आधा शताब्दी अघिको कुरा हो, मैले जान्दाको बखत तानसेनेली साहु महाजनहरु हिउँद लागेपछि व्यापारको सिलसिलामा बुटवल जाने गर्दथे । साहु महाजनहरु मात्र होइनन् आफ्नो सीपसँग मिहिनेत साट्ने सुचीकार, चर्मकार लगायत सुन चाँदीका गहना बनाउने स्वर्णकारहरु पनि कमाइ धमाइ गर्न बुटवलतिर लाग्ने गर्दथे । पुरेतहरु पनि आफ्ना जजमानहरु बुटवलतिर लागेपछि उनीहरु पनि बुटवलतिर नै लाग्ने गर्दथे । ‘दाइको लाहुर नौतुना (नौतनवा) सम्म’ भनेझै हिउँद लागेपछि सबैको गन्तव्य बुटवल हुने गर्दथ्यो । वार्षिक परीक्षा सम्पन्न भएपछि परीक्षाको नतिजा पनि नपर्खी बुबाका साथ परिवार सहित हामी बुटवल जाने गर्दथ्यौं । हाम्रो घर बुटवल बजारको भजनघर महल्लामा थियो । पुराना कागजपत्र अनुसार हाम्रा पुर्खाहरु सेनकालदेखि नै पाल्पामा रसिबसी आएको देखिन्छ (श्रेष्ठ, २०७४ः१२६) । गुठको वि.सं. १९१६ को ढड्डा अनुसार हाम्रा पिता पुर्खाहरु व्यापारको सिलसिलामा राणाकालभन्दा अघि काठमाडौं खाल्डोबाट आएर व्यापारको सिलसिलामा बुटवलमा जाने गर्दथे (अनुसूचि–१) । बुटवल जाने तरखर भएपछि बालसुलभ मन न हो मनमा अर्कै उत्साह जाग्ने गर्दथ्यो । बुटवल गएपछि साथीभाइसँग भेटघाट हनुका साथै वर्षदिनका अनुभव एक आपसमा साटासाट गर्ने पाइने र बुटवल बजारको त्यसताकाको रमझम मनमा तरलिन थाल्थ्यो ।
दशै तिहारलाई बिदा गरी सकेपछि मंसिर लाग्दै व्यापारको सिलसिलामा बुटवल जाने र गर्मी चढेपछि तानसेनतिर आउने क्रम चल्थ्यो । बुटवल गएपछि हाम्रो पढाइ नबिग्रियोस् भनी हजुरबुबाले केही महिनाको लागि भएपनि बुटवल हाई स्कूलमा भर्ना गरिदिनु हुन्थ्यो । साथै बुटवल बजारमा ‘मुन्सी सर’ भनेर चिनिने जटाशंकर श्रीवास्तवसँग पढने चाँजो पाँजो पनि मिलाइ दिनु हुन्थ्यो । चैत महिना लाग्दै जब सहस्ररश्मीले आफ्नो तप्तताभित्र उर्वीलाई गाँज्न थाल्थ्यो हाम्रो तानसेनतिर लाग्ने सुरसार हुन्थ्यो । तर बुबा बर्षात लाग्ने वेलासम्म व्यापारको सिलसिलामा बुटवलमा नै बस्ने गर्नुहुन्थ्यो । परिवारलाई तानसेन छोड्न कुनै साल बुबा र कुनै साल हजुरबुबा आउनु हुन्थ्यो । लिच्छवीकालमा ‘नेपालको तरवार’, ‘महिन कपडा’, ‘नेपालको सेतो चमर’, ‘नेपालको कस्तुरी’, ‘नेपाल कम्बल’, ‘नेपाली कागज’ आदि पहाडी जिनिसहरुको व्यापार उत्तर भारत, दक्षिण भारत, तिब्बेत र अरब देशहरुसम्म हुने गर्दथ्यो (रेग्मी, २०२६ः१४८,१५२) । यसको व्यापारिक मार्गहरुमध्ये कालीगण्डकीको तिरैतिर हिमालदेखि तराईको तलहट्टिसम्म छिचोलेको एन्सेन्ट साल्ट रोडले बुटवललाई छुने गथ्र्यो । राणाकालमा आएर बुटवल, एन्ट्री पट ट्रेडको रुपमा विकसित भयो (पाँडे, २०४४ः२३१) । घ्यू, जडिबुटी, राडीपाखी जस्ता पहाडका जिनिसहरु बिक्री गर्नका लागि बुटवलमा पहाडियाहरुको ओइरो लाग्ने गर्दथ्यो । पहाडियाहरुलाई चाहिने नुन, तेल, लत्ता कपडा, मरमसला जस्ता दैनिक उपभोग्य समानहरु लिएर पहाड लाग्ने व्यापारिक केन्द्र थियो । बुटवलको व्यापार खास गरेर हिउँदे व्यापार नै थियो र बुटवलको व्यापार पहाडियाहरुमा आश्रित थियो ।
