पृष्ठभूमि
सनातन वैदिक संस्कृतिमा अनेकौँ देवीदेवताहरूको अस्तित्व छ । त्यसैले एउटै भगवान्मा मात्र सीमित रहने धर्महरूभन्दा सनातन वैदिक हिन्दु धर्म उदार र विशाल छ । एउटा देवता वा देवी मन नपर्नेले अर्को देवता वा देवी मान्न सक्छ, मन पराउन सक्छ । यस किसिमको धार्मिक स्वतन्त्रता सनातन वैदिक हिन्दु धर्ममा बाहेक अन्य धर्ममा भेट्न मुस्किल पर्छ ।
विभिन्न देवताहरूमध्येमा पनि गणेशको पूजा सबैभन्दा पहिला गर्ने गरिएको छ । जुनसुकै पूजा हुँदा दियो, कलश र गणेशको पूजा अनिवार्य गर्नुपर्ने प्रावधान सनातन वैदिक संस्कृतिमा पाइन्छ । हामीले गणेशजीकै पूजा पहिला किन गर्ने गरेका हौँला र सबै देवीदेवताहरूमध्ये गणेश नै अग्रस्थानमा किन रहेका होलान् ? भन्ने बारेमा ध्यान दिएका छैनौँ । तसर्थ हाम्रो ध्यान यस विषयतर्फ पनि आकृष्ट हुनु जरुरी छ ।
गणेशजीको उत्पत्ति कसरी भएको हो ?
गणेशजीको जन्म वा उत्पत्तिका सम्बन्धमा विभिन्न ग्रन्थमा विभिन्न मतमतान्तरहरू पाइन्छन् । वराहपुराण (१२।१२–१७) मा उल्लेख भएअनुसार शिव र पार्वतीले गणेशलाई आँखा नझिम्क्याईकन हेर्दा गणेश क्रुद्ध भएका र शिवले तिम्रो मुख हात्तीको जस्तो र पेट पनि ठूलो होस् भनेर सराप दिएका थिए । शिवपुराणको ज्ञानसंहिता (३२।१९, ६९, ३३।३९–४०) मा उल्लेख भएअनुसार पार्ववतीको मयलद्वारा उत्पन्न पुतलालाई द्वारपालले रोकेको हुँदा शिवजीले टाउको काटिदिएको र पार्वतीलाई प्रसन्न गर्न शिवजीले मन्त्रशक्तिद्वारा पुतलास्वरूपका गणेशलाई पुनर्जीवित गरेर सबै देवताका अधिष्ठाता बनाएका थिए ।
ब्रह्मवैवर्तपुराण (३।१।७) का अनुसार गणेशलाई देख्न शनिदेव आउँदा उनको दृष्टि परेर गणेशजीको शिर भिन्न भएको हो । वैदिक वाङ्मय (शतपथब्राह्मण ७।१।२।१।१–६) मा शिव र पार्वतीको वीर्य खसेर गणेशजीको उत्पन्न भएको कुरा उल्लेख गरिएको छ । ऋग्वेद (८।१४।१३) मा उल्लेख भएअनुसार इन्द्रले गणेशको शिर काटेका थिए र हात्तीको ल्याएर जोडिदिएका थिए । यसप्रकार वैदिक र पौराणिक वाङ्मयमा जेजस्तो उल्लेख भए तापनि हाम्रो समाजमा गणेशजी शिव र पार्वतीका औरस पुत्र हुन् भन्ने जनधारणा बढ्ता प्रबल रहेको देखिन्छ ।
गणेशजीका विभिन्न नामहरू किन राखिएका हुन् ?
