अघिल्लो अंकबाट क्रमश:
जीतगढी ईट, ढुङ्गा, माटो र सूर्खीको थुप्रो मात्र होइन । नेपालीहरुको रगत पसिनासँग वीरता, धीरता र राष्ट्रियता साटिएको र कम्पनी सरकारको साम्राज्यवादी पाइलाहरु थामिएको बिन्दू ‘जीतगढी’ हो । अझ खासै भन्नुपर्दा विश्व विजयको शंखनाद गर्ने कम्पनी सरकारले यस्तो पहाडी कन्दरामा पनि आफूलाई मेख मार्ने शक्ति रहेको महशुस गरेको विन्दु नै ‘जीतगढी’ हो ।
रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं. १ मा अवस्थित पुरातात्विक र ऐतिहासिक महत्वको गढीलाई ‘जीतआड (गढी)’ भनेर चिनिन्छ । यो गढी तिनाउ नदीको दायाँ किनारमा अवस्थित छ । उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाकी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले यस गढीलाई ‘जीतगढी’ भनिएको जनश्रुति रहेको छ । वि.सं. १९६३ मा पृथ्वीपाल सेनको पालामा सेनवंशको शासन अन्त्य भई पाल्पाराज्य नेपाल अधिराज्यमा विलय हुन गयोे ।
वि.सं. १८७१ को नेपाल र कम्पनी सरकारबीच भएको युद्धताका‘जीतगढी’को सम्बन्धमा स्पष्ट उल्लेख भएको पाइन्छ । उजिरसिंह थापापाल्पाको तैनाथवाला भएर आउनुभन्दा पहिले नै त्यहाँ गढी रहेको देखिन्छ । यस गढी सेनहरुको पालामा बनेको स्पष्ट हुन्छ ।
चुरे पर्वतको काखमा र तिनाउ खोलाकोपश्चिम किनारमा अवस्थित यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । केही इतिहासकारहरुको मुकुन्दसेन प्रथमले यो गढीको निर्माण गरेको भनाई रहेको छ । सेनहरुको मूल राजधानी पाल्पा हुनुका साथै पाल्पा प्रवेश गर्ने मूल बाटो भएकोले सुरक्षाको खातिर यो गढी को निर्माण भएको देखिन्छ । यसको साथै मध्यकालमा दक्षिणतिरबाट पाल्पा प्रवेश गर्ने यो एउटा प्रमुख मार्ग भएकोले सेनवंशकाशासकहरुले यस ठाउँमा गढी बनाएको हुन सक्छ । अहिले यो खण्डहरको रुपमा रहेको छ ।
पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्वाई २०५ फिट छ र चौडाई करिव ५५ फिट छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गईराखेको छ । गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा छ । भित्ताको मोटाई ८ फुट ४ इन्च छ । गढीको भित्री भाग खुल्ला छ । यो गढीको निर्माण ईटा र सुर्खीको प्रयोगबाट गरिएको छ । करीव बाह्रलाखदेखि पन्ध्रलाख ईटा प्रयोग भएका यस गढीको ईटाहरुका कोही १०’’ वर्गाकारको ईटा प्रयोग भएको छ भने कोही ईटाहरुको लम्बाई चौडाई क्रमशः ८.६’’, ६’’x२’’ रहेका छन् ।