हिउँद लागेपछि दुई चारपरिवारहरु मिलेर बुटवलतिर लाग्ने आइटेनरी बन्ने गर्दथ्यो । यसरी बुटवलतिर लाग्दा अर्कै रमाइलोको महसुस हुने गर्दथ्यो । घरको झ्याल ढोकाहरु डम्माडम्मी बन्द गरी नजिकका आफ्ना मानिसहरुलाई ‘लौ है ! घर हेरिदिनु होला’ भनी जिम्मा लगाइन्थ्यो । हिउँद लागेपछि लालुपाते फूलको जवानीले उर्वीलाई रक्त्याम्य पार्ने गथ्र्यो । परदेश लाग्दा साइत जुराइ हिड्ने चलन थियो । यात्रा गर्दा परेक र बारले ठूलो महत्व राख्थ्यो । परेक परेको दिन यात्रा गर्न हुदैन भन्ने धार्मिक र सामाजिक मान्यता थियो । परेक र बार छल्न् अधिल्लो दिनमा नै नजिकको पडाव (बास) मा पुग्ने गरी दिन निकालेर हिड्ने गरिन्थ्यो । गलामा लालुपातेको माला, हातमा फूस्रे केराको सगुन सहित दमाईले बजाउने बाँसुरीको मङ्गलध्वनिका साथ हाम्रो बुटवलतिरको यात्राको सुरु हुन्थ्यो । मङ्गलध्वनि बजाउँदै गएको दमाई काजीपौवासम्म पुगी केही दक्षिणा हातमा राखिदिएपछि फर्किने गर्थेे । दमाईलाई सगुनको जात भनी कत्तै साइत गर्नु पर्यो भने अघि लगाइ हिडने त्यसताकाको प्रचलन थियो । बुटवल जाने बाटोको ठाउँ ठाउँमा खान बस्नको लागि भट्टीहरु हुन्थे । अहिलेका होटेल जस्तै । भट्टी नभएको ठाउँमा अघच पारेर पानीको सुविधा भएको ठाउँमा यात्रुहरुलाई बास बस्ने धार्मिक मनहरुले पौवाहरु बनाइ दिएका हुन्थे । बास बस्ने पौवा बनाइदिनु र यात्रुहरुलाई पिउने पानीको व्यपस्था गरी दिनुलाई धर्मकार्य सम्झन्थे । बुटवल–तानसेन गर्दा कहिलेकाहीँ काजीपौवा, फेदीपौवामा बास बसेको सम्झना आउने गर्छ । पौवामा बास बस्दा हामी केटा केटीहरु यताउति लाग्लान् भनी हजुरबुबाले यो पौवामा डराउन दिने गर्छ भनी मनमा डर पैदा गरिदिनु हुन्थ्यो । वालसुलभ न हो, हजुरबुबाको कुरा पत्याउँथ्यौं । हामी हजुरबुबाको कुरालाई शिरोधार्य गरेर यताउति लाग्दैन थियौं । घरबाट निस्किएपछि काजीपौवा, फेदी हुँदै प्रभास क्षेत्रलाई देब्रे पार्दै हालको सिद्धार्थ राजमार्गको पारिपट्टि हुँदै भारकेसको डाँडोको घ्याचै घ्याच बाँसटारी पुगिन्थ्यो । बाँसटारीमा पुग्दा बासटारीको कुँवामा जसले एकपाथी जुम्रा खन्याउँछ, उसले त्यस ठाउँमा गढेको असंख्य सुनाचाँदी भेटाउँछ भन्ने जनश्रुति हजुरबुबाले सुनाउने गर्नु हुन्थ्यो ।