गणेशसहस्रनामावलीमा गणेशका एक हजार नामहरूको चर्चा गरिएको छ तापनि गणेशजीलाई सुमुख, एकदन्त, कपिल, गजकर्ण, लम्बोदर, विकट, विघ्नाश, विनायक, धूम्रकेतु, गणाध्यक्ष, भालचन्द्र र गजानन गरी मुख्यतया १२ ओटा नामले पुकारिन्छ । पढाइको आरम्भ गर्दा, विवाहका बेलामा, गृह आदिमा प्रवेश गर्दा, यात्रा गर्ने समयमा, युद्धका बेलामा र कुनै सङ्कट आइपरेका अवस्थामा जसले यी १२ ओटै नाम पढ्छ वा सुन्छ त्यसलाई कुनै किसिमका विघ्नबाधाहरू पर्दैनन् भन्ने विश्वास गरिन्छ ।
उपर्युक्त १२ ओटा नामहरूमध्ये गणका अध्यक्ष वा प्रमुख नामकै पर्यायवाची नामका रूपमा गणेश नाम राखिएको हुनुपर्छ । गणहरूका ईश वा अध्यक्ष भएका कारण गणेश नाम रहन गएको हो । १८ ओटा पुराणहरूमध्ये गणेशपुराण पनि एउटा पुराण हो र पुराणकै नाम गणेश रहेकाले पनि अन्य नामभन्दा गणेश नामले उनलाई बढ्ता चिन्ने गरिएको हो । एकले माया र दन्तले मायिकको बोध गराएका कारण गणेशलाई‘एकदन्त’ भनिएको हो । आत्मस्वरूप मुख भएकाले गणेशलाई‘वक्रतुण्ड’ भनेर पुकारिएको हो । वामनपुराण (५४।७१–७२) मा उल्लेख भएअनुसार नायक अर्थात् पुरुषविना उत्पन्न भएकाले गणेशको नाम ‘विनायक’ रहन गएको हो । देवता, नर, असुर र नाग यी चारैलाई स्थापना गर्ने भएका कारण गणेशलाई‘चतुर्भुज’ नामले पनि चिन्ने गरिन्छ ।
गणेशको पहिला पूजा किन गरिन्छ ?
गणेशको पूजा धेरैजसो देशमा हुने गरेको पाइन्छ । “न ऋते त्वत्क्रियते किञ्चनारे” अर्थात् तिमीविना कुनै पनि कर्म प्रारम्भ हुँदैन भनेर ऋग्वेद (१०।११२।९) ले गणेशको सर्वप्रथम पूजा हुने कुरा उद्घोष गरिसकेको थियो । त्यसैगरी “त्वमर्चनीयः प्रथमं प्रयत्नात्” अर्थात् सम्पूर्ण कार्यमा सर्वप्रथम तिमी नै यत्नपूर्वक पूजा गर्न योग्य छौ भनेर शिवजीले गणेशपुराणमा गणेशलाई सर्वप्रथम नै पूजा गरिने आशीर्वाद दिएका थिए ।
पद्मपुराणअनुसार पृथ्वीको परिक्रमा गरेर जो पहिला आइपुग्छ त्यसकै पहिला पूजा हुनेछ भनेर शिवजीले भनेपछि दाजु कुमार वाहन गरुडमा चढेर पृथ्वीको परिक्रमा गर्न निस्किए तर भाइ गणेशले सम्पूर्ण पृथ्वी भन्नु नै आफ्ना आमाबुवा हुनुहुन्छ भन्ने ठानेर आफ्नै आमाबुवा शिवपार्वतीको सातपटक परिक्रमा गरेर शिवपार्वतीका सामु बसेका कारण शिवपार्वतीले गणेशकै पहिला पूजा हुने वरदान गणेशलाई दिएको हुँदा गणेशको पहिला पूजा गर्ने प्रचलन रहेको हो ।जुनसुकै कर्म निर्विघ्नतापूर्वक सम्पन्न हुन सकून् र बीचमा कुनै किसिमका बाधाव्यवधानहरू नआइदियून् भन्ने कामना गरेर गणेशजीको सर्वप्रथम पूजा गर्ने गरिएको हो ।
गणेशजीका प्रत्येक अङ्गको पूजा गर्नुको रहस्य के हो ?
