डबल बिसी शिक्षा विभागका सेवा निवृत उपसचिव हु्नुहुन्छ । मूल्य र मान्यताको लिकमा चल्ने सदाचारी बिसी सेवा निवृत जिन्दगीपछि पनि वर्तमानमा राजनीतिक परिशुद्धीकरण, सामाजिक, साँस्कृतिक साहित्यक अभियानमा निकै महत्व दिदैं आउनु भएको छ । जिल्लाबासी भएको कारण उहाँसँग म कतिपय काममा जोडिन्छु । उहाँ लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालका आजीवन सदस्य भएको नाताले पनि यस संस्थाप्रति उहाँको लगाव बढेको छ । एउटा प्राज्ञिक स्वभावको व्यक्तिको लागि यो निकै महत्वपूर्ण मञ्च पनि हो । हामी उहाँलाई स्वागत गर्छौं ।
हामीलाई अर्घाखाँची जिल्ला सदरमुकाममा जानुपर्ने भयो । म केही समयदेखि अस्वस्थ छु । अहिले मलाई उपयुक्त पथपरहेज, आवश्यक विश्राम र धैर्यताको खाँचो छ । दैनिक सातथरी औषधी सेवनका कारण शरीर निकै थकित र गलित छ । तर पनि आवश्यक कार्यक्रममा भाग लिनु पर्नेछ । स्वयं हिम लेकाली पनि पुरानो ब्रोङ्काइटिस रोगका कारण विरामी हुनुहुन्छ ।
हामी समवयका एउटै रनवनमा हुर्केका साथी हौं । उहाँलाई पत्नी वियोग मातृ वियोगको पीडा खप्नु प¥यो । मैले माता पिता दुबै गुमाएं । हामी दुबैको स्वभाव मिल्छ । उहाँको पीडामा म पुग्न सक्दा कता कता ममा अलि शारीरिक ताजापन स्फूरण भयो ।
यो वर्ष लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशबाट नेपालले वरिष्ठ कलाकार हिम लेकालीलाई लुम्बिनी प्रदेश कला रत्न सम्मान—२०८० ले सम्मान गरेको थियो । यही उपलक्ष्यमा उक्त सम्मान—पत्र प्रदान गर्न जिल्ला कार्य समितिले सानो तर औपचारिक कार्यक्रम राख्ने विचार राखेको हुनाले केन्द्रीय सल्लाहकार माधवराज चुँदाली समितिका अध्यक्ष विष्णु बस्याल, उपाध्यक्ष कमल पोखरेल, सदस्य सिएन बन्जाडे साथै नागरिक समाजका अगुवा सहयोगी बिसीले अभिनन्दनसहित सम्मान प्रदान बोलाउनु भयो । यस कार्यक्रममा डबल बिसीको तारतम्य, संयोजन र सल्लाह निकै राम्रो भयो । म डबल बिसी र मन्जु बिसीका साथ २० गते सन्धिखर्कतिर लागें ।
सन्धिखर्क निकै सुन्दर बजार छ । राज्य पुनरचनाले स्थानीय तहलाई बलियो र साधन सम्पन्न बनाएको छ । गाउँनगरपालिकाहरुमा यातायातको सुगमता बढेको छ । जिल्ला सदरमुकामको बजारी आयतन त्यति बढेको छैन । विकेन्द्रीकरणले गाउँगाउँमा सबै सेवाहरु पुगेका छन् । अहिले गाउँ र सहरको विभेद पुरै हटेको छ । सहरियाहरुले गाउँलेहरुलाई विगतको जस्तो पाखे भन्दै उपेक्षा गर्ने कलुष भावनाहरु छैनन् । गाउँ सहरमा समान रुपमा मानवीय सभ्यता मौलाएको छ । विकासमा सन्तुलन छ । सन्धिखर्कमा फोहर व्यवस्थापन, ढल निकास, पुलपुलेसा सबै ठीकठाक बन्दैछन् ।
जनप्रतिनिधिहरु निरन्तर लाग्नु भएको छ । बजार सुन्दर देखिन्छ । त्यही सुन्दर बजारको बिचमा लेकाली आर्ट ग्यालेरी विगत चालिस वर्षदेखि अनवरत चलेको छ । लेकालीका सयौं कलाहरु जिल्ला बाहिर भित्र यत्रतत्र पुगेका छन् । पछिल्लोपटक कला अलि व्यवसायिक पनि भयो । जसले कलाकारलाई जीवन जिउन सहज भयो । हिम लेकालीको जीवनमा पनि यसले हरित परिवर्तन ल्यायो ।
