको उपचारको क्रममा मृत्यु भएको केन्द्रीय कारागारले जनाएको छ। ‘कारागारमा नै उहाँको स्वास्थ्यमा समस्या देखिएको थियो, शनिबार राति पौने १० बजे अस्पताल लगेका थियौं, भर्ना गरेको केही मिनेटमै उहाँको मृत्यु भएको हो’–कारागार श्रोतले भनेको छ।
वीर अस्पताल काठमाडौमा उपचारकै क्रममा मृत्यु भएको जेल प्रशासनले जनाएपनि जयसवाल परिवारले हत्या भएको दाबी गरेको छ।
उनको कारागारमै मृत्यु भइसकेपछि अस्पताल ल्याइएको हो या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भन्ने विषयमा शंकास्पद भएको उनको परिवारको भनाई छ।
शनिबार राती साढे ११ बजे मृत्यु भएको खबर परिवारलाई पुगेको थियो। आइतबार छोरी र श्रीमतीसहितको परिवार काठमाडौं गएको थियो।
सामान्य रुघाखोकी रहेको जयसवालमा मृत्युपछि सोमबार कोरोना रिर्पोट पोजिटिभ आएको अस्पतालले उनीहरुलाई बताएको छ। ‘कोरोना पोजिटिभ देखिएपछि शव हामीलाई दिएको छैन, हामीलाई त हेर्न पनि पाइन्न भन्यो’–परिवारका एक सदस्यले लुम्बिनी टाइम्ससँग भने।
अस्पताल प्रशासनले जयसवाल कोरोना संक्रमित रहेकोले उनको शव परिवारलाई हेर्न नमिल्ने बताएको थियो। तर जयसवालकी कान्छी छोरी रश्मी जयसवालले लुकिछिपी शव भएको स्थानमा पुगेर शव हेरेपछि शरीरमा ठूलाठूला चोट र आँखाको भागमा गहिरो चोटहरु देखिएपछि मृत्यु नभई हत्या भएको दाबी गरेकी छन्। सत्य तथ्य छानबिन नभएसम्म शव उठाउन नपाइने उनको परिवारको माग छ।
ज्यान मुद्दाको सजाय काटिरहेका रुपन्देही सिद्धार्थनगर बैकरोडका जयसवाल असोज २२ गते जेलमुक्त हुने तय भएको थियो। ‘सजाय भुक्तानी गरिरहेका बुवा जेलबाट छुट्नुअगावै हत्या भएको छ, यसको निष्पक्ष छानविन हुनुपर्छ’–जयसवालकी छोरी रश्मी जयसवालले भनिन्–‘घाँटी, टाउको र अनुहारमा चोट लागेको छ, भित्री अंग पनि निकालिएको देखिन्छ, उहाँको सामान्य मृत्यु होइन मसँग शवको भिडियो नै छ।’ जयसवाल सिद्धार्थनगरका पूर्व वडा अध्यक्ष समेत रहेका थिए। उनी ज्यानमुद्दामा जेलसजाय भोगिरहेको रुपन्देही प्रहरीले जनाएको छ।