त्यसपछि नयाँपाटी हुँदै डुम्रे पुगेर डुम्रे खोलामाथि बनेको काठेपुल तरी मस्यामको उकालो लाग्ने गरिन्थ्यो । उकालो बाटोलाई मितेरी लाउँदै मस्याम हटिया पुगिन्थ्यो । नेवारहरुको बाकुलो बस्ति भएकोे मस्याममा नेवारी शैलीका घर लगायत मन्दिरहरु हुनुका साथै नेवारी संस्कृति पनि देख्न पाइन्थ्यो । मस्याम पुगेपछि सातसालको आन्दोलनमा मस्यामको देउरालीबाट तानसेनको गुरुज्यू बाजेको घर (हाल त्रिभुवन बहुमूखी क्याम्पस रहेको भवन) मा हेलियोग्राफबाट राणा प्रशासकले सूचना आदान प्रदान गरेको ठाउँ त्यहीँ हो भनी हजुरबुबाले मस्यामको देउरालीतिर देखाउनु हुन्थ्यो । वि.सं. २०२४ सालभन्दा पहिले सुनौली–पोखरा राजमार्ग खुलेकोे थिएन् । यातायातको साधन भनेको मानिस, घोडा खच्चड नै थिए । बाटो घोरेटो थियो । मानिसको दोहरो लर्को चल्दा कहीँ कहीँ बाटो काट्न छेउ लागेर हिडनु पर्ने हुन्थ्यो । निधारमा गोल ऐना, शिरमा चौरी गाईको चवर, रंग रंगको धजाले सिंगारिएको र गलामा घण्टको माला झुण्ड्याइएको कुरुप्प भारी बोकेका घोडा खच्चडको लामले अर्कै अनुभूति गराउँथ्यो । घोडा खच्चड हिड्दा घोडा खच्चडको गलामा झुण्ड्याइएको घण्टमालाको नादले पहिले नै छेउ लाग्न सतर्क गराउँथ्यो । मस्यामको हटिया पुगेर ओरालो लागेपछि मरेक पुगिन्थ्यो । मरेकमा श्री ३ जुद्धशमशेर स्वामी महाराज भई रिडीतिर आउँदा मरेकमा बास बस्नको लागि सानो दरबार बनाइएको थियो । जुन भग्नावस्थामा थियो (हाल त्यस स्थानमा विद्यालयको भवन रहेको छ) । त्यसपछि रानीबास, सिस्नेखोला हुँदै दोभान पुगिन्थ्यो । बाटो बाटोमा भट्टीको पेटीमा बसेर गन्धर्वले सारङ्गीको धुनमा लाहुरबाट आउने र जाने लाहुरेहरुको मन नै छुने गीत गाएर धुरु धुरु रुवाउने गर्दथ्यो । लाहुरेको मनको अन्तरकुन्तरमा उठेको बेदना हृदयसँग रगडिदै गला हुदै उरकोषमा अश्रु बनी जब छच्लिकिन्थ्यो, अश्रुलाई थाम्छुभन्दा भन्दै पनि थाम्न नसकि लाहुरेहरुको नयनबाट झरेको अश्रुले कपोललाई भिजाइ दिएको दृश्य अहिले जस्तो लाग्छ ।
दोभान पुगेपछि बुटवल पुग्न दुईवटा बाटो फाट्दथ्यो । एउटा खोलाको बाटो, अर्को डाँडाको बाटो । खोलाको बाटो अहिलेको सिद्धार्थ राजमार्गको बुटवल–दोभान खण्ड भएर बुटवल आउने जाने बाटो थियो भने अर्को दोभानको पुल तरी झिर्दिको उकालो उक्लिदै नुवाकोट हुँदै बुटवल आउने जाने बाटो थियो । खोलाको बाटो हिउँदको याममा मात्र केही चल्तिको बाटो भएता पनि वर्षातको वेला बलिया बाँङ्गाहरु जरुरी परेको बखतमात्र खोलाको बाटो हिड्ने गर्दथे । धेरै जसो परिवार सहित बालबच्चा लिएर बुटवल आउने जानेहरुको डाँडाको बाटो भएर नै बुटवल आउने जाने गर्दथे । नुवाकोटको डाँडाको बाटो परापूर्वदेखि चलि आएको मूलबाटो थियो । राणाकालसम्म पनि नुवाकोटको बाटो मुलबाटो कै रुपमा चल्तिमा थियोे । सुनौली–पोखरा राजमार्ग खुलेपछि नुवाकोटको बाटो इतिहासको पानामा समेटिन पुग्यो । हामी स–साना हुँदा हामीलाई डोकोमा बोकाएर बुटवल ल्याउने लैजाने गर्नु हुन्थ्यो । दोभानबाट नुवाकोट जान दोभान खोला तर्नु पर्दथ्यो । मूलबाटो भएकोले श्री ३ चन्द्रशम्शेरको पालामा कचलखोला माथि वि.