पूर्व अर्थ तथा उपप्रधानमन्त्री विष्णु पौडेलमा राजनेताका गुणहरु मौजुद छन् । उनमा परिवर्तनको ट्रेन्ड बुझ्ने र तदनुसार आफूलाई अपडेट गर्ने लचकतापूर्ण कला छ । विशेषगरी पार्टीमा विपरीतहरु बीच एकता र संघर्षको वैज्ञानिक पद्धति राम्ररी बुझेका छन् । त्यस अनुसार पार्टी चलाउने कला छ । मृदु मुस्कान, सहयोगी भावना र अरुलाई आदर र कदर गर्ने बानीले उनको आकर्षणमा सबै पर्छन् । यही विलक्षण प्रतिभाले उनलाई सक्षम व्यक्तिको रुपमा उभ्याएको छ । अहिले पनि नेपाली जनतामा उनीप्रतिको लोकप्रियता र विश्वास घटेको छैन । उनी अर्थमन्त्रीमै रहेका भए अहिलेझै डामाडोल हुने थिएन ।
व्यक्तिमा दुई गुण हुन्छन् । पहिलो निर्वैयक्तिक गुण हो । दोस्रो वैयक्तिक गुण हो । जुन गुणले आफू र आफ्नो स्वार्थलाई के हो ? कति हो ? कहाँ हो भन्दैन, त्यो निर्वैक्तिक गुण हो । निर्वैयक्तिक (नन्—प्रश्नल) नेताले राज्य र कानुनलाई केन्द्रमा राखेर विचार पोख्छ । आफू र आफ्नो व्यक्तित्वलाई गौण बनाउँछ । विचारमा क्रियाकलायमा आफ्ना आवेगहरु पोख्दैन । यस विषयमा त विष्णु पौडेल निर्वैयक्तिक छन् भन्दा हुन्छ । व्यक्तिको चाहनालाई प्रमुखता नदिएर विधि व्यवस्थापनमा जोड दिने कला नै निर्वैयक्तिक कला हो । व्यक्तिको आवेग, कुन्ठा र रुचिलाई दबाएर विधिको व्यवस्थापनलाई प्रम्ुखता दिनु पौडेलको विशेषता हो । पौडेल विधिभित्र हराउन चाहन्छन् । त्यहीभित्रबाट मुलुकलाई ट्रयाकमा हिंडाउन चाहन्छन् ।
पौडेलमा अरु भन्दा अलि भिन्दै विशेषता छ । लामा लामा भाषण गर्न नचाहने जनताको मनोविज्ञान बुझ्ने,आफ्ना मतदाताप्रति सधै जिम्मेवार र जवाफदेही हुन्छन् । वास्तवमा नजान्नेहरु लामा भाषण गर्छन् । कमजोरीमा आत्मालोचना गर्छन् । जनतासँग संवाद गर्छन् ।
वास्तवमा जान्नेहरुले संश्लेषणात्मक जादूगरी क्षमताबाट मीतव्ययी रुपमा सुक्तिमय भाषण गर्छन् । नजान्नेहरुले लामा भाषण गर्छन् । विष्णुमा यो कला छ । उनको यो सामथ्र्यलाई विपक्षी दलले पनि प्रशंसा गर्छन् । विपक्षी दललाई गली गर्दैनन् । गालीको राजनीतिबाट टाढै छन् । उनले हरेक विषयलाई कारण—कार्य प्रभाव (कज अफ इफेक्ट) का आधारमा सोंच्छन् । के कारणले के भयो यस समस्याको निदान कसरी गर्ने भन्ने विषयमा गम्भीर भई हाल्छन् । पार्टीमा योगदान दिएका दक्ष कार्यकर्ताहरुलाई पार्टीको जिम्मेवारीमा विन्यास गरी अघि बढ्ने कला छ । उनमा भर्टिकल चिन्तन छैन । आडम्बर, चमकदमक देखिदैन । सरल छन् । विनम्र छन् । जिम्मेवारी पाउँदा त्यो जिम्मेवारी पूरा गर्न उनले दर्जनौ विशेषज्ञसँग विमर्श गरेर अघि बढ्छन् । कार्यकर्ताका विचारहरु सुन्छन् र तदनुसार आफूलाई सुधार्छन् । उनी आफू मात्र राम्रो भएर हुँदैन नेतृत्वले सबैलाई राम्रो बनाउनु पर्छ भन्छन् ।
