लुम्बिनी बौद्ध विश्वविद्यालय खासगरी रुपन्देहीमा देवदह र बुटवलमा सिटी कलेजको प्राविधिक तथा व्यवसायिक क्याम्पसहरु खोलेर विश्व विद्यालयहरुको प्रतिस्पर्धामा खरो उत्रिएको छ ।
अहिले त्रिभुवन विश्व विद्यालयपछिको गौरवशाली संस्थाको रुपमा अन्तर्राष्ट्रिय पहिचान बनाएको छ । अहिले लुम्बिनी बौद्ध विश्वविद्यालय भौतिक साधनले सम्पन्न बनिरहेको छ । बौद्ध विश्वविद्यालयले अहिले बुद्ध दर्शनको अतिरिक्त मेनेन्जमेन्ट, सोसलसाइन्स, कानुन, पर्यटन विषयमा मास्टर्स र विद्यावारिधि तहसम्म कक्षा सञ्चालन गरिरहेको छ । त्यसबाहेक इन्जिनियरिङ कलेज, आइटी कलेजको पनि अवधारणा अगाडि आएको छ ।
बदलिंदो रुपमा आफूलाई समायोजन गर्न नसक्ने विश्वविद्यालयहरु प्रतिस्पर्धामा खरो उत्तन सक्दैनन् । महेन्द्र संस्कृत विश्वविद्यालयले आफूलाई विशुद्ध संस्कृत विश्वविद्यालयको रुपमा मात्र रहन खोज्दा जति प्रभावकारी हुनु पर्ने थियो, त्यति प्रभावकारी हुन सकेन । तर बौद्ध विश्वविद्यालयले बदलिदो जमाना अनुसार आफूलाई अपडेट गर्न सक्यौं । विदेशबाट जनशक्ति ल्याएर भए पनि बौद्ध विश्वविद्यालय सञ्चालनमा राम्रो काम गरेको छ । यसले उसलाई स्थापित गरेको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो परिकल्पनाकार विष्णुप्रसाद पौडेल हुन् । उनले २०५१ सालतिर लुम्बिनीका प्रतिनिधिसभाका साँसदहरुसँग पहिले पटक लुम्बिनीको विकास रणनीतिमध्ये एउटा योजना लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव राखेका थिए । वास्तवमा विचारहरु बीउ हुन् । तिनीहरुलाई समाजमा छर्नुपर्छ । अनुकूलतामा ती बीउहरु उम्रन्छन् भनेझै आज लुम्बिनी बौद्ध विश्वविद्यालय उम्रेको मात्र छैन, यसले पखेटा हालेर विश्व विद्यालयको पहिचानलाई अन्तरराष्ट्रिय तहसम्म पु¥याएको छ । अन्नतः यसको संस्थागत संरचना बन्न र विश्व विद्यालय सञ्चालन गर्न २०६१ सालदेखि शुरु भयो । २०७० सालदेखि यसले पूरै संस्थागत रुप लियो । सबै तहको पढाइ हुन शरु भयो । अहिले बाँकी विश्वले नेपालको बौद्ध विश्वविद्यालयलाई चिन्छन् । त्यति मात्र हैन विदेशबाट पढ्न आउन थालेका छन् । विश्वका ३३ वटा विश्व विद्यालयसँग सम्बन्धन गाँसिएको छ । मुलुकका सबै विश्व विद्यालयसँग अन्तरसम्बन्धित भएको छ । मुलुकभित्रका कैयौ जिल्लाहरुबाट विद्यार्थीह्ररुको आकर्षण बढेको छ । सातै प्रदेशमा शाखा खोल्ने विषयमा योजना बनिरहेको छ । हाम्रो सपना पूरा भएको छ । यसको व्यवस्थित डिपिआर बनिसकेको छ ।