सं. १९७० सालमा पुल हालिएको थियो (अनुसूचि–२) । सो कुरा पुलको मुखमा रहेको शिलालेखमा उत्र्कीण गरिएको छ । शिलालेख खिइएको र रंग रोगन पोतिएकोले पढ्न मुस्किल छ । ब्रजेश नाम गरेका बंगाली ओभरसियरको रेखदेखमा सो पुल निर्माण भएको थियो (अनुसूची ३) । पुल तरेर झिर्दी पुगपछि त्यहाँ मनीराजले बनाएको बेजोड काष्ठकला खामिएको तेलिया ईटले बनेकोे पौवाको भग्नावशेष अनि पौवाको परिसरमा बगैचा र बगैचामा लिची लगायत विभिन्न थरिका फलफूलका बोट देखिन्थे । बोटमा फलेका फलफूलले मुखै रसाउने गथ्र्यो । त्यहाँको पिउनेपानी पनि अति मिठो र चिसो थियो । बाटो लाग्दा अजङ्गको जारकाटे ढुङ्गाको जनश्रुति हजुबुबाले सुनाउनुु हुन्थ्यो । नुवाकोटको उकालो चढ्दा नै कहिले बुटवल पुगिएला र सँगी साथीहरुसँग भेट होला भन्ने मनमा कुरा खेल्ने थाल्थ्यो । उकालो काटेर नुवाकोटको भञ्ज्याङ्मा पुगेपछि बुटवल बजार केही भाग र पारिपट्टिको अहिलेको खस्यौली बजार छ्वाङ्तै देखिन्थ्यो । धेरै जसो नुवाकोटको भञ्ज्याङ्मा पुग्दा साँझ परिसकेको हुन्थ्यो । खस्यौलीतिर लालटेनको पिलिपिली बत्ति मात्र बलेको देखिन्थ्यो । देउराली पुगेपछि हालको पुरानो बुटवल बजारको तिनाउ खोलाको किनारमा रहेको सोठिमहल्ला र गढीटोल लगायत बुटवलका मुख्य महल्लाहरुको केही भागहरुमा पेट्रोमेक्स (मैनटोल) को झलमल्ल देखिन्थ्यो ।
बाल्यकालको स्मृतिपटलमा कोरिएका ती धुमिल अतीत सुनौली–पोखरा राजमार्ग हुँदै तानसेन बुटवल गर्दा अहिले पनि तरेलिने गर्छ । बाल्यकालमा मितेरी लगाएको नुवाकोट, नुवाकोटगढी, काठेगढीको भग्नावस्था, नुवाकोट भैरब, विष्णु पञ्चायन, आङ्गलो–नेपाल वारमा प्रयोग भएको तोप आदि तानसेन–बुटवल बसको यात्रा गर्दा कुहिरेभिरबाट पारिको नुवाकोटको डाँडालाई हेर्दै चित्त बुझाउनु पर्ने हुन्छ । तीनचारवर्ष अधि नुवाकोट विकास समितिको कार्यक्रममा समितिका अध्यक्ष सहृदयी मित्र माधवप्रसाद नेपाल (न्यू ईरा) ज्यूको निमन्त्रणामा नुवाकोटलाई धेरै वर्षपछि स्पर्श गर्ने मौका मिलेको थियो । त्यहाँको मनोरम प्राकृतिक छटा र मानव निर्मित दोस्रो प्रकृतिले मेरा धुमिल अतीतलाई चलचित्रको दृश्य झै स्मृतिपटलमा दोह¥याइ दिएको थियो । ती धुमिल अतीतलाई उनेर नुवाकोटगढी, नुवाकोट भैरब, विष्णु पञ्चायन लगायत नुवाकोटको इतिहास, कला र संस्कृतिलाई समेटेर पत्र पत्रिकाहरुमा कलमका मसी पोखेको थिएँ । सहृदयी मित्र माधवप्रसाद नेपाल ज्यू इतिहासमा रुचि राख्ने गर्नु हुन्छ । ती लेखहरुले वहाँलाई छोएछ क्यार ! नुवाकोट विकास समितिले नुवाकोटको विकास र पहिचानको लागि गर्दै आएको सत्कार्यलाई सेतुको रुपमा नुवाकोटको विषयमा श्वेत–श्याममा केही काम गर्नु पर्छ भन्ने मनमा सोच पैदा भएछ । यस विषयमा साथीहरुका बीच कुरा राख्नु भएछ । मिति वि.