गढीको निर्माणशैली प्राचीन गढी निर्माणशैलीमा आधारित देखिन्छ । गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरु बनाइएको छ भने गढीमा शत्रुले आक्रमण गरेको बेला प्रत्याक्रमण गर्न अर्धगोलाकार भएकोबुर्जा निर्माण गरिएको छ । वुर्जाहरुमा चरहरु रहेका छन् । यी चरहरु बन्दुक छिराई आक्रमण गर्न सजिलो हुने हिसाबले निर्माण गरिएको छ । गढीको वरिपरि गारोमा बन्दुक छिराई प्रहार गर्ने प्वालहरु पनिबनाइएको छ । ठाउँ ठाउँमा तोपको मोहरी सोभ्mयाउने ठाउँहरु रहेकाछन् ।
गढीको भित्तामा भएका प्वालहरु भित्रपट्टी सानो र बाहिरपट्टि ठूलो हुने गरि बनाइएका छन् । संभवत् बाहिरबाट गोली प्रहार गर्दा भित्र नछिर्ने हिसाबले यस्ता प्वालहरु डिजाइन गरिएको छ । किल्लाको भित्री भागमा किल्लाको गारो सँगसँगै सानो गारो निर्माण गरिएको छ । संभवत त्यो गारो उभिएर गढीका भित्ताहरुमा प्वालहरुमा बन्दुक राखी लड्न सजिलो हुने हिसाबले बनाइएको हो । गढीको भित्री भागमा जमिनको सतहभन्दा माथि उठेका पर्खालहरु उत्खनन पछि देखिएका छन् ।
वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढी संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा Trial Treach लिंदा पुरिएको पर्खालको पेटी भेटिएको थियो । यसका साथ साथै पेटीको दायाँ बायाँ सिंढीहरु पनि पाइएका छन् ।
यो गढीको प्राचीन स्वरुप कस्तो थियो यकिनका साथ भन्न सकिदैन । साँच्चै नै भन्नुपर्दाकर्णेल उजीरसिंह थापा कै समयमा यो गढीको स्वरुप कस्तो थियो अनुमान गर्न गाह्रो हुन्छ । संभवत उजीरसिंह थापाको समयकालसम्म यो गढी पूर्ण रुपमा थियो । तर वि.सं. १८७३ पछि क्रमशः यो गढीको महत्व र प्रयोग नभएकोले उपेक्षित हुँदै गयो । समयको अन्तरालसँगै मानव अतिक्रमण र प्रकृति प्रकोपलाई खेप्दैे जीतगढी हाल ५०% भाग मात्र बाँकी रहेको छ । गढीको धेरै जसो भाग नाश भइसकेको छ ।
आधुनिकीकरणको प्रत्यक्ष प्रभाव यस गढीको वरिपरिको परिवेशले देखिन्छ । मध्यकालीन नेपालको इतिहासमा महत्वपूर्ण स्थान राख्ने सेनवंशी राजाहरुको पालामा बनेको यो गढीले राज्यविस्तारको बेलामा समेत महत्वपूर्ण भूमिका खेलेको थियो । यसरी नेपालको इतिहासमा महत्वपूर्ण स्थान राख्दै आएको यस गढीले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको छ । अब यस गढीको गौरवमय इतिहासलाई जोगाउँदै नेपालीको स्पन्दनसँग साटिएको देशको रक्तसंचारको रुपमा रहेको राष्ट्रियताको जगेर्ना गर्नु पर्ने वेला आएको छ । अर्कोतिर यस वर्षलाई पर्यटन वर्षको रुपमा अगाडि सार्दै छौं जीतगढीलाई पर्यटनको कोशेढुङ्गाको रपमा स्थापित गर्नु पर्ने खाँचो छ ।
जीतगढी भित्रको राष्ट्रियता
प्रकृतिसँग पौठेजोरी खेल्दै सामूहिक उत्पादन, सामूहिक उपभोग र सामूहिक जीवनबाट मानिसहरुको समूह, झुण्ड हुँदै कविलाहरुमा विकास हुन गयो । यसरी विभिन्न समूह, झुण्ड र कविलाहरुमा मानिसहरु बाँडिए, मानिसलाई पहिले प्रकृतिसँग मात्र जुझ्नु पर्ने थियो भने विभिन्न समूह, झुण्ड र कविलाहरुको विकाससंगै विभिन्न समूह, झुण्ड र कविलाहरुका बीच खेती र शिकारको लागि जुझ्नु पर्ने परिस्थितिको सिर्जना भयो ।