गणेशजीका विभिन्न अङ्गहरूको पूजा गर्नुको पनि विभिन्न रहस्य छ । गणेशजीको शिर हात्तीको जस्तो छ । आफ्नो शिरलाई अन्य व्यक्तिका शिरको भन्दा बढ्ता मर्मस्थल सम्झेर निरर्थक अविवेकपूर्ण अनावश्यक सङ्घर्षमा प्रवृत्त हुन नपरोस् भन्ने चाहनाले गणेशका शिरको पूजा गरिन्छ ।
हात्तीले आफ्ना आँखाले सबै प्राणीलाई जस्तै मान्छेलाई पनि आफूभन्दा बढ्ता ठूलो देख्छ । हामीले आफूभन्दा अन्य मान्छे वा जुनसुकै प्राणीलाई आफूभन्दा ठूलो देख्न सकौँ र आफूलाई अरूभन्दा ठूलो ठान्ने भूल नगरौँ भन्ने कामनाले गणेशजीका आँखाको पूजा गर्ने गरिएको हो ।
कसैले “फलानाले नाक काट्यो” भन्ने बित्तिकै हामीले कसैले इज्जत गुमाएको भन्ने बुझ्छौँ ।
गणेशजीको नाक (सूँड) ठूलो भएजस्तै हामीले पनि आफ्नो नाक या इज्जत ठूलो राख्न सकौँ र कहिल्यै आफ्नो नाक गुमाउन नपरोस् भन्ने उद्देश्यले हामीले गणेशजीको नाकलाई पूजा गर्ने गरेका हौँ ।
हामी आँखामा भन्दा कानमा बढ्ताविश्वास गर्ने दुष्प्रयत्न गर्छौं र वर्तमानमा त यो हाम्रो मानवीय स्वभावजस्तै भइरहेको छ । हाम्रा कान साना छन् र हामीलाई कसैले नचाहिँदो कुरा कानमा पार्यो वा चुक्ली लगायो भने हाम्रा साना कान भरिइहाल्छन् । फलस्वरूप हामीले नचाहिँदा कुरा पनि पत्याइहाल्छौँ र चाहिँदा कुरामा हामीलाई कम विश्वास हुने रोग लाग्छ ।
विश्वस्तभन्दा अविश्वस्त कुरामा भर पर्न थालेपछि हाम्रा कतिपय हितैषी मित्रहरूलाई पनि हामीले शत्रुजस्तै ठान्न थाल्छौँ र हामी आपैmले जीवनका पाइलापाइलामा दुःख पाउँछौँ । हाम्रा कान आकारमा सानै भए पनि विचारमा हामीले आफ्ना कानलाई गणेशकै जस्तो विशाल भएको अनुभूति गर्न सकौँ र कसैका ससाना नचाहिँदा कुराहरूले हाम्रा कान नभरियून् भन्ने कामनाले हामीले गणेशजीका कानलाई पूजा गर्ने गरेका हौँ ।
हामीले सुनेका जेजति कुरा छन् तिनलाई हात्तीका नदेखिने वा खाने दाँतजस्तै भित्रै मनन गरिरहनुपर्छ, तिनलाई हात्तीका देखाउने दाँतजस्तै प्रकट गरेर विवादमा आउनु हुँदैन भन्ने उद्देश्यले हामीले हात्तीका दाँतको पूजा गर्ने गरेका हौँ ।
पुरुषार्थ चतुष्टय धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सकौँ भन्ने कामनाले हामीले गणेशका चार हातको पूजा गर्ने गरेका हौँ । सोचविचारका साथ सन्मार्गमा सदैव अग्रसर भइरहन सकौँ भन्ने शिक्षा प्राप्त गर्नेका लागि हामीले गणेशजीका पाउको पूजा गर्ने गरेका हौँ ।
हाम्रो मनुष्यजीवनमा आकारमा ठूलो पेट हुने मान्छेलाई लम्बोदर भनेर बोलाउँदा अपमान गरेको जस्तो ठहरिन्छ तर गणेशजीलाई लम्बोदर भनेर हामीले बारम्बार स्तुति गर्छौं । देख्दा हाम्रो पेट ठूलो भए पनि हाम्रो पाचन प्रणाली अत्यन्त सानो छ । हामीले देखेसुनेका सबै कुरा पचाउन सक्तैनौँ र यताउता पैmलाउँदै जान बढ्ता रुचाउँछौँ । गणेशजीलाई लम्बोदर भनेर पूजा गर्नुको उद्देश्य वा उनको ठूलो पेटको पूजा गर्नुको उद्देश्य हामीले वैचारिक रूपले आफ्नो पेट पनि गणेशजीकै जस्तो ठूलो बनाउन सकौँ र झिनामसिना कुराहरूलाई अफवाहका रूपमा पैmलाउँदै जाने दुष्प्रवृत्तिबाट आफूलाई बचाउन सकौँ भन्ने नै हो ।
वास्तवमा हामीमध्ये कसैले पनि गणेश भगवानलाई प्रत्यक्ष रूपमा देखेका छैनौँ र हाम्रा पूर्वजहरूले पनि देखेका थिएनन् । संस्कृत वाङ्मयमा गणेशजीको शारीरिक बनोट केकस्तो थियो ? भन्ने बारेमा जेजस्तो चर्चा भयो त्यसकै आधारमा कुनै कलाकारले गणेशजीको चित्र कोरिदिएको हो । गणेशजीको साकार चित्र वा मूर्तिमा पूजा गर्नु भनेको उनका सबै अङ्गहरूको प्रतीकात्मक उद्देश्यप्राप्तिका लागि पूजा गर्नु हो ।
हामीले गणेशजीको चित्र वा मूर्तिको पूजा त परम्परादेखि गर्दै आएका छौँ तर कुन कुन उद्देश्यको प्राप्तिका लागि गणेशजीको पूजा गर्दा रहेछौँ भन्ने कुरामा हामीले त्यति चासो दिने गरेका छैनौँ । तसर्थ उनका प्रत्येक अङ्गको पूजा गर्नुको उद्देश्य के रहेछ ? भन्ने कुराको ख्याल गरेर गणेशजीको पूजा गर्न थाल्यौँ भने निश्चय नै हामीलाई आफ्नै शिर, आफ्नै आँखा, आफ्नै नाक, आफ्नै कान, आफ्नै दाँत, आफ्नै हात र आफ्नै पेटबाट कुनै किसिमको विघ्नबाधा आइपर्ने छैन ।
गणेशजीलाई दूबो र लड्डू नै किन चढाइन्छ ?