बुटवलमा पर्यटन र कानुन विषयमा अध्ययन भइरहेको छ । अहिले यस सिटी कलेजमा ५ सय ज्यादा विद्यार्थीहरु पढिरहेका छन् । ६ बिगाहा जमिनको क्षेत्रफलमा ५ करोड ६१ लाखको लागतमा शानदार भवन बनेको छ । खासगरी बुटजल १३ र १२ तिर अहिले शैक्षिक हब बनिरहेको छ । यो अवसरको लागि यहाँका केही सामाजिक अभियन्ताहरुको योगदान ठूलो छ । यो सिटी कलेजको लागि नयाँगाउँ माध्यमिक विद्यालय ऋणी छ ।
मैले लक्ष्मण पोखरेलबाट उद्घाटनको सूचना पाएं । डिआर घिमिरे, पुरुषोत्तम बस्याल, बलबहादुर पाण्डे, दामोदर घिमिरेले सूचना दिनु भएको थियो । आफ्नै वडाको शैक्षिक संस्था त्यो पनि निकै महत्वका साथ बनिरहेको छ । आफ्नै दाजुको छोरा भतिजा तथा छात्र डा. तिलक आचार्य लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्टार छन् । त्यसैले त्यहाँ गएर त्यसको प्रवद्र्धनमा केही न केही त गर्नु पर्छ भन्ने लाग्यो । विगतदेखि हामीले परोक्ष सहयोग गरिहेका थियौं ।
हामी पिताम्बर भण्डारी र म पुग्यौं । कार्यक्रम शुरु भएको थियो । क्याम्पस प्रमुख, प्राध्यापकहरु, कर्मचारीहरु विद्यार्थीहरु निकै मिहिनेतका साथ लाग्नु भएको थियो । प्रमुख अतिथि माननीय विष्णुप्रसाद पौडेलको आगमन भएको थियो । साथमा संविधान सभाका सभासद नेत्र पन्थी, प्रदेश सभाका पूर्व स्वास्थ्य मन्त्री माननीय भोजप्रसाद श्रेष्ठ, पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालको उपस्थिति थियो । सयौं सामाजिक अगुवाहरु आएका थिए ।
कार्यक्रम डा.तिलक आचार्यको अध्यक्षतामा भएको थियो भने सञ्चालक सिटी कलेजका क्याम्पस प्रमुख फणीन्द्र न्यौपानेले गरेका थिए । कार्यक्रममा कार्यवाहक उपकुलपति तथा रजिष्टार डा.तिलक आचार्यले नव निर्मित भवनको उद्घाटनको क्रममा स्वागत गर्दै मौखिक प्रतिवेदन प्रस्तुत गरे । केही वर्ष पहिला तिलक आचार्यलाई प्राज्ञिक भन्दा पनि अलि राजनीतिक पाराका, थोरै बोल्ने, मिठो नबोल्ने पात्रको रुपमा चित्रण गर्थे । त्यो समयमा उनलाई विष्णु पौडेलसँग जोडेर कुरा काट्थे । पहुँचका आधारमा पुगेको भन्दै अयोग्यताको बिल्ला भिराउँथे र ओंठ लेब्रयाउँथे । तर आजको भाषणमा भने भरपूर प्राज्ञिकता झल्किएको थियो । संयक बोधीको आदर्श पक्रेर बोलेका थिए । बौद्ध दर्शन र संस्कृतिको आधारभूत मूल्यहरुसँग मेल खाएको थियो । पत्याउने खालको थियो । उनको बौद्धिक क्षमता धेरै माथि उठेछ । धेरैले भने—“उनले उपकुलपतिको भार सहजै बहन गर्न सक्छन् ।” विगतदेखि विष्णु पौडेलले उनको विश्वसनीय आधार पाए । कार्यान्वयन राम्रो भयो । समाजले उनको भाषणमा ताली हान्यो र भरोसा ग¥यो । धन्यवाद तिलक भन्यो । असाध्य मिहिनेत गरेर बौद्ध विश्वविद्यालयलाई यहाँसम्म ल्याउने उनको योगदानको मुरीमुरी प्रशंसा गरे । विश्वविद्यालयको चौतर्फी प्रगतिको लागि गरिएका उनका प्रयासहरुले राम्रो इतिहास बनाएको छ ।