हामी बिहान ९ बजे सन्धिखर्क बजार पुग्यौं । हामीलाई चन्द्र खड्काको निबासमा जानु थियो । हामी सरासर स्वास्थ्यलाभको कामना गर्न राष्ट्रिय सभाका सभासद (२०७४—२०७७) चन्द्र खड्का उज्वलको निबासमा पुग्यौं । २०३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएका उहाँ शुरुमा नेकपा मसालमा हुनुहुन्थ्यो । पछि त्यो बादलबाट पानी आउँदैन भन्ने ठानेर २०४८ सालमा बाबुराम भट्टराई, टोपबहादुर रायमाझीसहित विद्रोह गरेर नेकपा एकता केन्द्रतिर लाग्नु भयो ।
२०५२ सालपछिको आँधीबेहेरीपूर्ण सशस्त्र क्रान्तिमा उहाँको सक्रिय र नेतृत्वदायी संलग्नता रह्यो । उहाँले अर्घाखाँची, लमही, पाल्पा, भालुवाङलगायतका हमलाहरुमा भाग लिनु भएको थियो । अर्घाखाँचीको सफल रेडमा उहाँ व्यवस्थापक हुनुहुन्थ्यो । उहाँ त्ये समयमा पार्टी सेक्रेटरीको भूमिकामा हुनुहुन्थ्यो । उहाँको स्वास्थ अवस्थाको जानकारी भयो । अहिले स्वास्थ्यमा धेरै सुधार रहेछ, खुसी लाग्यो । हामी चिया खाएर बिदाइका हात हल्लाउँदै कार्यक्रमतिर लाग्यौं ।
हामीले सन्धिखर्क पोमनाराण आचार्यको होटलमा खाना खायौं । त्यसपछि हामी सानो तर हार्दिक कार्यक्रमतिर लाग्यौ । हामी हिम लेकालीकै निवासमा पुग्यौं । पिताजी रणबहादुर जिसीको स्वास्थ्य अवस्था ठीकै रहेछ । बाबुहरु बाहिरै हुनुहुन्छ । गीता जिसी घरै हुनुहँुदों रहेछ । कार्यक्रम उहाँकै घरमा कार्यवाहक अध्यक्ष कमल पोखरेलको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रम गोपालप्रसाद भट्टराईले चलाउनु भयो । हाम्रो प्रमुख अतिथि केन्द्रीय सल्लाहकार प्रध्यापक माधवराज चुँदाली हुनु भयो । शिक्षा विभागका पूर्व उपसचिव डबल बिसी, सहयोगी बिसी, मुनाल महत, गोपाल भट्टराई, मन्जु जिसी, गीता जिसीको रोहवरमा कार्यक्रम सम्पन्न भयो । सबै सहभागीले स्वास्थ्यलाभको कामनाका साथै बधाई तथा शुभकामना दिनु भयो ।
प्रमुख अतिथिले सम्मान पत्र, अध्यक्षले पुष्प गुच्छा र डबल बिसीले उपहार दिनु भयो । संस्कृतिविद राजेन्द्रकुमार आचार्य र उत्तरकुमार पराजुलीको शुभकामना सन्देश बतायौं । लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष हरि पोख्रेल महासचिव अर्जुन शर, कोषाध्यक्ष लक्ष्मण ज्ञवाली, सदस्य तिलक लामिछाने युवा उद्यमी श्याम आचार्यले आफूहरु आउन नपाएकोमा उहाँलाई बधाई शुभकामना सन्देश पनि सुनायौ ।
हामी लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालको आफ्नै संस्थामा औपचारिक कार्यक्रमहरुमा प्रमुख अतिथि बस्दैनौं । सल्लाहकारहरु नै हाम्रा प्रमुख अतिथि हुने प्रचलन छ । अध्यक्ष मालिक हैन, प्रमुख सेवक पद हो । १२ जिल्लामा १२ जना सल्लाहकारहरु हुनुहुन्छ । प्राय ःउहाँहरु नै हाम्रो प्रमुख अतिथि हो । उहाँहरुको सल्लाहबाट नै धेरै काम भएको छ । यो हाम्रो आफ्नो मौलिक अभ्यास हो ।