यो स्थितिमा समूह, झुण्ड र कविलाको खाँचो मानिसलाई झनै हुन थाल्यो । एकअर्काको बीचमा ठूला ठूला झड्पहरु हुन थाले ।संघर्षमा समूह, झुण्ड र कविलाहरु नाश हुने र समूह, झुण्ड र कविलाहरुको क्षेत्र विस्तार हुने क्रम पनि जारी रह्यो । यसरी समूह, झुण्ड र कविलाबाट गण र राज्यको विकास हुँदै गयो । यही विकास क्रममा मानिसहरु दुई वर्गमा बाँडिन थाल्यो । स्ववर्ग र परवर्गमा ।
राज्यमा सामाजिक, धार्मिक र राजनीतिक सीमाहरु कोरिन थाले । त्यही सीमारेखा भित्र प्रकृति र मानिसका बीच भावनात्मक समरुपता र पारस्परिक सापेक्षताको फलस्वरुप राज्यको मौलिकता भित्र राष्ट्रियताको खोजी हुन थाल्यो । एकातिर राज्यभित्र राष्ट्रियताको महशुस र अर्कोतिर सामूहिक उत्पादन, सामूहिक उपभोग र सामूहिक जीवनलाई निर्देशित गर्नु प्रजातन्त्रको आवश्यकताको महशुस गर्न थालियो । जति जति मानिसले हरेक फाँटमा विकास गर्न थाल्यो तब राष्ट्रियता र प्रजातन्त्रको सीमा र व्याख्या फराकिलो हँुदै गयो ।
कहिले कहिले राष्ट्रियता र प्रजातन्त्रको व्याख्या आफ्नो अनूकुल पनि हुन थाल्यो भने समय समयमा त्यही व्याख्याले बहुसंख्यक निमुखाहरुलाई पाखा लगाउने काम पनि भयो । यही विषयलाई लिएर ठूला ठूला संघर्षहरु भएको विश्वमा थुप्रै उदाहरणहरु छन् । अहिले एक्काइसौं शताब्दीमा आएर पनि तेस्रो विश्वका थुप्रै मुलुकहरुमा राष्ट्रियता र प्रजातन्त्रको विषयलाई लिएर हुने व्याख्यागत समस्याहरु ज्यूँ का त्यूँ रहेका छन् । प्रश्न उठ्ने गरेको छ कि राष्ट्रलाई कस्तो खालको राष्ट्रियता र प्रजातन्त्रको खाँचो हो त ? हरेक फाँटमा पराश्रित भएर पहिरनले मात्र राष्ट्रियताको मजबुन खोज्नु र शिक्षा, स्वास्थ्य एवम् रोजगार जस्ता सामाजिक सुरक्षालाई नजरअन्दाज गर्दै बोल्न पाइने स्वतन्त्रता भित्र प्रजातन्त्र खोज्नु त्यो निरर्थक हुन जान्छ ।
राष्ट्रियता र प्रजातन्त्र बीच यस्तो अन्योन्याश्रित सम्वन्ध रहेको छ जसलाई अलग राखेर हेर्न सकिदैन तर अन्योन्याश्रित सम्बन्ध रहेको यी पक्षहरुलाई आज जुन अलग अलग राख्ने गरिएको भनौं फरक फरक गरी हेर्ने गरिएको छ त्यो त्यति सान्दर्भिक अहिले छैन । राष्ट्रियतालाई अलग राखेर प्रजातन्त्रलाई मात्र हेरिन्छ भने प्रजातन्त्र लङ्गडो हुन्छ भने प्रजातन्त्रलाई अलग राखेर राष्ट्रियता खोज्ने प्रयत्न गरिन्छ भने त्यो निरर्थक हुन्छ । राष्ट्रियतालाई मात्र महत्व दिएर राष्ट्रियताको अभावमा प्रजातन्त्रको विकास स्वतः हुन्छ भन्ने मान्यता राखियो भने त्यो एकाङ्गी हुन जान्छ । त्यो एकाङ्गीपनले जनभावनालाई एकीकृत गर्न हम्मे हम्मे पर्न जान्छ । यसै गरी प्रजातन्त्रको विकास भए राष्ट्रियता स्वतः स्फूर्त हुन्छ भन्ने मान्यता रह्यो भने त्यहाँ अधिनायकवादको जन्म हुने संभावना प्रशस्त रहन्छ । त्यसकारण यी दुई पाटोलाई अलग अलग गरी हेर्न सकिदैन ।