उनमा विस्तारै योदानको कदर गर्ने पाकोपन पनि देखियो । पक्ष र विपक्ष विभाजित मनस्थिति, मन परेकोलाई क्लिक गरी म्याक्सिमाइज गर्ने मन नपरेको व्यक्तिलाई मिनिमाइज गर्ने प्रचलनको उनी विरोध गर्न सक्दैनथे । तर बुद्धत्व प्राप्तिपछि उनको मनस्थितिमा परिवर्तन आयो । उनी समतलीय बन्दै गए । शिक्षाको उद्देश्य व्यवहारमा परिवर्तन गराउनु हो । उनी परिवर्तन भएका छन् । उनले नेपाली काङ्ग्रेसका स्थानीय नेता पुरुषोत्तम बस्यालको योगदानको मुक्ति कण्ठले प्रशंसा गरे ।
उनले उता नयाँगाउँ माविका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईको उदारमनको चर्चा गरे । पूर्व सामाजिक विकास मन्त्रालयका मन्त्री सुदर्शन बरालको योगदान र उनले प्रदेश सरकारबाट खेलेको भूमिका, भोजप्रसाद श्रेष्ठको निष्ठापूर्ण योगदान र सहजीकरण, विष्णु पौडेलको अगुवाईबारे एक एक गरी बताए ।
यसमा कुनै पूर्वाग्रह राखेनन् । पूर्वाग्रह समाज अल्झाउने बल्झाउने महारोग हो । त्यसले समाजलाई आक्रान्त बनाएको छ । त्यसले कहीं पनि अगाडि बढ्न दिदैन । वास्तवमा विकास निर्माणमा सहकार्य हुनुपर्छ । सहकार्यले मात्र मुलुकको सर्वाङ्गीण विकास सम्भव छ र लक्षित दिशामा पुग्न सकिन्छ । यो सिटी कलेजको विषयमा प्रछन्न अवस्थामा रहेर सहजीकरण र समन्वय गरेका वरिष्ठ पत्रकार डिआर घिमिरेको योगदान धेरै ठूलो छ । यसलाई भुल्नु हुुँदैन । त्यसरी नै वडा नम्बर १३ र १२ का जनप्रतिनिधिहरु धन्य छन् । कार्यक्रमा केही समाजिक अभियान्ताहरुको नाम लिइएको थियो ।
बौद्ध शिक्षाले नयाँ एट्टीच्यूडमा निर्माणमा प्रभाव पारिरहेको देखिन्छ । बौद्ध विश्वविद्यालयबाट उत्पादन भएको जनशक्ति अरुको तुलनामा राम्रो बन्दैछ । अष्टाङ्गिक मार्ग, चार आर्यसत्य र पञ्चशीलले खारिएका अब्बल विद्यार्थीको उत्पादन हुन्छ । बौद्ध विश्वविद्यालयमा पढाउँदा विद्यार्थीहरु असल भएको कुरा अभिभावकहरुले बताइरहेका छन् । अध्यनरत विद्यार्थीहरु सामाजिक भएका छन् । पूर्खाप्रति गर्व गर्छन् । छिमेकीलाई सम्मान गर्छन् । विभेदलाई घृणा गर्छन् । मिठो बोल्छन् । विनयशील छन् । छाडा अश्लील छैनन् । संयम छन् । आवेगी छैनन् । मातापिताहरुको लागि धेरै सहज भएको छ । लागू औषधको कुलतमा लागेको एउटा पनि दृष्टान्त छैन । यो हो नैतिक शिक्षा । यो बौद्ध विश्वद्यिालयबाट प्राप्त हुन थालेको छ । आशा छ, समाज राम्रो हुनेछ । आँशिक रुपमा रहेका समस्याहरु हट्दै फाट्दै जानेछन् ।