धेरै नेताहरु सत्चरित्रबाट स्खलन भइरहेको वर्तमान अवस्थामा उनी भने बेदाग देखिन्छन् । उनमा वैयक्तिक आचरण पनि राम्रो छ । धेरै नेताहरु पारिवारिक उल्झनमा फसेका छन् । विवादमा तानिएका छन् । श्रीमतीलाई समानुपातिक सभासद बनाउन हात थापेका छैनन् । छोराछोरी सम्धी, बहिनी, ज्वाईं, सालासाली, भान्जाभान्जी कसैलाई पनि पहुँचका आधारमा नियुक्ति दिएका छैनन् । क्षमताको आधारमा जानेलाई उनले रोक्ने कुरा भएन । उनले राजनीतिक बेइमानी देखाएका पनि छैनन् । उनले निधार खुम्च्याउने, छलछाम गर्ने, तिग्डम गर्ने काम गरेका छैनन् । स्थायी गुट छैन । पूर्वाग्रह राख्दैनन् । जीवनशैलीलाई अलि पारदर्शी राख्छन् । आलोचकसँग पनि सहकार्य गरी सुधारका साथ अघि जाने शैली राम्रो छ । आलोचना सुन्नु र उसैसँग हिंड्नु उनको कला हो । म उनको राम्रो आलोचक हुँ तर अनन्य सहयोगी पनि हुँ । हाम्रो सम्बन्ध समालोचकीय छ । हामी विष्णु पौडेलबाट फाइदा लिनको लागि हेहे गर्दै दौराको फेर हल्लाउँदै कोट टक्टक्याउँदै आेंठ लप्लपाउँदै कहिल्यै पछि लागेका छैनौं ।
आज बुटवल मात्र हैन, रुपन्देहीको विशाल संरचनामा उनको योगदानको गाथा जोडिएको छ । अन्तरराष्ट्रिय एयरपोर्ट, बुटवल भैरहवा सडक, अन्तरराष्ट्रिय सभाहल, सिद्धबाबा सुरुङ्ग, तिनहुँ, दानव केरिडोर, बेथरी बेल्बास सडक, नारायणघाट बुटवल सडक खण्ड, तिनाउ सिङनेचर ब्रिज बुटवल गह्रुसिङगे सडक खण्ड जस्ता थुप्रै अयोजनाहरु केही पूरा भएका छन् । केही कार्यान्वयनमा आउँदैंछन् । केही दीर्घकालीन सोंचमा आधारित छन् । उनमा कल्पना गरी जनतामा प्रस्ताव गर्ने अनि त्यसको विषयमा निरन्तर लागि रहने विशेषता छ । कालीगण्डकी डाइभर्सनको प्रारम्भिक सर्भे भइसकेको छ । यस योजनाले तीन जिल्लाको जीवनलाई कायापलट बनाउन गरी गृहकार्य गरिरहेका छन् । बसाई सराईका कारण बुटवलदेखि भैरहवा बेलहियासम्म अबको बीस वर्षमा ४० लाख जनसँख्या हुन्छ । त्यसको लागि सिंचाई, बिजुली, पानीको प्रबन्धको लागि यो परियोजना आवश्यक छ । यो हाललाई हैन पन्ध्र बीस वर्षपछिको दीर्घकालीन योजना हो । त्यसैले यसलाई दीर्घकालीन योजनामा अगाडि सार्दैछन् । उनले पूर्वाधार संरचना निर्माणमा जनताको निगरानी र दबाब हुनु पर्छ भन्दै विचार राख्न थालेका छन् ।
विष्णु पौडेलले पार्टीमा सुधार चाहन्छन् । उनले आधारभूत जनतासँग संवादको थालनी गरे । त्यसको प्रभाव ग्रासरुटमा पनि प¥यो । गत निर्वाचनको पौडेलले मध्यम तहका कार्यकर्ताको साँघुरो घेरा तोडेर आम जनतासँग संवाद गर्न पुगे । उनले जनतासँग धेरै कुरा बुझे । गजब कुरा त विष्णु पौडेलले आफू एयरपोर्ट आउँदा दर्जनांै कार र सयौ मोटर साइकलको लाबालस्करमा ट्राफिक नियम तोड्दै खादा माला लाउँदै जयजयकार गर्दै हिंड्ने सामन्ती विकृत परम्परा घोषित रुपमै तोडिदिए । उनले उच्चसनमा बसेर राजशी सान देखाउने सामन्ती मन्च प्रणालीलाई सुधारेर जनताका अगाडि पलेटी कसेर आँखामा अँखा जुधाएर संवाद गरे । यो पटक राजा फलेपछि राजाझै बनिएछ भन्ने राम्रो बोध गरे । सच्याए अनि जनताजस्तै बन्न सिके । खादा माला घटाए । उनले आफू मात्र बोलेनन् सब जनता कार्यकर्तालाई बोल्न दिए । यस काममा उनले भोजप्रसाद श्रेष्ठ र लिला गिरीसँग राम्रो सहकार्य गरे । उनीहरुले पनि गज्जवले साथ दिए ।