गणेशजीलाई तीन वा पाँच पात भएको दूबो चढाउनाले गणेशजी प्रसन्न भएर कर्तालाई मनोवाञ्छित फल दिन्छन् भन्ने विश्वास रहेको छ । पौराणिक कथनअनुसार कुनै समयमा अनलासुर दैत्य र देवराज इन्द्रका बीचमा युद्ध भएको थियो । त्यस क्रममा दैत्यको पराक्रमबाट डराएर इन्द्र शिवजी हुँदै गणेशजीकहाँ पुग्छन् ।
अनलासुरलाई गणेशजीले निलिदिन्छन् र निलेका कारण गणेशजीका पेटमा जलन हुन्छ । त्यसलाई शान्त पार्न २१ ओटा दूबो एकत्रित गरी कश्यप ऋषिले गणेशलाई खुबाएका थिए र त्यसबाट गणेशजीका पेटको जलन शान्त भएको थियो । त्यसैको प्रतीक स्वरूप र दूबोझैं हाम्रो जीवनमा सफलता मौलाइरहन सकोस् भन्ने कामनाले गणेशजीलाई दूबो चढाउने गरिएको हो । सम्पूर्ण पृथ्वीको परिक्रमाभन्दा ठूलो ठानेर गणेशजीले मातापिताको परिक्रमा गरेर विजय हासिल गरेका उपलक्ष्यमा सर्वप्रथम पार्वतीले गणेशजीलाई प्रसादस्वरूप लड्डू दिएकी थिइन् ।
त्यसैको प्रतीकका रूपमा गणेशजीलाई लड्डू चढाउने गरिएको हो । गणपति अथर्वशीर्षमा उल्लेख भएअनुसार जसले गणेशजीलाई दूबो चढाएर पूजा गर्छ त्यसले कुबेरसमान सम्पन्नता प्राप्त गर्दछ भने लड्डू चढाएर गणेशजीको पूजा गर्ने व्यक्तिले मनोवाञ्छित फल प्राप्त गर्दछ ।
गणेशजीको वाहन मुसो नै किन ?