बुद्धले भन्थे—उच्चासनले मानिसलाई अहंकारी बनाउँछ । उनलाई उच्चासनमा देखाइदैन । उनी समतलीय देखिन्छन् । अब हाम्रो समाजको उनको चरित्रको अनुपालन हुन थालेको छ । समाजवादमा जान समाजवादी बाटो हिंड्नु पर्छ । बुद्धको बाटो हिंडे समाजवादी समाजमा पुगिन्छ ।
सिटी कलेजको उद्घाटन समारोहमा राजा रैती परम्परा हट्यो । त्यहाँ बुद्ध देखिए । सग्ला सग्ला अग्ला अग्लालाई छानेर खादा, मालासहित मन्चमा राखेर स्तुति र भजन गाउने सामन्ती प्रचलन हट्यो । वास्तवमा सैद्धान्तिक रुपमा भन्ने हो भने पनि विश्व ब्रम्हाण्ड समतलीय छ । सबै ताराग्रहहरु सौर्यमण्डलजस्तै छन् । तलमाथि छैनन् । देख्दा भूगोल तलमाथि हुन्छ । वस्तु ठूलो सानो हुन्छ तर व्यक्तिलाई तलमाथि र ठूलो सानो भनेर विभेद र हेला गर्नु हुँदैन । यो सामन्ती प्रथाको अन्त्यको साहस हाम्रा जनप्रतिनिधिबाट भएको छ । यसमा क्याम्पस प्रमुख र रजिष्टारको सकारात्मक र रचनात्मक भूमिका देखियो । योग्यताको आयतन दक्षता र सीप फरक फरक छ । उत्पादकत्व क्षमता फरक फरक छ । काम अनुसारको माम दक्षता अनुसारको दाम पाउँछ । योग्यता र विज्ञताको छनोट हुन्छ । फरक फरक जिम्मेवारी र जवाफदेहीपन छ । कुण्ड कुण्ड पानी मुण्ढ मुण्ढ बुद्धि भनेझै सबैको दिमागमा केही न केही हुन्छ । विषयगत विभिन्नता मात्र हो । त्यसैले सबै सम्मानित छन् । सबै जानेका छन् । यो कुरा बुद्धले २६ सय वर्ष पहिला बुझेका थिए । हामीले सामन्तवादको अन्त्य र समाजवादको अभ्याससँगै बुझ्दैछौं । तर अहिले पनि राजावादीहरु यो संस्कृतिसँग सहमत छैनन् । नत माओवादीहरुले यसको प्रयोग गर्न चाहेको देखिन्छ ।
सिटी कलेजको त्यो दिन कार्यक्रममा भने तल र माथि थिएन । कार्यक्रम समतलीय भयो । बुद्धले उच्चासनले मानिसलाई अहंकारी बनाउँछ भन्ने मर्मको प्रयोग भयो । यो साँस्कृतिक रुपान्तरणमा आयोजकले खेलेको भूमिका निकै प्रशंसा गर्न लायकको छ । डा. तिलक आचार्य, फणीन्द्र न्यौपाने, क्याम्पसका उपप्राध्यापक बद्रीप्रसाद शर्मा गौतम, मोहनलाल आचार्य, बलबहादुर पाण्डे, मेघनाथ खनाल, दामोदर घिमिरे, दयाराम भण्डारी, शान्ता पन्त, भोगेन्द्र यादव, डा. दिपक आचार्यका सार्थक प्रयाश र असल बौद्ध संस्कार ग्रहण गरेकोमा धन्यवाद दिन चाहन्छु ।