हामीहरु बिचमा पोर्टफोलियोको समस्या छैन । यसका सबै सदस्यहरु समान हैसियत छ । हाम्रा कार्यक्रमहरुमा तलमाथिको आभास हुने गरी मन्च व्यवस्थापन गरिएको छैन, गर्नु हुँदैन । त्यसैले त यो संस्थामा भाइचारा बन्धुत्व निकै राम्रो छ । सबैतिर लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश हाइहाइ भएको छ । यो भौतिक साधन सम्पन्न संस्था हो । कपिलवस्तुको कपिलधाममा आफ्नै केन्द्रीय कार्यालय छ । त्यस कार्यालयमा एउटा पुस्तकालय चलेको छ । साहित्य तीर्थनामक १०८ कृतिशेष स्रष्टाहरुलाई मूर्तीकरण गर्ने योजना छ । हामी अहिले २२ औमा पुगेका छौं । यो दीर्घकालीन योजना हो । यस संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय हिमलाल ज्ञवाली हुनुहुन्छ । प्रदेशका संस्थापकहरुमा हिमलाल ज्ञवाली, पुरुषोत्तम खनाल, प्राज्ञ हरि तिमिल्सिना र साहित्यकार हरिराश शर्मा हुनुहुन्छ । उहाँहरुलाई हामीले यो वर्ष संस्थापक भनेर सम्मान ग¥यौं ।
हाम्रो कार्यक्रम १ बजे भ्याइयो । छोटो कार्यक्रम छोटा भाषण सबैको शुभकामनाको प्रत्युत्तरमा वरिष्ठ कलाकार हिम लेकालीले सबै आगन्तुकलाई धन्यवाद दिनु भयो । समयलाई ख्याल गर्दै हामीहरु २ बजे बुटवलतिर प्रस्थान ग¥यौं । सिमसिम पानी परेको थियो । धूलोमैलो थिएन । सडक त्यति नराम्रो छैन । हामी फर्कने क्रममा हामी सुपा देउराली मन्दिर पुग्यौं । सुपा देउराली आउँदा एकजना नरपानीकै महिला व्यापारी माथिबाट ढुङगा खसेर टाउकामा लागेर तत्काल मृत्युवरण गर्नु भएछ । प्रहरीहरु आइसकेका रहेछन् । चालीस वर्ष मुनिको आलो र उज्यालो मोहडा, रातो पोसाक, पहेला गहना, रगत लत्पत्तिएको मुख देख्दा आङ्ग जिरिङ्ग भयो । मनमनै भने शक्तिशाली देउताले पनि प्राङ्गणमा अन्तरनिहित शक्तिले आफ्ना दर्शनार्थी तथा सेवकहरुलाई बचाउन सकेनछन् । हामी भ्रममै बाँचेका छौं किजस्तो लाग्यो ।
सुपादेउरालीको सुरक्षाको विषयमा गम्भीर हुनु पर्छ । सुपा देउरालीमा अब तत्काल रक नेट र रक सेटको कार्यक्रम लैजानु पर्छ । त्यसपछि माथिबाट ढुङ्गाहरु बग्दैनन् । अहिले सुपा देउरालीे मन्दिरको हातामा सयौ व्यक्तिले पुष्प तथा पूजा सामग्रीको व्यवसाय गर्न पाएका छन् । थुप्रै होटलहरु छन् । मन्दिरको व्यवस्थापन पारदर्शी बनिरहेको छ । त्यसको आम्दानीको राम्रो लेखा राखिएको छ । त्यसबाट ३ वटा विद्यालयहरु चलेका छन् । यस मन्दिरको महत्व दिग् दिगान्त फैलदो छ । भरतीय पर्यटकहरु प्रशस्त मात्रामा आउने गर्छन् । सधै भीड लाग्छ । निकै सुन्दर ठाउँछ । त्यसलाई राज्यले अरु महत्व दिएर सडकलाई चौडा बनाएर सडक छेउँतिर ढुङ्गाले पनि क्षति गर्न नसक्ने बलिया सटरहरु बनाएर भाडामा दिनु पर्छ ताकि मानवीय क्षति नहोस् । त्यो विषयमा हामी सबै लाग्नु पर्छ ।
हामी त्यहाँबाट अगाडि बढ्यौं । गाडी एकनासले हुँइकिरह्यो । हामी एकआपसमा समसामयिक चर्चाहरु सुन्दै सुनाउँदै सिमसिमे पानीमा मधूर गीतको लयमा बडो आनन्दसाथ ७.३०मा घर आयौं । यात्रा अत्यन्त राम्रो भयो । कार्यक्रममा प्रेरित गर्ने साधन श्रोतको व्यस्थापन गर्ने आउने जाने सबालमा डबल बिसी सरलाई हार्दिक धन्यवाद ।