गणेशजीको वाहन मुसो हो भन्ने कुरा हामी सबैलाई थाहा त छ तर त्यति विशाल शरीर भएका गणेशलाई अत्यन्त सानो शरीर भएका मुसाले कसरी धान्न सक्छ ? भन्ने प्रश्न हाम्रा ससाना बालबालिकाले पनि हामीसँग राख्ने गर्दछन् । त्यसको चित्तबुभ्mदो उत्तर भने हामीसँग छैन । शुक्लयजुर्वेद (३।५७) ले “आखुस्ते पशुः” अर्थात् हे गणेश ! तिम्रो वाहन मुसो हो भनेर सर्वप्रथम गणेशको वाहनको व्यवस्था गरेको थियो । विनाप्रयोजन रातदिन पुस्तक, कपडा र सरसामानहरू काटेर धुजाधुजा बनाउनु मुसाको कर्म हो ।
यसो गर्दा न मुसो अघाउँछ न त यी सबै काम मुसाले कुनै उद्देश्यले नै गरेको हुन्छ । यसरी नै विना उद्देश्य यताउता भौँतारिइरहने र वास्तविक ज्ञानका लागि नभई केवल तर्कका लागि कुतर्कहरू मात्र गरेर समय बर्बाद गरिरहने मान्छेहरू पनि मुसाजस्तै हुन् । मात्रात्मक अन्तर होला तर हामी सबैमा त्यस किसिमको मूषकप्रवृत्ति भने सबैसँग छ ।
जसरी गणेशजीले मुसाको दुष्प्रवृत्तिलाई वाहन बनाएर दमन गर्छन् त्यसैगरी हामीले पनि आफूभित्र विद्यमान मुसाको जस्तो दुष्प्रवृत्तिलाई दबाएर वा क्रमशः निराकरण गरेर सफलतातर्फ उन्मुख हुन सकौँ भनेर मुसाको वाहनमा बसेका गणेशलाई पूजा गर्ने गरेका हौँ । यद्यपि मुसाले घरमा अत्यन्त विघ्नबाधाहरू उत्पन्न गरेर दुःख दिन्छ तथापि घरमा मुसाहरू रहनु सम्पन्नताको प्रतीक मानिने धारणा हाम्रो समाजमा अद्यावधि कायमै छ । घरायसी अन्न उत्पादनमा क्रमशः विमुख हुँदै गएका कारण वर्तमान पुस्ता भने मुसालाई घरमा सम्पन्नताको प्रतीक ठान्न रुचाउँदैन ।
गणेशजीको सेवा ऋद्धि र सिद्धिद्वारा नै किन ?
वैदिक सनातन पद्धतिअनुसार जुनसुकै पूजा गर्ने क्रममा “सिद्धिबुद्धिसहिताय श्रीमन्गणाधिपतये नमः” अर्थात् सिद्धि र बुद्धिले सहित भएका गणेशलाई नमस्कार छ भनेको सुनेका छौँ । त्यसैगरी हामीले धेरैजसो पसलहरूमा शुभ र लाभ अनि ऋद्धि र सिद्धि लेखेको पनि देखेका छौँ । व्यापारमा राम्रो होस् र बढ्ता आम्दानी प्राप्त गर्न सकियोस् भन्ने कामनाले शुभ र लाभ लेखिएको होला भनेर हामीले सहजै अनुमान गर्न सक्छौँ । त्यसैगरीसबै किसिमका बाधाव्यवधानहरूलाई पार गरेर अघि बढ्न सक्ने मान्छेले नै सम्पूर्ण ऐश्वर्य र सफलता प्राप्त गर्न सक्छ भन्ने महत्त्वपूर्ण प्रेरणा दिनका लागि गणेशजीका दायाँ र बायाँ ऋद्धि र सिद्धि सेविकाका रूपमा रहेका होलान् भन्ने अनुमान गर्नु पनि अस्वाभाविक होइन ।
वास्तवमा गणेशपुराणमा उल्लेख भएअनुसार सिद्धि र बुद्धि दुवै ब्रह्माजीका छोरी र गणेशजीका पत्नी हुन् । यस दृष्टिले गणेशजी ब्रह्माजीका ज्वाइँ हुन् । सिद्धिका छोराको नाम सुख हो भने बुद्धिका छोराको नाम सन्तोष हो । यसरी गणेशजीलाई सपत्नीक पूजा गर्दा निर्विघ्नापूर्वक सिद्धि र बुद्धि मात्र होइन सुख र सन्तोष पनि प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।
त्यसैगरी ब्रह्मवैवर्त पुराणमा उल्लेख भएअनुसार विश्वरूपाका छोरीहरूको नाम ऋद्धि र सिद्धि हो भने यी दुवै गणेशजीका पत्नी हुन् । ऋद्धिका छोराको नाम शुभ हो भने सिद्धिका छोराको नाम लाभ हो । यसरी गणेशजीलाई सपत्नीक पूजा गर्ने व्यक्तिले ऋद्धि र सिद्धि मात्र होइन शुभ र लाभ पनि प्राप्त गर्दछ । त्यसकै प्रतीकका रूपमा पसल वा घरका ढोकामा ऋद्धि र सिद्धि अनि शुभ र लाभ लेख्ने गरिएको हो ।
गणेशप्रवृत्तिको दुरुपयोग किन ?