क्याम्पस प्रमुख कलेजको मिही हो । यो मिही दृढताप्रर्वक उभिनु पर्छ । संकटको बेलामा दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ । पूर्ण रुपमा जवाफदेही र जिम्मेवार हुनु पर्छ । प्रशंसा लिने तर गल्तीभरि अरुको टाउकोमा फाल्दै भाग्ने हैन । यो पटक विद्यार्थी आन्दोलनले सिकायो । विद्यार्थी आन्दोलन सही थियो । सामयिक सुधार हुनु पर्छ । तर सिटी क्याम्पसको आरम्भमै प्रतिष्ठासँग असर पुग्ने गरी सडकमा आउने वातावरण बनाउन हुँदैनथ्यो । यसमा हामी अभिभावकको गुनासो छ । फेरि यस्तो नहोस् । यसको नैतिक जिम्मेवारी क्याम्पस प्रमुखले लिनु पर्छ । म थिइन कुन्नि के भएछ भन्दै समाजमा गैर जिम्मेवार अभिव्यक्ति दिनु हुँदैन । समस्या परे हाम्रो आवश्यक छ । यो पटक डा बालकृष्ण चापागाँई, माधव पौडेल, हरि ज्ञवाली, हरि अर्याल, गणेश घमिरे, हुमराज भुसाललगायतको बैेद्धिक वर्ग तरङगित भयो । हामीसँग निरन्तर सम्पर्कमा रहेर के सहयोग गर्न सकिन्छ भन्दै चिन्ता लिइरह्यो । समाजमा अब राजनीतिक भन्दा शैक्षक सुधारमा विद्यार्थीको योगदान खोजेको पाइयो ।
माथिकालाई उधूम चाकडी गर्ने तलकालाई उपहास गर्ने सामन्ती संस्कृति हटाउनु पर्छ । यो हामीले सामन्तवादको गर्भभित्र सालनालबाटै प्राप्त गरेको पुर्वजन्मको संस्कार हो । पुनर्जन्म भनेको छोराछोरीको जन्म हो । आनुवंशिक गुणहरु नै पूर्व जन्मका संस्कारहरु हुन् । भौतिक शरीरको पुनर्जन्म हुँदैन । त्यो पञ्चतत्वमा मिल्छ । त्यो मरणशील छ । संस्कारहरु प्रजनन् प्रक्रियाका माध्यमबाट नयाँ मनको पुनर्जन्म हुन्छ । ती शृङखलाबद्ध गुणहरु जन्मजात रुपमा नयाँ नयाँ पिंढीमा थपिदै र सर्दै जान्छन् । बाबा आमाबाट तेइस तेइस जोडी क्रोमोजम लिएर जन्मेका बच्चाहरुमा स्वाभाविकै रुपमा आएको यो संस्कारले प्रभाव पार्छ । सायद त्यही निरन्तरता नै आत्मा हो । सामन्ती समाजले सामन्तवादी संस्कार उत्पादन गर्छ । त्यस्तै संस्कारवाला बच्चाबच्ची जन्माउँछ । उनीहरुको दिमागमा जन्मजात सामन्ती संस्कार डाउनलोड भएको हुन्छ । त्यसलाई बदलेर युगान्तर ल्याउन औद्योगिक प्रतिस्पर्धात्मक नागरिक बनाउन ठूलो कोशिस चाहिन्छ ।
हामीले समाज बदलौं । पुराना कपडा फालौं पुरानो दिमाग धोऊँ र नयाँ संसारमा जाऔं । नयाँ ज्ञान, चेतना प्राप्ति र त्यसमा अभ्यास गरेमा आनुवंशिक रुपमै हाम्रा प्रवृत्तिहरु बदल्न, थपिन र परिवर्तन हुन सक्छन् । यसको लागि सामन्ती अधिरचना हटाउनु पर्छ । राजाकै शैली अपनाएर जनतामा आउँदा जनताहरुमा निकै वितृष्णा बढेको छ । यो शैली सामन्ती शैली हो । यो शैली हटाउनु पर्छ । अहिले पूर्वराजा जनतासँग हात जोडिरेहका छन् निर्वाचित भनिएका राजाहरु नमस्कार गर्दा हातसम्म उठाउन धौधौ मान्छन् । यो विडम्बना हो । अहिलेका युवाहरुमा नेताहरुलाई भन्दा राजाको क्रेज बढेकोमा दङ्क परेका छन् । पूर्वराजाप्रति सडकमा मोह बढेको छ ।