उनले भने— संवाद आवश्यक छ । संवादले आपसी शंका हटाउँछ । अन्तरविरोध समाप्त पार्छ । सबै कुरा पारदर्शी हुन्छ । बिचमा खेल्ने मध्यस्थहरु लाखापाखा लाग्छन् । प्रतिपक्षहरुका सशक्त मुद्दाहरुका तागत घट्छ । जनतामा सत्यको निरुपण हुन्छ । त्यसैले ग्रासरुटमा पार्टीले संवादलाई महत्व दियो । संवाद जनतासँग जोडिने पुल हो । उनले लामो समयदेखिको मध्यस्थहरुको अपारदर्शी लेयर तोडेर आधारभूत तहमा गएर संवाद गर्नु उनको महत्वपूर्ण उपलब्धि थियो ।
विगत लामो समयदेखि पार्टीमा मध्यस्थसम्म पुग्ने तिनकै कुरा सुन्ने अनि तिनकै सल्लाह सुझावमा चल्ने, तिनकै सहयोगमा निर्वाचन जित्ने र तिनकै माग र मुद्दाको थन्कोमन्कोको लागि मात्र सोंच्ने बाहेक केही भएन । उनले पार्टी स्वार्थ समूहको झुण्ड बन्न थालेको बुझे । संवादविहीनताले पार्टीको नीति तथा कार्यक्रम आधारभूत वर्गमा पुग्न सकेन भन्ने राम्रो थाहा पाए । त्यसैले मानिसहरु निराश भएर निर्वाचनमा विकल्प खोज्न थालेका हुन् । त्यसैले पार्टीमा नेता कार्यकर्ता नेता जनता बीचमा हरदम संवाद हुनु जरुरी छ । जनताले के भन्छ भनेर उनीहरुलाई बोल्न नदिंदा परिणाम राम्रो आउँदैन । पार्टीले जनवादी केन्द्रीयता भन्दै बोल्न नदिंदा परिस्थिति बिग्रेको देखे । यो पटक उनले जनतासँग मनग्गे संवाद गरे । सुधारका लागि बोध गरे ।
यो पटक बुटवलमा कार्यकर्ताले विष्णु पौडेललाई व्यापारी, उद्यमीसँग हात नथाप, दलालसँग नमाग । निर्वाचन सुधारौं भन्दै हामीले हामी आफै पैसा उठाउँछौं । हामी आफै चुनाव प्रचार गर्छौं, हामी आफै जिताउँछौ भन्दै निर्वाचनमा होमिए । यो पटक निकै कम पैसामा निर्वाचन सम्पन्न भयो । केही चुनौतीका बाबजुद सफलता हात प¥यो । पैसा सहयोग गर्नेहरुलाई अलि हलौं भयो । तर सहयोग उठाउने मापदण्ड भने मिलेको थिएन ।
अब एजेन्डाबेस राजनीति गर्नुपर्छ । निर्वाचनमा पैसाको डोज बढाउँदै जाँदा लोकतान्त्रिक प्रणाली नै सन्चो नहुने गरी थला प¥यो । गुल्मी अर्घाखाँचीका कमरेडहरुले पैसाको खोलो बगाए । जित्न त जिते तर समाजको चरित्रलाई भत्काए । युवा मतदातालाई लोभी बनाए । रक्सी र मासुको खुवाएर चरित्र नै बिगारिदिए । आज कमरेडहरुलाई भुटानी बनाएर बेचेको ठूलो आरोप लागेको छ । यो सब निर्वाचनको समस्या हो । यसलाई तुरुन्त फेर्नुपर्छ । त्यो आरोप चूपचाप बनेर सहनु कत्तिको जायज थियो । जनताले के भन्लान् ?
