रुपन्देही । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न लुम्बिनी प्रदेश प्रहरीले विशेष सुरक्षा योजना तय गरेको छ ।
एक हजार ६ सय ५० मतदानस्थल रहेको लुम्बिनीमा सुरक्षा संवेदनशीतलाई ध्यानमा राखेर योजना बनाइएको प्रहरीले जनाएको छ ।
प्रदेशको जिल्लामा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी विश्लेषण र मूल्याङ्कनको आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान स्थललाई तीन किसिमबाट वर्गीकरण गरिएको हो ।
मतदान स्थलको भौतिक संरचना, सीमानाकासँगको निकटता, भौगोलिक अवस्था, प्रहरी कार्यालयदेखिको दूरी तथा सुरक्षा सतर्कता र विगतमा निर्वाचनमा हुने गरेको घटनालाई सूचकको रुपमा लिए जिल्ला सुरक्षा समितिले मतदान स्थलको वर्गीकरण गरेको हो । जिल्ला सुरक्षा समितिले दिएको विवरणका आधारमा प्रदेश प्रहरी कार्यालयले सुरक्षा योजना बनाएको हो ।
प्रदेशमा ४१३ मतदानस्थललाई अतिसंवेदनशील र ६९८ मतदानस्थललाई संवेदनशीलको सूचिमा राखिएको लुम्बिनी प्रदेश प्रहरी कायालयका प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिनुभयो ।
प्रदेशमा निर्वाचन विरोधी समूह समेत रहेकाले संवेदनशील देखिएका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको उहाँको भनाइ छ । प्रतिनिधि सभाका लागि २६ र प्रदेश सभाका लागि ५२ निर्वाचन क्षेत्र रहेको प्रदेशमा ६ जिल्ला भारतीय सिमानासँग जोडिएका छन् । यी क्षेत्रमा निर्वाचन विथोलिने कुनै गतिविधि नहोस भन्नका लागि प्रहरीले विशेष निगरानी गर्ने र सुरक्षा प्रदान गर्ने तयारी गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा १० हजार २ सय ४३ नेपाल प्रहरी परिचालन हुदैछन् । त्यस्तै १८ हजार ६ सय ११ जना म्यादी प्रहरी परिचालन गरी निर्वाचनलाई स्वच्छ र भयरहित बनाउने तयारी सुरक्षा निकायको छ ।
निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्ने गरी सबै जिल्लामा सुरक्षा सर्तकता अपनाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । निर्वाचनमा भाग नलिने समूह रहेको जिल्ला तथा अतिसंवेदनशील र संवेदनशी सूचीमा रहेका मतदानस्थलमा सुरक्षा सतर्कता अझै बढाइने उहाँको भनाइ छ ।
यता प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रुपन्देहीका ६५ मतदान स्थल र १८६ केन्द्रलाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशीलको सूचिमा राखिएको छ । प्रतिनिधिसभामा ५ वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा १० निर्वाचन रहेको रुपन्देहीमा २१३ मतदान स्थल र ७०७ केन्द्र रहेका छन् ।
मतदान स्थल मध्ये ५ वटा मतदान स्थल भने अस्थायी मतदान स्थल हुन् । जिल्ला कारागार रुपन्देही, २७ नं. गण हेड क्वाटर बेलहिया, रामनगर व्यारेक बुटवल, श्री नं. २ सैन्य तालिम केन्द्र सैनामैना र श्री सैनिक व्याटल स्कुल सालझण्डीलाई अस्थायी मतदान स्थलको रुपमा राखिएको छ ।
जिल्लामा रहेका मतदान स्थलहरु मध्ये ६६ मतदान स्थल र २२२ केन्द्रलाई संवेदनशील र ८२ मतदान स्थल र २९९ केन्द्रलाई सुरक्षाका दृष्टिकोणले समान्यको सूचिमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।