अघोर गर्नेहरु अघोरी हुन् । हाइरकर्कीमा पारङ्गत अघोरीले समाजलाई वर्ग हेरी, तँ तिमी, तपाई, हजुर बक्सियोस भन्छन् । माथि र तल अलग अलग बनाएर राजा र रैतीको रुप दिन्छ । आज भने फरक भयो । हामीहरु हामीले माया गरेर भोट दिएका प्रतिनिधिहरुसँग र विशिष्ट विद्वानहरुसँग सँगै बस्न पाएर खुसीले गदगद भएका छौं । हामीले माया पाएका छौं । जनताका मोजा गन्हाउँछ, आङ गन्हाउँछ भनेर छुट्टै उच्चाशनमा बसेर हामीलाई अपमान गर्ने परम्परा हटेकोछ । बल्ल हामी नागरिक भएका छौं । नेताहरु राजशी स्वभाव हटाउँदै गणतन्त्रबादी भएका छन् ।
यो भाषणमा विष्णु पौडेलले नयाँगाउँ माध्यमिक विद्यालयका प्रअको भाषणको प्रतिउत्तरमा राम्रो विचार राखे । हामीमा केही पूर्व धारणाहरु हुन्छन् । ती धारणाहरु फेरिनु पर्छ । हामीले गुन मान्ने भन्छौ गुन मान्ने विषय मात्र हैन गुन तिर्ने विषय हो । यो भनाई नौलो लाग्यो र मन छोयो । विष्णुले भने यो सिटी क्याम्पस निर्माणमा नयाँगाउँ माविका अध्यक्ष पुरुषोत्तम बस्याल र प्रअ पुरुषोत्तम भट्टराईले लगाएको गुन मान्ने स्तरको हैन, त्यो तिर्ने स्तरको गुण हो भनेर नयाँगाउँ माविको उज्जवल भविश्यको कामना मात्र गरेनन्, भौतिक पूर्वाधारमा भरपुर योगदान दिने वचन दिए । उनले झुम्सा खानेपानी योजना, गोलपार्कदेखि तामनगरसम्मको चुरेफेदी सडक विस्तार, दानव करिडोर, बुटवलदेखि गोरुसिङ्गेसम्मको छ लेन सडक, सिंङनेचर बृजको विषयमा बडो गर्भका साथ विचार प्रस्तुत गरे । भोजप्रसाद श्रेष्ठबाट पनि तिनाउ वारिको विकासमा आफूले गरेको योगदानको विषयको चर्चा गरे ।
विष्णु पौडेलका विचारहरु मध्ये एउटा कुरा केहो भने विकास निमार्णमा जनताको निगरानी र निर्देशन हुनुपर्छ । जनताले विकासका विषयमा सकारात्मक रुपमा आलोचना गर्न र दबाब दिन सक्नु पर्छ । टेन्डरपछि कार्यान्वयन अवधिमा जनताले दबाब र धैर्यता दुवै देखाउनु पर्छ । समयमै काम होस् भन्ने दबाब र समयसम्म धैर्य हुन सक्नुपर्ने कुरा गरेका थिए । अर्बौंका योजना शुरु हुन्छन् । तिनीहरु निश्चित समयमा पूरा नहुन सक्छन् । त्यो समयमा धूलो, आयो चिप्लो भयो भनेर जनप्रतिनिधिहरुलाई दोष दिने भन्दा ठेकदारले के कति काम गरिरहेको छ या छैन भन्ने विषयमा स्थानीय जनप्रतिनिधिहरु पनि चनाखो हुनु र गुणस्तरीय संरचना बनाउन दबाब दिन पर्छ भने ।