पौडेलमा विगतदेखि खादुराम चरित्र थिएन । उनी अलि स्वभिमान थिए । अरुसँग हात थाप्ने, चन्दा र लेबीबाट बाँच्ने चलन अलि कम छ । कार्यकर्तालाई सामान्य काममा खर्चको बोझ बोकाउँदैनन् । आफै तिर्छन् । फित्तेजुका झै परनिर्भर भएर बाँचेका परजीवी खादूराम हैनन् । मलाई उनको त्यो चरित्र मन पर्छ । त्यो स्वभिमान चरित्र हो । उनले भूमिगत शैलीबाट २०४६ सालमा खुल्ला भए पछि तत्काल स्वभिमान शैली शुुरु गरिहालेका हुन् । त्यही अहिले पनि अरुको पैसामा सयर गर्ने ठालुहरु छन् । कार्यकतालाई काररुपी पाल्कीमा बोकाएर हिंडाल्छन् । एक पैसा निकाल्दैनन् । भाडा तिरिदिनु पर्छ । लोभीपापी छन् ।
अब पार्टीमा पुनरचना गर्नुपर्छ । शक्ति केन्द्रमा मुठ्याएर अपारदर्शी किसिमले उमेदवार छान्ने र अधिवेशनहरुलाई बढी औपचारिक बनाउने पद्धति भत्काउनु पर्छ । भीड जम्मा गर्ने र भाषण गर्ने प्रचलन हटाउनु पर्छ । समानुपातिक निर्वाचन र सुविधाका पदमा कुनै पनि नेताको परिवारको सदस्य राख्न मिल्दैन । उमेदवार पार्टी सदस्यबाट छान्ने योजना बनाउनु पर्छ । विष्णु पौडेल यहाँका दर्जनौं उमेदवारसँग प्रतिस्पर्धाबाट उमेदवार हुन हिम्मत गर्नु पर्छ । पार्टी कब्जा गरेर सधै माथिबाट सिफारिस लिएर पार्टीले लौरो उठाए पनि जिताउनु पर्छ भन्दै आउने कुरा अब एका देशको कथा हुन सक्छ । त्यसैले नयाँ पद्धति बनाउनु पर्छ ।
अब केन्द्रीकृत प्रकृतिको टाउकाले टेकेको पार्टीलाई सुल्ट्याएर खुट्टाले टेकाउनु पर्छ । विगत ४८ सालदेखि उनै अनुहार उनी बोली उनै वचन उनै चालढाल, सोचाइ र चिन्तन मतदाताले मन पारेका छैनन् । पहिलो पुस्ताले दोस्रो पुस्तालाई निराश बनाएको छ । २०४८ सालमा ३२ वर्षको युवा अहिलेले ६४ वर्षको पुग्यो । ढोका खुल्ने छेकछन्द छैन, झनझन बलियो बन्दैछ । त्यसैले अब आन्तरिक जनवाद लागू गर्नु पर्छ । हरेक ठाउँमा खुल्ला प्रवेश र प्रतिस्पर्धा गर्नुपर्छ । अब पार्टीले सदस्यता दिने हैन पार्टीको नीति तथा कार्यक्रम मन पारेकाहरुले पार्टी सदस्यता आफै लिने हो । सक्नेहरु पार्टीमा प्रतिस्पर्धाबाट स्थापित हुन्छन् । नसक्नेहरु सहयोगी भूमिकामा रहन्छन् । अब हिंजका कुरा कोट्याउँदै सुघ्दै बस्ने हैन, सक्षमहरु अगाडि आउने हो । हामीले हिंज मुलुकको लागि दिएका हौं । आफूलाई पाउँला भनेर हैन ।
खुल्ला प्रवेश दिने हो भने वैकल्पिक पार्टी बन्दैनन् । रविहरु पनि यी यही अटाउँथे । स्वर्णिम वाङलेहरु त्यही प्रतिस्पर्धाबाट उमेदवार बन्थे । केन्द्रले चाहेका मानिसलाई मात्र महत्व दिने अरुलाई प्रवेश नदिने अनि चित्त नबुझे प्रतिस्पर्धाको मैदानबाट बाहिर धकेलिदिएपछि पार्टी बन्दैन । एमालेले अब गम्भीर संवाद चलाउनु पर्छ । एमालेलाई पनि नसुधारियसम्म धरै छैन । यस विषयमा विष्णु पौडेल जस्ता परिवर्तनमा होमिन सक्ने एमाले नेताहरु अगाडि आउनु पर्छ । समयमा सुधार गरिएन भने पछि मतदाताले स्वाङ पारेको भन्न थाल्छ । पत्याउन्न । अन्नतः थला पर्नुपर्छ ।
अन्त्यमा विष्णु पौडेल फेरिदै छन् । उनी अपडेट हुँदैछन् । मुलुकमा राजनीतक दलहरुप्रतिको वितृष्णाको कारण खोज्दैछन् । उनले बदल्न चाहेको देखिन्छ । उनी अगाडि आउन् । परिवर्तनका लागि उनलाई साथ छ । उनको विचालाई सलाम छ । साथ छ । अस्तु