तीव्र गतिमा लेख्न सक्ने उपमा दिन ‘गणेश’ शब्दको प्रयोग वर्तमानमा भएको देखिँदैन तर कुनै कामको सुरुआत गर्ने सन्दर्भमा चाहिँ‘श्रीगणेश’ शब्दको प्रयोग भएको पाइन्छ । केही नजान्ने भनेर कसैलाई इङ्गित गर्न ‘गोबरगणेश’ शब्दको र चाकडी एवम् चाप्लुसी प्रवृत्तिलाई बुझाउन ‘गणेशप्रवृत्ति’ शब्दको प्रयोग प्रयोग गर्ने गरिन्छ । गणेशजीले आमाबुवालाई सबैभन्दा ठूलो ठानेर उनीहरूकै परिक्रमा गरी विश्वविजेता बनेका हुन् तर विश्वभ्रमणको प्रयास गरेर पनि कुमार पुरस्कृत हुन सकेनन् भनी गणेशलाई चाकडी र चाप्लुसी प्रवृत्तिको ठान्ने दुष्प्रयास भएको हो ।
निश्चित योजना नबनाईकन वा कुनै निश्चित उद्देश्य निर्धारण नगरीकन गरिएका यावत् प्रयासहरू कुमारका जस्तै निरर्थक हुन्छन्, पराजित हुन्छन् तर महत्त्वबोध गरेर वा चिन्तन गरेर अग्रसर हुने हो भने थोरै परिश्रममा पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा गणेशको प्रवृत्तिले प्रमाणित गर्दछ ।
विश्वभ्रमण नै गरे पनि यदि आफूभित्रै र आफ्नै घरका बारेमा बेखबर भइन्छ भने त्यस्तो प्रयास निरर्थक छ भन्ने प्रमाणित गरेको गणेश प्रवृत्ति मूषकप्रवृत्तिमा रमाउनेहरूका लागि मन नपर्नु र गणेशप्रवृत्तिको दुरुपयोग गर्नु अस्वाभाविक होइन तर गणेशप्रवृत्ति भनेर सेवाभाव, आमाबुवाको सम्मान र आत्मचिन्तनको प्रवृत्तिलाई तिरस्कार गर्नेहरूले वास्तवमा आफ्नै तिरस्कार गरिरहेको बुझ्न नसक्नु आश्चर्यको कुरा हो । मूषकप्रवृत्तिमा रमाउनेहरूले गणेशप्रवृत्तिको विरोध गरिरहे पनि गणेशले मुसालाई नियन्त्रण गरे जस्तै गणेशप्रवृत्तिअँगाल्नेहरूले नै मूषकप्रवृत्तिलाई नियन्त्रण गर्न सक्छन् भन्ने कुरामा कुनै शङ्का छैन ।
उपसंहार
लौकिक र दैवी गरी विघ्नबाधाहरू मुख्यतः दुई किसिमका हुन्छन् । दैवी विघ्नबाट बच्नका लागि भगवान्को पूजाअर्चना गरिन्छ भने लौकिक विघ्नहरूबाट बच्न सर्वथा सचेत रहनुपर्छ । अभिमान, लोभ, क्रोध आदिका कारण हाम्रा शत्रु बढ्छन् र शत्रुहरू बढ्नु भनेको नै लौकिक विघ्नहरू आइपर्नुको मूल कारण हो । गणेशजीको पूजा गर्दा यी दुवै किसिमका विघ्नहरूबाट बच्न सकिन्छ ।
गणेशजी मङ्गलदाता र विघ्नहर्ता भएका कारण नित्यकर्मका रूपमा प्रत्येक दिन पूजा गर्ने गरिए पनि मङ्गलबारका दिन गणेशजीको विशेष पूजा गरिन्छ । यदि मङ्खलबारका दिन चौथी तिथि परेको रहेछ भने त्यस दिनलाई मङ्गलचौथी भनिन्छ र मङ्गलचौथीमा गणेशजीको व्रत बसी विशेष पूजा गर्ने गरिन्छ । गणेशजीको पूजा गर्दा तुलसी चढाउनु हुँदैन भने गणेशलाई सबैभन्दा बढ्ता दूबो मन पर्छ । गणेशको पूजा र उनको थप विशेष महिमा बुझ्नका लागि गणेशपुराणको अध्ययन एवम् अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
(लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् र उनको ‘संस्कृत चिन्तन’ स्तम्भ प्रत्येक सोमबार प्रकाशित हुन्छ ।)