‘…Strange, -is it not_ that battles, martyrs, blood, even assassination, should so condense–perhaps only really lastingly condense–a Nationality राष्ट्रियताको सवालमा Geoffrey C. Ward ले सबैभन्दा पछिल्लो महत्वपूर्ण आयाम भनेको राष्ट्रियता हो भनेका छन् । राष्ट्रियताभन्दा ठूलो त्यस देशका जनताको अरु कुनै ठूलो हुँदैन । राष्ट्रियतामा राष्ट्रको पहिचान खामिएको हुन्छ । यसरी नै ‘तेनास्मान् ब्रह्मणस्पतेऽभि राष्ट्राय वर्तय ।’ अर्थात आफ्नो राष्ट्रिय चिनारी बिनाका जाति खोलाले छेउ लगाएका ढुंगामुढा समान हुन भनेर ऋग्वेदमा उल्लेखित छ । यसकारणले राष्ट्रियता बिना मानिसकोे पहिचान हुन सक्दैन । बेला बखतमा जब नेपालीहरुको वुजुद माथि, अस्मिता माथि खेलवाड हुन थाल्छ अनि नेपाली मनमा चिसिक्क पर्ने गर्छ अनि निकै गम्भीरताका साथ राष्ट्रियताको कुरा उठने गर्छ ।
विभिन्न कोणबाट राष्ट्रियताको व्याख्या हुने गर्छ र यस विषयमा बहस चल्न पनि पर्दछ । रोम्यान्टिक नेशन्यालिजम् होइन, पोलिटिकल नेशन्यालिजम्को खाँचो छ ।
अर्थवादमा ढुङ्गाको पनि सुन्दर डुङ्गा बन्न सक्दछ । सुन्दर बुट्टाहरु कुदिन सक्छ तर पानीमा तैरिन सक्दैन । अब जीतगढीको गौरवमय इतिहासलाई हृदयङ्गम गरी हामीले पूर्खाको रगत पसिनाले आर्जेको वीरता, धीरता र राष्ट्रियताको डोबमा टेकेर बृहत् राष्ट्रियताको जर्गेना गर्नु परेको छ । साथै गौरबमय इतिहासलाई नयाँ पुस्ताको पोल्टोमा सुम्पिनु पर्ने भएको छ ।
अघिल्लो भाग
सन्दर्भ पुस्तकहरु
- गोर्खाल्याण्ड दर्पण : पूर्वार्ध
- सम्झिएका कुराहरु
- यात्रा समुच्चय
- शाहकालीन ऐतिहासिक चिट्ठी पत्र संग्रह भाग १,२
- श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको जीवनी
- गढीहरुको प्रतिवेदन
- वीर बलभद्र
- हिन्दू राष्ट्र नेपाल
- नेपाल टिस्टादेखि सतलजसम्म
- शाही नेपाली सेनाको इतिहास
- नेपालको सैनिक इतिहास
- प्राचीन भारत– एक रुपरेखा
- देवभूमि भारत एवं आध्यात्मिक नेपाल– पहला भाग
- भारतीय संस्कृति के स्रोत
- भारत और विदेशो मे बौद्ध धर्म प्रसारक
- अठारहवी सदीके जमीदार
- युरोपका इतिहास
- हदीसे मीर
- भारतीय स्वतन्त्रता आन्दोलन एवम् संवैधानिक विकास
- Nepal Growth of Nation
- History of the DEHRA DUN Valley
- The GURKHAS
- Mustang A Lost Tibetan Kingdom
- The Rise of the House of Gorkha