विष्णु पौडेलले विकासमा सहकार्य गरौं विचारमा प्रतिस्पर्धा गरौं भन्दै आफू उमेदवार बन्नको दिनदेखि निर्वाचन परिणाम आउँदाको दिनसम्म पार्टीको वैधानिक उमेदवार भएको हुन्छु त्यसपछि म सबै जनताको साझा प्रतिनिधि हुँ भन्दै परम्परागत धारणाहरु मिल्क्याएर विकासमा सँगै लाग्न निवनयपूर्वक अनुरोध गरे । उनले विकासमा सहकार्य गर्ने संस्कृति पुरुषोत्तम बस्यालमा भएको गुणाको प्रशंसा गरे ।
यो सिटी क्याम्पसको भवन बनाउँदा विष्णु पौडेलको नेतृत्वमा सात करोड बजेट विनियोजन भएको थियो । भवन निर्माणमा डेन्टरमा ३१ प्रतिशत घटेर ५ करोड ६१ लाखमा निर्माण भएको हो । यसमा विष्णुु पौडेलको अगुवाई निरन्तर छ । उनले लुम्बिनी बौद्ध विश्वविद्यालय बनेदेखि आजसम्म निरन्तर अरबौं बजेटको विनियोजन तथा व्यवस्थापन गरेका छन् । त्यो बजेट कार्यान्वयनमा विश्व विश्वविद्यालयले भूमिका खेलेकोमा धन्यवाद दिएर उनले बजेट अभाव हुँदैन ।
अहिले माननीय छविलाल विश्वकर्मा, लिला गिरी र भोजप्रसाद, वासुदेव घिमिरे, भूमिश्वर ढकालहरु सरलताको बाटोमा हिंडिरहेका छन् । समाजमा रुपान्तर आउँदैछन् । समाज विकासको क्रममा जे पनि अतितिर जाने सम्भावना रहन्छ तर विस्तारै करेक्सन पनि हुदै जान्छ । यो भूल प्रयत्न सिद्धान्त हो । अब समाजवादमा जान समाजवादी संस्कृतिको अभ्यास हुन थालेको छ । त्यो बुटवलबाट हुँदैछ । यो खुसीको कुरा हो । सम्भ्रान्त नासिदैछ ।
अन्त्यमा आजको कार्यक्रम भव्य रुपमा सफल भयो । बौद्ध विश्वविद्यालयले बुटवलमा सिटी क्याम्पस खोलेर व्यवसायिक शिक्षासँग बुद्धिजमलाई जोडेर अघि बढ्ने जुन सुझ पलायो, उहाँहरुलाई धन्यवाद दिनु पर्छ । समाज परिवर्तनको खुट्किलोमा यो ठूलो निर्णय हो । पहिला राज्यको दायित्व नहुने, समुदायबाट चलाउनु पर्ने र बुद्धिजमबाहेक अरु पढाउन नहुने विषयले पारेको अप्ठ्यारोको कानुनी प्रावधान हटाएर आधुनिक युगमा पुग्न सकिने गरी प्रविधि र व्यवसायिक विषयकासाथ अगाडि बढ्नुले बौद्ध विश्वविद्यालयको गरिमा दिगदिगान्तमा बढ्ने छ । धर्मका असल पक्षहरुलाई नागरिकको चरित्र निर्माणमा लगाउने प्रचलनको विकास हुन थालेको छ । नेपालमा यसको थालनी बौद्ध विश्वविद्यालयले गरेको छ । असल नागरिक उत्पादन हुन थालेको पनि छ । यो ठूलो उपलब्धि हो । यसबाट हामी प्राविधिक क्रान्तिमा जान सक्छौं । मुलुकलाई रुपान्तरणमा लैजान सक्छौं । अन्य विश्व विद्यालयहरुले यसबाट सिक्नेछन् । हामी त्यहाँका सबै अध्यापकहरुको लगन र गुणस्तरीय शिक्षाको लागि खेलेको भूमिकालाई हार्दिक प्रशंसा गर्दछु । यसलाई हाम्रो विद्यालयको रुपमा ग्रहण गर्दै प्रवद्र्धको लागि सहकार्य गर्न तत्पर छु । धन्यवाद ।