सं. २०७२ साल चैत्र ४ गतेका दिन बसेको समितिको बैठकमा वर्तमान अध्यक्ष माधवप्रसाद नेपालज्यूले ऐतिहासिक नुवाकोटको विषयमा पुस्तक प्रकाशन गर्दा आउँदो पुस्ताहरुलाई जानकारी हुने र यो राष्ट्रको नै पूँजी हुने कुरा अघि सार्नु भएछ । कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले माधवप्रसाद नेपालज्यूले राख्नु भएको कुरा राम्रो मान्नु भएछ । वि.सं. २०७२ साल चैत्र ४ गते बसेको समितिको बैठकले नुवाकोटलाई पर्यटकीय गन्तव्यको रुपमा पहिचान गर्ने उद्देश्य राखी प्रस्तावित पुस्तकको प्रकाशनको कार्य समिति आपैmले गर्ने र पुस्तक लेखनको लागि यस पुस्तकारलाई अनुरोध गर्ने निर्णय गरिएको रहेछ ।
माधवप्रसाद नेपालज्यूले समितिकोे निर्णय मसँग पस्कनु भयो । मित्रको आदरको नीरलाई मैले नाध्न सकिंन । मैले ‘हुन्छ’ भन्नु बाहेक अरु विकल्प थिएन् । त्यही ‘हुन्छ’ भन्ने शब्द नै यस पुस्तकको चयन हो । सहृदयी मित्र माधव नेपालज्यू र नुवाकोट विकास समिति, बुटवल, रुपन्देही नै यस पुस्तकको ब्रेन् चाईल्ड हो । त्यस बैठकले गरेको निर्णयले यस सत्कार्यको थालनी मात्र गरेको छैन् पाल्पा र बुटवलको साँचै भन्नु पर्दा पाँच नम्वर प्रदेश साथै समग्र नेपालको पर्यटन प्रवर्द्धनको कोशेढुङ्गा सावित हुने छ भन्ने मनमा लागेको छ । पुस्तक, पाल्पा नुवाकोट : The living Heritage बाटो बनाउँदा जसरी पहिले बक्स् कटिङ्ग र बुस् कटिङ्ग गर्ने गरिन्छ यही प्रारम्भिक रुप हो । राजमार्ग त्यसपछि मात्र बन्ने गर्दछ । कुनै कुरा कहिल्यै पूर्ण हुँदैन । इतिहास त झनै गहन कुरा हो । पूर्ण नहुनु स्वभाविक हो । त्यस पूर्णतालाई आउने नयाँ कलमसँग आशा लिएको छु ।
पुस्तकलाई यस रुपमा ल्याई पुर्याउनुमा लेखकको मात्रै मिहिनेत लागेको छ भन्नु एकांकी हुन्छ होला । कसैको प्रत्येक्ष र कसैको अप्रत्यक्ष सघाइले यस पुस्तकले यहाँसम्मको यात्रा तय गरेको छ । पुस्तक लेखनयात्रामा सामलको भूमिका निभाइ लेखकप्रति शुभभाव राख्नु हुन तीे सहृदयीहरुलाई यसबखत सम्झिएन भने वहाँहरुप्रति अन्याय नै हुने छ । सर्वप्रथमत: पुस्तकको पाण्डुलिपिलाई मिहिन रुपले अध्ययन गरी पुस्तकको रुपमा प्रकाशन गर्नेे माथबरी लिनु हुने नुवाकोट विकास समितिका अध्यक्ष माधवप्रसाद नेपालज्यू एवम् नुवाकोट विकास समिति, बुटवल परिवारलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु । नुवाकोट सम्बन्धित अभिलेखहरु उपलब्ध गरी यस पुस्तकको सौन्दर्यकरण गर्ने कार्यमा सघाउनु हुने आदरणीय सुशिलविक्रम थापाज्यू तथा चैतन्यराज देवकोटाज्यूलाई धन्यवाद दिन चाहान्छु । तिनाउ गाउँपालिका र गाउँपालिका सम्बन्धि जानकारीमूलक सामाग्रीहरु उपलब्ध गरी सघाउनु हुने सहृदयी मित्र तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ति मगरज्यू प्रति आभार व्यक्त गर्दछु । यसको साथै तिनाउ गाउँपालिकाको महत्वपूर्ण जानकारी तथा फोटोहरु उपलब्ध गरी दिनु हुने बलबहादुर गुरुङ्ज्यूलाई साधुवाद । नुवाकोटको विषयमा महत्वपूर्ण कागजपत्र, समितिको निर्णय एवम् आवश्यक फोटोहरु संकलन गर्ने कार्यमा सहृदयी मित्र माधवप्रसाद नेपालज्यूको सघाइ अविस्मरणीय रह्यो । नुवाकोटको फोटो संकलन गर्ने दर्मियानमा वहाँको सधाइ मात्र रहेन, बैशाख/जेष्ठको टन्टलापुर घामलाई पनि किन्चित नमानी आफ्नो व्यवसायलाई पनि एकछिन पन्छाएर यस पुस्तकका लेखकसँगै नुवाकोटमा गएर फोटो संकलनमा जुन अहम् योगदान दिनु भएको छ, कुन शब्दहरु पस्किएर वहाँलाई धन्यवादको कुटुरो फुकाऊँ ? हृदयदेखि धन्यवाद ! साथै यस पुस्तकलाई थप सुन्दर बनाउने कार्यमा आवश्यक फोटोहरु उपलब्ध गराई दिनु हुने उषा किरण के.सि. ज्यू तथा ऋचा कार्की सम्झिनु पर्ने पात्रहरु हुनु हुन्छ । धन्यवाद सहित आशीर्वाद । यस पुस्तकलाई थप उपयागी जानकारी दिनु हुने रणबहादुर थापा, गुप्तबहादुर थापा, भगवती मास्टर (भगवतीप्रसाद श्रेष्ठ), शम्भुमान सिमाङ्गैडालाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु । पुस्तकलाई सौन्दर्यकरण गर्ने क्रममा परिकलक फाँटमा सघाउने नृपेश श्रेष्ठ, निश्छल श्रेष्ठलाई धन्यवाद सहित आशीर्वाद । साथै सदा सारथि बनी लेखन यात्रामा मार्गनिर्देशन गरी रहनु हुने दिदी केशलक्ष्मी श्रेष्ठ एवम् रेखा कार्कीलाई सादर नमन गर्न चाहन्छु । इतिहास इतिहास मात्र होइन नी ! इतिहास लेखनमा जीवशास्त्र, वनस्पिति शास्त्र, रसायनशास्त्र र समाजशास्त्रसँग सम्वन्ध रहेको हुन्छ । मेरो लेखन यात्रामा यी विभिन्न फाँटहरुमा थप जानकारीको आवश्यकता पर्दथ्र्यो, त्यसबखत नानु सन्तोषी श्रेष्ठ, श्रद्धा श्रेष्ठ, निशान्त श्रेष्ठ, रक्षा श्रेष्ठहरु सघाइ रह्यो । यस सघाइप्रति हृदयदेखि आभार तथा आशीर्वाद । साथै परिकलकमा सघाउनु हुने सन्तोष खनाल, रुपेश राजभण्डारी र सुमित श्रेष्ठ धन्यवादका पात्र हुनु हुन्छ । धन्यवाद सहित हाशीर्वाद । बडो मिहिनेतका साथ पाण्डुलिपिलाई गहिरो अध्ययन गरी शुद्धाशुद्धिमा योगदान पुर्याउनुु हुने अंगुरकुमार दाहालप्रति आदर व्यक्त गर्न चाहन्छु । पुस्तकलाई यस रुपसम्म पुर्याउन आफ्नो मिहिनेतलाई निर्लोभ भई पोख्नु हुने आत्मिक मित्र श्रीधर खनाल, प्राप्ति छापाखाना, काठमाडौंलाई पुस्तक प्रकाशनको शुभघडीमा धन्यवाद दिन चाहन्छु । आकर्षक डिजाइन गरी दिनु हुने डिजाइनर धनबहादुर महर्जनज्यू धन्यवादको पात्र हुनुहुन्छ । अन्त्यमा त्यो अदृश्य पराशक्तिको वन्दना गर्दछु कि जसको प्रेरणा बिना कुनै पनि कार्य पूर्ण हुँदैन ।
(श्रेष्ठद्वारा लिखित ‘पाल्पा नुवाकोट –दि लिभिङ हेरिटेज’ नामक पूस्तकको लेखकीय)